७१ यात्रु बोकेको एक रसियन विमान दुर्घटनामा परेको छ। मस्कोको दमदजियदवा विमानस्थलबाट उडान भरेको ५ मिनेटमै यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
विमानमा ६ जना चालक दलका सदस्य र ६५ जना यात्रु थिए।
आन्तरिक उडानको क्रममा रहेको एन्टोनोभ १४८ सारातोफ एयरलाइन्सको उक्त विमान उडान भरेको केही मिनेटमै हराएको थियो। रूसी अधिकारीहरुका अनुसार विमान मस्कोबाट ८० किलोमिटर दक्षिण पूर्वमा रहेको अरगुनोवो नजिकै दुर्घटनाग्रस्त भएको हो।
रुसी सञ्चार माध्यमहरुका अनुसार विमान सवार सबैको मृत्यु भएको छ।
विमान कजाकिस्तनको सीमा नजिकै रहेको उराल्सको ओरस्क गइरहेको थियो।
स्थानीय समय अनुसार दिउँसो विमान दुर्घटनामा परेको हो। उडान भरेको पाँच मिनेटपछि विमान एक हजार मिटर प्रतिमिनेटको गतिले जमिनतर्फ आइरहेको हवाई सेवाका बारेमा ट्रयाक गर्ने वेबसाइट फ्लाइटराइडर २४ले जनाएको छ।
हिउँले ढाकिएको मैदानमा विमान दुर्घटनाग्रस्त भएको हो। विमानका अवशेषहरु हिउँले ढाकिएको अवस्थामा फेला परेको हो।
रुसी समाचार संस्था तासका अनुसार विमानका अवशेष नजिकै यात्रुहरुको शब छरिएको अवस्थामा भेटिएको छ।
यसैबीच रूसी राष्ट्रपतिले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै दुर्घटनाको छानविन गर्न आदेश दिएका छन्।
विमानको सञ्चालक सारातोफ एयरलायन्सलाई सुरक्षासम्बन्धी प्रावधान उल्लंघन गरेको भन्दै झण्डै तीन वर्षअगाडि यो विमानलाई प्रतिबन्ध लगाइएको थियो।
त्यति बेला उक्त एयरलायन्सका एक जना नजिकका नातेदारलाई विमानको ककपिटमा पाइएपछि त्यस्तो कारबाही गरिएको थियो।
पछि उक्त प्रतिबन्धविरुद्ध अपिल गर्दै उसले केही नीतिमा सुधार गरेपछि सन् २०१६ बाट अन्तर्राष्ट्रिय चार्टर उडान गर्ने अनुमति पाएको थियो।