गाँजाको वैधानिक प्रयोग खोल्ने लहर अब अमेरिकी तथा युरोपेली मुलुकमा मात्र सीमित रहेन। भारतमा पनि कानुनी प्रतिबन्ध फुक्का गर्न आवाज उठेको छ।
आवाज उठाउनेमा सबभन्दा अगाडि छन्, योगगुरू रामदेव।
रामदेवद्वारा सञ्चालित पतञ्जली आयुर्वेदले गाँजाका औषधिलाई कानुनी मान्यता दिन ‘लबिङ’ सुरु गरेको छ। कम्पनीका कार्यकारी बालकृष्णले हरिद्वार अनुसन्धान केन्द्रमा दुई सय जना वैज्ञानिकबाट गाँजा लगायत जुडिबुटी अनुसन्धान भइरहेको बताएका छन्।
यो लबिङमा भारतीय केन्द्रीय मन्त्रीको पनि साथ छ। महिला तथा बाल विकास मन्त्री मेनका गान्धीले औषधि प्रयोगमा गाँजा खुला गर्नु लाभदायक हुने बताएकी छन्।
पतञ्जलीका उत्पादन नेपालमा लोकप्रिय छन्। उसले गाँजाका औषधि उत्पादन गर्न थाले ढिलोचाँडो नेपाल भित्रिने नै छ। नेपालमा अझै गाँजाको वैधानिक प्रयोग खुला छैन। चाहेर पनि रोक्न भने सकिँदैन। यसले अवैध व्यापार फस्टाउने छ। यहाँको परम्परागत आयुर्वेद ज्ञान मासिन सक्छ।
‘हामी आफैंले उत्पादन गरे पनि प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ,’ राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका बोर्ड सदस्य डा. शंकर गौतमले सेतोपाटीसँग भने, ‘उसका औषधि धमाधम बिक्ने, हाम्रो ज्ञान कानुनी बन्देजमै अल्झिरहने अवस्था आउन सक्छ।’
नेपालमा प्राचीन कालदेखि गाँजाको आयुर्वेद ओखती प्रयोग हुँदै आएको थियो। सिंहदरबार वैद्यखानादेखि पुस्तैनी वैद्यहरूले समेत ती औषधि चलाउँथे। सन् १९७० दशकमा अमेरिकी दबाबले गाँजा प्रतिबन्ध भयो। औषधि उत्पादन हुन छाड्यो। अनुसन्धान बन्द भयो।
यसबीच वैज्ञानिक अनुसन्धानले नै गाँजाको गुण पुष्टि गरेपछि संसारभरि खुला गर्ने होड छ। भारत यही होडमा मिसिएको हो।
पतञ्जलीले नेपाली बजारमा बलियो पकड बनाएकाले गाँजाका औषधि भित्रिन थाले नेपाली उत्पादन ओझेल पर्ने डा. गौतम बताउँछन्।
‘गाँजा भनेको पूर्वीय सभ्यतामा परापूर्वकालदेखि औषधिका रूपमा प्रयोग हुँदै आएको जडिबुटी हो। हामी प्रतिबन्धमै बसिरहने र भारत औद्योगिक उत्पादनमा जाने हो भने हामीलाई परम्परागत ज्ञान जोगाउन गाह्रो पर्छ,’ उनले भने, ‘भारत अगाडि बढेपछि बौद्धिक ज्ञान पनि उसकै नाममा रहनसक्छ।’
अमेरिका, भारत लगायत देशले गाँजाको औषधीय गुण बुझेर अनुसन्धान सुरु गर्दा नेपाल चुप लागेर बस्न नहुने डा. गौतमको भनाइ छ।
उनका अनुसार गाँजाबाट के–के फाइदा हुन सक्छन् भन्नेबारे विस्तृत अध्ययन भएको छैन। कुन–कुन रोगमा यसको औषधि प्रयोग गर्न सकिन्छ भन्ने पनि राम्ररी थाहा छैन। सरकारले अनुमति दिए वैद्यखानासँग सहकार्य गरेर वैज्ञानिक अनुसन्धान गर्न सकिने उनले बताए।
‘अन्तर्राष्ट्रिय स्तरमा यही रफ्तारले अनुसन्धान हुँदै गए हाम्रो परम्परागत ज्ञान किताबमा सीमित हुनेछ,’ उनले भने, ‘त्यसअघि नै हामीले यसको पेटेन्ट सुरक्षित राख्न पहल गर्नुपर्छ। यसका लागि बृहत अनुसन्धानको खाँचो छ।’
यो पनि पढ्नुहोस्
वैद्यखाना प्रमुख वंशदीप खरेल भने पतञ्जलीको प्रवेशलाई अवसरका रूपमा लिन्छन्।
आयुर्वेद अनुसन्धानकर्ता तथा सम्बन्धित निकायले लामो समय प्रयास गर्दा पनि गाँजा खुलेको छैन। भारतको एक अग्रणी आयुर्वेद कम्पनीले हात हालेपछि सरकारमाथि ‘सकारात्मक दबाब बढ्ने’ खरेलले बताए।
‘पतञ्जलीले गाँजाबाट आयुर्वेद औषधि उत्पादन गर्न थालेपछि हाम्रो सरकारले बल्ल यसको महत्व अनुभूति गर्नेछ,’ उनले भने, ‘अब खुला नगरे पछि परिन्छ भनेर सरकारमाथि सकारात्मक दबाब बढ्नेछ।’
नेपालले कानुनी मान्यता दिनुअघि नै पतञ्जलीका उत्पादन यहाँ आउन थाले स्थानीय आयुर्वेदिक कम्पनीको बजार गुम्छ कि गुम्दैन?
हाम्रो यो प्रश्नमा खरेलले भने, ‘पतञ्जलीले सुरु गर्नेबित्तिकै हाम्रो बजार गुम्छ भन्ने होइन, बरु त्यही प्रभावले हामीकहाँ खुला हुनसक्छ। जुन दिन सरकारले हामीलाई अनुमति दिन्छ, हामीलाई तत्काल अनुसन्धानको दरकार छैन। हामी आफूसँग भएको ज्ञान सोझै कार्यान्वयनमा लैजान सक्छौं।’
‘पतञ्जलीले अनुसन्धान मात्र गर्ने भनेको हो। हामीलाई त अहिल्यै यसको विधि थाहा छ,’ उनले भने, ‘नीतिगत परिवर्तन हुनेबित्तिकै हामी रातारात उत्पादनमा जान सक्छौं।’
आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले पनि गाँजाबाट औषधि बनाउने परम्परागत अनुभव र ज्ञानको कमी नभएको जनाएको छ। सरकारले अनुमति दिए थप परिस्कृत हुन सकिने केन्द्रका अध्यक्ष ऋषिराम कोइराला बताउँछन्।
अन्तर्राष्ट्रिय अध्ययनमा गाँजाका नयाँ–नयाँ औषधि प्रयोगमा आएका छन्। यसको खेती, भण्डारण र उत्पादनका आधारमा औषधीय गुण अलग हुन सक्छ। सरकारले स्पष्ट नीति लिएर जिम्मा दिए अनुसन्धान गर्न सकिने केन्द्रका अधिकारी बताउँछन्।
कोइरालाका अनुसार झाडापखाला, श्वासप्रश्वास समस्या, अनिद्रा, शारीरिक पीडा, मानसिक तनाव लगायतमा गाँजाको औषधि ‘अचुक’ मानिन्छ। शरीर सुन्निने र क्यान्सरको दुखाइ कम गर्न राम्रो काम गर्छ। बिरामी लठ्याउन वा पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा सयौं वर्षदेखि गाँजा प्रयोग हुन्थ्यो।
हालै सार्वजनिक एक वैज्ञानिक रिपोर्टले दुखाई कम गर्ने अन्य औषधिका तुलनामा गाँजालाई ‘गुणस्तरीय’ देखाएको छ। अमेरिकी राज्यहरूमा करिब ११ वर्ष लगाएर गरिएको उक्त अध्ययनमा गाँजा सेवन र पीडा कम गर्ने अन्य औषधि सेवनको प्रभाव तुलना गरिएको थियो।
‘दुखाइ कम गर्ने अन्य औषधि अत्यधिक सेवन गर्दा बिरामीको मृत्यु सम्भावना ४० प्रतिशत बढी पाइयो,’ न्यूयोर्क टाइम्सले अध्ययन प्रतिवेदन उद्धृत गर्दै लेखेको छ, ‘यसको सट्टा गाँजा प्रयोग गर्न थालेपछि मृत्यु दर २५ प्रतिशतमा झरेको छ।’
अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालयका वैज्ञानिकले गरेको शोधमा गाँजा सेवन गर्नेको यौन क्षमता नगर्नेको तुलनामा बढी पाइएको छ। शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ।
यति मात्र होइन, गाँजा खुला भएसँगै सामाजिक–आर्थिक क्षेत्रमा परेका सकारात्मक प्रभाव पनि सार्वजनिक भइरहेका छन्।
गाँजा खुलेपछि अमेरिकाको कोलोराडोमा रक्सी बिक्री घटेको दी इन्डिपेन्डेन्टले जनाएको छ। कोलोराडो गाँजा खुला गर्ने पहिलो अमेरिकी राज्य हो। पहिलो तीन वर्षमै त्यहाँ गाँजाबाट हुने आम्दानी रक्सीको तुलनामा बढी पाइएको छ। यसै वर्ष १ करोड १० लाख ३० हजार डलरका गाँजा बिक्री भएको छ। रक्सी बिक्री भने १ करोड ५० हजार डलर बराबर छ। रक्सीभन्दा गाँजा बढी बिकेको यो पहिलो घटना हो।
गाँजाभन्दा रक्सी स्वास्थ्यलाई हानिकारक भएको वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको छ। विश्लेषकहरू रक्सी सेवनपछि मान्छे आक्रामक हुने बताउँछन्, जुन गाँजाले हुँदैन। रक्सी र गाँजा सेवनपछि सवारी चलाउँदाको दुर्घटना दर पनि तुलना गरिएको छ। गाँजा सेवनपछिको दुर्घटना दर नगन्य रहेको अध्ययनको निष्कर्ष छ। यही निष्कर्षका आधारमा रक्सीभन्दा गाँजा बिक्री बढ्नुलाई अमेरिकी सञ्चार माध्यमले सकारात्मक रूपमा लिएका छन्।
अमेरिकाकै क्यालिफोर्निया राज्यमा गाँजाको वैधानिक प्रयोग खुलेपछि अपराध कम भएको रिपोर्ट सार्वजनिक भएको छ। क्यालिफोर्नियासहित मेक्सिकोका सीमावर्ति सहरमा आपराधिक घटना १३ प्रतिशत घटेको बेलायती पत्रिका ‘दी गार्डियन’ ले जनाएको छ।
सान फ्रान्सिस्कोले ४० वर्ष अवधिमा गाँजा सेवन वा बिक्री आरोपमा जेल जीवन बिताइरहेका सबैलाई माफी दिने तयारी गरेको छ। न्यूयोर्क टाइम्सका अनुसार गाँजा प्रतिबन्धित हुँदा थोरै सेवन गर्न वा बोकेर हिँड्न पनि गैरकानुनी थियो। यही आरोपमा सयौं व्यक्ति जेलमा थिए। अर्को अमेरिकी राज्य सानडियागो पनि त्यस्ता बन्दीलाई माफी दिने तयारीमा छ।
गाँजाको उपयोगिताबारे सकारात्मक धारणा बढ्दै गएका बेला नेपालमा प्रतिबन्ध हटाउने सुरसार छैन। गाँजाको औषधि बनाउने सम्पूर्ण ज्ञान र विधि सुरक्षित रहेकाले ढिलो भने नभएको सिंहदबार वैद्यखानाका खरेल बताउँछन्।
‘अरू देशले केही नयाँ कुरा पत्ता लगाए पनि हामीलाई आफ्नो ज्ञान तुरुन्तै अद्यावधिक गर्न समस्या छैन। पतञ्जलीका हकमा यही लागू हुन्छ। उसले अनुसन्धान गरेर उत्पादन गर्न थाले पनि राष्ट्रिय नीति संशोधन हुनेबित्तिकै हामी गाँजाबाट औषधि बनाउन सक्छौं,’ उनले भने।
दोस्रो विश्वयुद्ध समयदेखि नै नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित भएको मानिन्छ। ‘हिप्पी’ युगको सुरुआतसँगै काठमाडौंमा गाँजा खान ‘गोरा साधु’ हरूको घुइँचो लाग्न थालेको थियो।
नेपालमा गाँजा फस्टाएपछि अमेरिका लगायत राष्ट्रसंघीय दबाबमा सरकारले सन् १९६१ मा लागुऔषध ऐन जारी गरी गाँजा प्रतिबन्ध गरेको हो।