नेपालले रसुवागढी, केरुङ हुदैँ चीन जानका लागि नेपालीहरुलाई वान वे पास दिन चीनसँग आग्रह गरेको छ।
चीनको जिलोङ काउन्टीमा भएको सीमा सुरक्षा बैठकमा नेपाली अधिकारीहरुले वान वे पास दिन चीनसँग आग्रह गरेको हो । चीनका अधिकारीले भने नेपालीलाई वान वे पास दिन आफुहरु सकरात्मक रहेको जनाएको हो ।
वान वे पासका लागि दुवै देशका अधिकारीले केन्द्रीय स्तरमा पहल गर्ने सहमति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए।
त्यस्तै नेपाल र चीनका स्थानीय अधिकारी बीच १ वर्ष अघि सम्झौता भई स्थापना भएको ज्वाइण्ट अपरेसनेसेन्टरलाइ उपयोग गर्ने सम्वन्धमा मौखिक सहमति भएको उनले बताए। सीमा नाकाको सुरक्षा व्यवस्था तथा आवत जावतलाई सुदृढ तथा व्यवस्थित गर्न आवश्यक उपकरण तथा सामाग्रीहरु सहयोग गर्न चीनीया पक्ष इच्छुक रहेको न्यौपानेले जानकारी दिए।
सीमा नाकाबाट हुन सक्ने गैर कानूनी क्रियाकलापहरु नियन्त्रयण गर्न नेपाली तथा चीनीया सुरक्षाकर्मीहरुबाट गस्ती निगरानी बढाउने, कडाईका साथ चेकजाच गर्ने सहमति पनि भएको उनले बताए।
दुवै देशले एक अर्को राष्ट्र विरुद्ध आ–आफ्नो भुभागमा कुनै पनि गतिविधी हुन नदिने प्रतिबद्धता जनाउदै त्यस्ता गतिविधि हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाउदै समयमै सुचना आदान प्रदान गर्ने सहमति पनि दुइ देशका अधिकारीहरुबीच भएको छ।
दुवै देशका स्थानीय प्रशासन, भन्सार अध्यागमन तथा सुरक्षा निकाय बीच समय समयमा बैठक बसेर दुवै पक्षको समन्वयलाई थप प्रभावकारी बनाउने सहमति बैठकले गरेको छ।