सधैँझैं बिहीबार बिहान पनि सूर्य उदायो तर त्यसको प्रकाशले म्याग्दीका धनबहादुर र उनकी श्रीमती लिलमती रोकाको अनुहारमा छाएको अध्याँरो हटाउन सकेन।
केहीबेरमा एउटा जीप आएर घर नजिकैको सडकमा रोकियो। जीपभित्र थिए रोकाका साइँला छोरा, थमबहादुर। उनी जीपबाट ओर्लिए र छतमा चढे। अरू गाउँलेले उनलाई सघाए।
छतमा राखेको बाकसमा उनका कान्छा भाइ धर्मलालको शव थियो।
धर्मलालको शव भएको बाकस आँगनमा राख्न नपाउँदै बुढ्यौलीले मुजा परिसकेको धनबहादुर र लिलमतीको अनुहारमा आँशुको भेल बग्न थाल्यो।
आँगनभरि जम्मा भएका बेली गाउँका कसैका आँखा पनि ओभाना रहेनन्।
प्यारालाइसिसले गाँजेका धनबहादुरले छोराको शव भएको बाकसमा मुड्की बजार्दै भगवानले पनि पक्षपात गरेका भन्दै मुर्छित नहोउन्जेलसम्म बिलौना गरे।
लिलमती माथिल्लो तलामा टाउको र छाति पिटीपिटी बिलाप गर्दै थिइन्। केहीबेरमा उनी पनि मुर्छा परिन्।
रोका दम्पत्तिलाई आइलागेको यो तेस्रो विपत्ति हो। वैदेशिक रोजगारीले उनीहरूका जेठा र माइला छोरालाई यसअघि नै निलिसकेको थियो।
चैत ११ गते सबैको घरमाझैं रोकाको घरमा पनि चैतेदशैंको रमझम थियो।
थमबहादुर केही दिनअघि मलेसियाबाट घर फिरेका थिए। माहौल रमाइलो थियो। यत्तिकैमा थमबहादुरको मोबाइल बज्यो। मलेसियाबाट ज्वाइँले फोन गरेका रहेछन्।
‘एकदम नराम्रो खबर छ जेठान, पुष्टि भइसकेको छैन,’ ज्वाइँको वाक्यले थमबहादुरको मन चसक्क भयो।
त्यसपछि लगातार उनको मोबाइल बज्न थाल्यो। केहीबेरमै ज्वाइँले आँत्तिएको स्वरमा थमबहादुरका भाइ धर्मलालको सुतेको अवस्थामै मृत्यु भएको बताए।
वृद्ध आमाबुबाको रेखदेख गर्न भाइलाई मलेसियामा छोडेर गाउँ फर्किएका थमबहादुरले केहीदिनमै उनको मृत्युको खबर सुन्नु पर्यो।
शवलाई काठमाडांै पठाउने तयारी भएको भन्ने थाहापछि थमबहादुर काठमाडौं हिँडें।
धनबहादुर र लिलमतीका ४ छोरामध्ये जेठा तमबहादुर र माइला भक्तबहादुरपछि कान्छा धर्मलाल रोकाको मृत्यु विदेशमा नै भयो।
सबैभन्दा पहिला वैदेशिक रोजगारीका लागि माइला भक्तबहादुर कतार गए। त्यतिबेला उनी २१ वर्षका थिए। कतार गएको दुई वर्ष पनि नपुग्दै उनको मृत्युको खबर आयो।
उनको शव कार्गोमार्फत् त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा झारियो। त्यतिबेला छोराको शव बुझ्न धनबहादुर आफैं काठमाडौं गए। उनको काजक्रिया पनि काठमाडौंमै गरियो।
घरको आर्थिक अवस्था कमजोर भएकाले भाइको मृत्युलगत्तै जेठा तमबहादुर पनि कमाउने सपना बुनेर मलेसिया उडे।
मलेसियामा उनी एउटा मोटर कारखानामा काम गर्थे। घर छोडेको सात महिना पनि नहुँदै उनले संसार छोडेको खबर आयो।
दश वर्षअघि तमबहादुरलाई पनि यसैगरी कम्पनीले बाकसमा घर पठाइदियो। कम्पनीले लास पठायो तर आजसम्म पनि कुनै राहत र सहयोग नपाएको थमबहादर बताए।
बिहीबार कान्छा भाइको शवलाई बाकसमा हालेर ल्याएका थमबहादुरले वृद्ध र रोगी बुबाआमाको चित्कारले आफ्नो मुटु छियाछिया भएको बताए।
यो पनि पढ्नुस्
‘परिवारको ठूलो सपना थियो, निष्ठुरी दैवले चकनाचुर पारिदियो’ रोकाले सेतोपाटीसँग भने, ‘यस्तो अरू कसैले पनि भोग्न नपरोस्।’
थमबहादुर आफूलाई सम्हाल्दै बुबाआमालाई पनि सम्हालिरहेका थिए।
अन्त्येष्टीको लागि शवलाई घाट लैजान लाग्दा रोकाको घरमा आँशुको मूल फुटेजस्तो भयो।
मलामीले धर्मलालको शव काँधमा राखेर घाटतिर हिँडे।
लिलमती, उनकी जेठी बुहारी खेमकुमारी, माहिली दलकुमारी र उनीहरूका तीन छोराले मलामीलाई परसम्म पुग्दा पनि हेरिरहे।
अविवाहित धर्मलाल वृद्ध बुबाआमासँगै बस्थे। आउने दसैंमा विहे गर्ने उनको योजना थियो।
गत शनिबार भाइसँग फोनमा २ घन्टा कुराकानी भएको कान्छी दिदी शशिकला घर्ती मगरले बताइन्।
पाँच दिनअघि ‘दिदी म दशैंमा घर आउँछु अनि विवाह गर्ने हो’ भनेको भाइको शव बाकसभित्र बन्द अवस्थामा आयो,’ शशिकलाले आँशु पुछ्दै भनिन् ‘दैव पनि हाम्रो लागि कति कठोर भैदियो।’
त्यो दिन धर्मलालले परिवारका अन्य सदस्यहरूसँग पनि आफू दशैंमा घर आउने भनेर लामो कुराकानी गरेका थिए। जेठी दिदी पेविसरा पुनसँग पनि डेढ घन्टा कुराकानी भएको बताइन्।
तीनवटा छोरालाई विदेशमा गुमाएका धनबहादुर रोका आफ्नो पीडा लुकाएर श्रीमतीलाई सम्हाल्न सक्ने अवस्था छैन्। धनबहादुरलाई मासिक २ हजार रुपैयाँको औषधी खानुपर्छ भने लिलमतीलाई पनि औषधि नखाई हुँदैन।
बिहीबार धर्मलालको अन्त्येष्टि गरेको म्याग्दीको बेली गाउँ अहिले अर्को लास कुरिरहेको छ। गाउँका बुद्धिबहादुर परियारको पनि केही दिनअघि मलेसियामा मृत्यु भएको खबर आएको छ।
अस्पतालमा आवश्यक कानुनी प्रक्रिया सकेर परियारको शव ल्याउन साता लाग्ने बताइएको छ।
कमाउन विदेश गएको छोरो नरहेको खबरले बुद्धिबहादुरको परिवारमा पनि दिनरात पीडाको बादल मडारिएको छ।