काठमाडौंलगायत देशका विभिन्न ठाउँका निजी विद्यालयले मनपरी शुल्क लिने गरेकोमा विद्यार्थी संघसंगठनले विरोध गर्दै मनपर्दी शुल्कबृद्धि रोक्न माग गरेका छन्।
देशका ७५३ वटा स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै विद्यार्थी संघसंगठनले संविधानअनुसार आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क हुने भए पनि निजी विद्यालयले लाखौं शुल्क असुलेको भन्दै विरोध गरेका हुन्।
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई मंगलबार भेटेर विद्यार्थीहरुले कक्षा १ मा भर्ना हुँदा लाखौं तिर्नुपर्ने अवस्था रहेको भन्दै नियमन गर्न आग्रह गरे। जवाफमा मेयर शाक्यले चर्को शुल्क लिने निजी विद्यालयलाई अनुगमन गरी दोषी भेटिएमा कारबाही गरिने प्रतिवद्धता जनाएका छन्।
अनेरास्ववियु अध्यक्ष नविना लामा, नेविसंघ सभापति नैनसिंह महर, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङले हस्ताक्षर गरेको ज्ञापन पत्र पनि मेयर शाक्यलाई बुझाइएको छ। अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले मनपर्दी शुल्क लिएका निजी विद्यालयलाई कानूनी दायरामा ल्याउनुपर्ने बताए।