भारतीय 'धर्मगुरु' आशाराम बलात्कारमा दोषी ठहर भएका छन्। बुधबार जोधपुरको एउटा अदालतले आशारामसहित पाँच जना बलात्कारमा दोषी भएको फैसला गरेको हो।
आशाराम पाँच वर्षअघि बालिकालाई बलात्कार गरेको अभियोग लागेको थियो।
उत्तरप्रदेशकी एक किशोरीले आशारामले आफूलाई आश्रममा बलात्कार गरेको भन्दै राजस्थानमा मुद्दा हालेकी थिइन्।
सुरतका दुई जना दिदीबहिनीले पनि आफूलाई भगवान भन्ने आशारामले बलात्कार गरेको भन्दै छुट्टाछुट्टै मुद्दा हालेका थिए।
आशारामलाई २०१३ अगस्टमा प्रहरीले हिरासतमा लिएको थियो।
आशाराम दोषी ठहर भएपछि उनका अनुयायीले गर्न सक्ने प्रदर्शनलाई लक्षित गरेर भारतको गृह मन्त्रालयले राजस्थान, गुजरात र हरियाणा राज्यमा उच्च सतर्कता अपनाएको छ भने जोधपुरमा अप्रिल ३० सम्म सभा गर्न रोक लगाइएको छ।