कुखुराको बीमा हुन्छ, गाईवस्तुको बीमा हुन्छ,तर घोडा /खच्चडको बीमा किन हुँदैन? भन्दै दाङका घोडा व्यवसायीले दुखेसो पोखेका छन्।
दाङको तुलसीपुर उपमहानगरभित्रका घोडा व्यवसायीहरूले विश्व भेटेरीनरी दिवसको अवसरमा शनिबार पशुसेवा शाखा कार्यालय तुलसीपुरमा आयोजित कार्यक्रममा घोडा /खच्चडका पनि बीमा हुनुपर्ने माग गरेका छन्।
हाल दाङमा करिब १५ सयदेखि २ हजार संख्यामा घोडा रहेका छन्। प्रत्येक घरमा १ देखि ३ वटासम्म घोडा पालेका व्यवसायीले घोडा व्यवसायलाई सम्वर्द्धन गर्न स्थानीय सरकारसँग माग गरेका छन्।
पशु विज्ञ रमन मिश्रले जिल्लामा ६ वटा घोडा व्यवसायी समूह रहेको जानकारी दिए। त्यसमध्ये, सबैभन्दा धेरै ४ सय ९५ घोडा तुलसीपुरमा रहेको उनले जनाए। उनले दाङका इट्टा उद्योगमा मात्र ३ सय २३ वटा घोडा प्रयोग भएको बताए।
हालसम्म घोडा खच्चडको स्वास्थ्य बीमा नभएको हुँदा घोडा पाल्ने व्यवसायी घोडा मर्दा मर्कामा पर्ने भएको भन्दै स्वास्थ्य बीमाको नीति ल्याउन स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्।
बीमा नीतिमात्र होइन घोडाका लागि उचित बिसौनी बनाउन पनि व्यवसायीले माग गरेका छन्।
आफूजस्ता घोडेले लामो समयदेखि गाउँ घरबाट अन्नपात बजारमा ल्याएर सेवा गर्दै आए पनि सहरमा हेला गरिने लक्ष्मण थारुको दुखेसो छ।
‘बजारमा हामीलाई घोडाले दिसा गर्यो, तुरुन्त सफा गर भन्छन्। यहाँ न रोक, तुरुन्त हटा भन्छन्। त्यसैले हामीलाई बजारमा एउटा घोडा बस्ने कटेरो आवश्यक छ’, चौधरीले भने।
घोडा व्यवसायी कृष्ण चौधरीले गाउँघरबाट खाद्यान्न लगायतका सामान ढुवानी गरेर ल्याउँदा थाकेका आफ्ना घोडा बिसाउन बजारमा बिसौनी नभएको गुनासो गरे।
‘बजारमा हामीलाई कतै पनि घोडा अड्याउन दिइँदैन । सबैले घोडा हटाऊ भन्छन् । घन्टौं भारी बोकेर आएका हाम्रा घोडा थाकेर लखतरान भएका हुन्छन्। त्यसैले हामीलाई एउटा बिसौनी स्थल बनाइ दिनुहोस्, मेयर साप’, चौधरीले भने।
त्यस्तै, तुलसीपुर ११ कटाहाँ निवासी रैबहादुर बस्नेतले घोडाले मोटर गाडी जस्तो प्रदर्शन पनि नगर्ने, इन्धन पनि नचाहिने र मोटर गाडी पुग्न नसक्ने स्थानमा पनि सजिलै जान सक्ने भएको हुँदा गाउँ घरमा घोडा नै मानिसको असल साथी भएको बताए ।
‘घोडा हाम्रो जीवनको सम्वृद्धिको सारथी हो। आज मोटर गाडी आएका छन्। तर,सदियौंदेखि घोडा नै सामान ढुवानी गर्ने एकमात्रै साधन हो’, बस्नेतले भने।
मेयर घनश्याम पाण्डेले जतिसक्दो चाँडो घोडाका लागि विश्रामस्थल निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन्। त्यस्तै, उनले घोडा/खच्चडको पनि स्वास्थ्य बीमा गर्नको लागि के गर्न सकिन्छ?, त्यसबारे प्रयास गर्ने बताए।
मेयर घनश्याम पाण्डेले परापूर्वदेखि घोडा, कुकुरजस्ता चौपाया मानिसको साथी रहेको हुँदा उनीहरूको उचित रेखदेख र पालन पोषण हुनुपर्ने बताए।
‘युद्ध लड्दा होस् वा भारी बोक्न होस् विगतदेखि घोडा नै प्रयोग हुँदै आएको छ। घोडा सफलताको प्रतिक पनि हो। घोडचढी साहसिक खेल हो', उनले भने ।
मेयर पाण्डेले आगामी वर्षभित्रै तुलसीपुरमा पशु अस्पताल निर्माण गरिदिने प्रतिबद्धता समेत व्यक्त गरे।
सदियौंदेखि सामान ढुवानीमा प्रयोग हुँदै आएका घोडा अहिले मोटर गाडीले गर्दा कम प्रयोग हुन थालेको जानकार बताउँछन्।