संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ध्यान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्नेमा केन्द्रीत छ।
व्यवस्थापनका लागि २१ घन्टा विमानस्थल सञ्चालनदेखि आन्तरिक उडानका लागि छुट्टै विमानस्थल बनाउनेसम्मको प्रस्ताव उनले अगाडि सारेका छन्।
पछिल्लो समय उनले काभ्रेको नागीडाँडामा विमानस्थल बनाउने योजना अगाडि सारेका छन्। कतिपयले नागीडाँडामा विमानस्थल बनाउनुको तुक नभएको तर्क गरिरहेका छन्।
विमानस्थल बनाउन प्रस्तावित काभ्रेका चार ठाउँबाट उपयुक्त ठाउँ सिफारिश गर्न जिम्मेवारी दिइएको समितिले मन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ। जसरी पनि विमानस्थल निर्माणको कामलाई अगाडि बढाउनेमा मन्त्री अधिकारी दृढ देखिन्छन्।
‘हवाई चाप व्यवस्थापनको लागि यो अचुक उपाय हो,’ सेतोपाटीसँग कुरा गर्दै अधिकारीले भने,‘चाप व्यवस्थापन पनि गर् भन्ने विमानस्थल पनि बनाउन नदिने भन्ने त हुँदैन नि।’
अधिकारीले अचुक उपाय भने पनि नागीडाँडाको विमानस्थल देशको आवश्यकता नभएको र यसले मुलुकलाई कुनै लाभ नहुने तर्क नागरिक उड्ययन प्राधिकरणकै मानिस र हवाई तथा पर्यटन व्यवसायी बताउँछन्।
उनीहरूका मुख्य तीनवटा तर्क छन्।
पहिलो, सरकारले निजगढ विमानस्थल बनाउने प्रकृया अघि बढाएको छ। निजगढ-काठमाडौं जोड्ने फास्ट ट्रयाक निर्माणको क्रममा छ। पाँच वर्षभित्र यसको निर्माण सकिन्छ। त्यसैले छ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको लक्ष्य छ।
त्यसपछि सबै अन्तर्राष्ट्रिय विमान निजगढ मै उत्रिनेछन्। आन्तरिक विमानस्थलका लागि काठमाडौं पर्याप्त हुनेछ। त्रिभुवन विमानस्थलको सुधार र विस्तार गरेर क्षमता थप बढाउन सकिन्छ।
दोस्रो, नागिडाँडामा एयरपोर्ट बनाउन १० अर्बसम्म लागत लाग्ने अनुमान प्रारम्भिक अनुमान छ। त्यहाँ बढीमा १२ सय मिटर लामो धावनमार्ग भएको विमानस्थल बन्ने छ। यति सानो धावनमार्गमा अहिले आन्तरिक उडान गरिरहेका एटिआर र त्यस्तै ठूला जहाजले उडान र अवतरण गर्न सक्दैनन्। त्यो एयरपोर्ट दुर्गममा उडान गर्ने ट्विनअटर साइजका जहाज र हेलिकप्टरले मात्र प्रयोग गर्न सक्छन्। यस्तो अवस्थामा उक्त ठाउँमा विमानस्थल बनिहाले पनि काठमाडौंबाट लुक्ला, तुम्लिङटार र पूर्वका पहाडी जिल्लाका उडान मात्र सार्न सकिनेछ।
तेस्रो, नागीडाँडामा एयरपोर्ट मात्र बनाएर पुग्दैन। त्यहाँबाट काठमाडौं आउने छिटो बाटो पनि हुनुपर्यो। बनेपा-सूर्यविनायक-कोटेश्वर बाटोमा अहिलेनै यात्रुहरू बिहान बेलुका जाममा परेर हैरान छन्। बनेपाबाट नागीडाँडा पुग्न २.५ किलोमिटर नयाँ बाटो बनाउनु पर्छ।
मन्त्री भने काठमाडौं जोड्न सडकको समस्या नहुने तर्क गर्छन्।
‘धुलिखेलसम्म सडक बिस्तार हुँदैछ। नागढुंगा-धुलीखेल जोड्ने मेट्रो रेल बनाउन टेण्डर आव्हान भएको छ,’ उनले भने, ‘ बनेपा-भक्तपुर खण्डमा एक लेन एयरपोर्टबाट मात्र आउने सवारीका लागि छुट्टयाउन सकिन्छ।'
मन्त्री अधिकारी एकातिर दुई वर्ष भित्रै एयरपोर्ट बन्छ भन्छन्, अर्कातिर कसरी बन्ने, कहिल्ये बनिसक्ने टुंगो नभएको धुलिखेल-नागढुगां मेट्रोले यात्रुलाई बनेपादेखि काठमाडौं ओसार्छ पनि भन्छन्।
उनलै गठन गरेको समितिले दिएको प्रतिवेदनले नागीडाँडामा ५ वर्ष लाग्ने निष्कर्ष निकालेको छ।
समिट एयरका डाइरेक्टर सुमन पाण्डेको बुझाइमा पाँच वर्ष लगाएर काभ्रेमा विमानस्थल बनाउँछु र त्यसबाट हवाई चाप व्यवस्थापन गर्छु भन्नु हाँस्यास्पद तर्क हो।
यसअघि धुलिखेलमा विमानस्थल बनाउने पहल थालेका पाण्डे एक वर्षमै त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्न सकिने काम छोडेर मन्त्री नागीडाँडाको उल्टो बाटोमा लागेको बताउँछन्।
‘आजभन्दा चार वर्ष अगाडि नै मैले धुलिखेलमा अध्ययन गराएको थिएँ तर सरकार अहिले आएर नागीडाँडा विमानस्थल बनाउने कुरा गर्दैछ त्यो पनि पाँच वर्षपछि सकिने गरी,’ उनले सेतोपाटीसँग भने,‘पाँच वर्षपछि हाम्रा प्राथमिकता र आवश्यकता पनि बदलिसकेका हुन्छन्।’
मन्त्री अधिकारी भने नागीडाँडामा दुई वर्षभित्रै एयरपोर्ट बनाउन सकिने र त्यसले त्रिभुवन विमानस्थलको ३० प्रतिशत एयर ट्राफिक कम गर्ने तर्क गर्छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै व्यवस्थापन गरेपछि ४० प्रतिशतसम्म क्षमता बढाउन सकिने पाण्डेको तर्क छ।
'तर मन्त्री त्यतातिर नलागेर काभ्रेतिर लागेका छन्,’ उनले भने।
अहिलेकै विमानस्थलमा पार्किङ वे थप गर्ने, टर्मिनल विस्तार गर्ने र ट्याक्सी वे बढाउने जस्ता काम गरे धेरै समस्याको व्यवस्थापन हुने उनको भनाइ छ।
दुई वर्षभित्रमै काभ्रेमा विमानस्थल बनाइसक्ने हुनाले त्यो एयरपोर्ट अहिले काठमाडौं विमानस्थलमा देखिएको भीडभाडको ‘बुटी’ हुने तर्क गर्छन्।
‘यो बनाउन पाँच वर्ष लाग्दैन। हामीले साढे २ वर्षमै बनाउन सक्छौं। डिजाइन एण्ड विल्ड मोडलमा जान सकियो भने अझ छिटो बनाउन सक्छौं। निजगढ नबनुञ्जेल हाम्रा लागि ट्राफिक कम गर्ने यो ‘बुटी’ हुने छ।’
नागकिर उड्डयन प्राधिकरणका अधिकारीहरू भने मन्त्रीको भनाइसँग सहमत छैनन्। विमानस्थल २ वर्षमै बन्नै नसक्ने उनीहरूको धारणा छ।
‘एयरपोर्ट बनाउन २–३ वर्ष त जग्गा अधिग्रहण, अध्ययनमै लाग्छ त्यस्तै नागिडाँडामै बनाउने भए त्यस्तो डाँडो सम्याउन कति लाग्ला?, रोड बनाउन कति लाग्ला? सयमको अनुमान गर्न गाह्रो छ। द्रुत गतिमा काम भयो भने पनि ५/६ वर्ष त पक्कै लाग्छ’ एक अधिकारीले भने।
सरकारले विमानस्थल बनाउने ठाउँको विस्तृत अध्ययनपछि मात्र निर्णयमा पुग्ने बताएको छ। यद्यपी बनाउने ठाउँकोमात्र सम्भाव्यता हेरेर बनाउने परम्पराले विमानस्थल बनाउने जहाज नउड्ने समस्या रहेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीको गुनासो छ।
कुनै पनि विमानस्थल बनाउने ठाउँको मात्र अध्ययनभन्दा पनि उक्त ठाउँमा विमानस्थल बनाउँदा देशकै अवस्थाको मूल्यांकन गर्नु पर्नेमा नेता, मन्त्री र सांसदको स्वार्थमा बन्ने परम्परा रहेको अधिकारीको अनुभव छ।
पर्यटन मन्त्री रविन्द्र अधिकारीसँगकाे छोटो कुराकानी: भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि क्षमता विस्तार हुँदैछ। त्यस्तै, निजगढ विमानस्थल बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय ट्राफिक यसै पनि कम हुने विश्वास गरिएको छ। यस्तोमा पाँच वर्षमा बन्ने भनिएको काभ्रेमा वैकल्पिक विमानस्थल किन चाहियो?काठमाडौंमा एयर ट्राफिक बढिरहेको छ। निजगढ एयरपोर्टको काम पनि अगाडि बढेको त छ तर त्यसको समय अझै सात वर्षभन्दा ढिला हुने अवस्था छ। यस्तोमा हामीले यहाँको ट्राफिक कम गर्नलाई विकल्प चाहिएको हो। काभ्रेमा आन्तरिक उडान गर्ने विमानस्थल बनाउने भन्ने कुरा अघि बढेको हो।
त्यहाँ एयरपोर्ट बनाउँदा ३१ प्रतिशत ट्राफिक कम हुन्छ। जसले एक प्रकारको उकुसमुकस हटाउँछ।
त्यहाँ बन्ने भनिएको एयरपोर्ट साना जहाजका लागिमात्र हो जुन दुर्गम क्षेत्र विशेषगरी लुक्ला, तुम्लिङटारमात्र हो, त्यतिको लागि विमानस्थल बनाउने?हामी माउन्टेन उडानहरू उता सार्न सक्छौं, जसले यहाँ बिहान हुस्सु लाग्दा रोकिने उडान त्यहाँबाट हुने छन्। हेलिकप्टरका लागि पनि उपयुक्त ठाउँ त्यही हो।
सबैभन्दा मुख्य कुरा ३० प्रतिशत ट्राफिक कम हुन्छ भने धेरै ठूलो कुरा हो। यो पाँच वर्ष लाग्दैन। यो हामीले साढे २ वर्षमै बनाउन सक्छौं।
तपाईंले बनाएको समितिले ५ वर्ष लाग्छ भनेको छ, त्योभन्दा अगाडिका अध्ययनले पनि त्यही देखाएका छन्। यस्तोमा विस्तृत अध्ययन नभई २ वर्षमै सम्पन्न हुन्छ भन्ने तपाईंको विश्वासको आधार के हो? उहाँहरूले विगतको ‘रिफेरेन्स’ पनि लिनुभयो होला तर हामी आपत्कालीन टाइपकै निर्माणमा जान्छौं। त्यसैले बढीमा ३ वर्षभित्रै सञ्चालन गर्छौं। डिजाइन एण्ड विल्ड मोडलमा जान सकियो भने अझ छिटो बनाउन सक्छौं। निजगढ नबनुञ्जेल हाम्रा लागि ट्राफिक कम गर्ने यो ‘बुटी’ हुनेछ।
निजगढसँगै काभ्रेमा विमानस्थल निर्माण हुने अवस्था आयो भने के हुन्छ?निजगढ बन्दा पनि काठमाडौंको विकल्प आवश्यक छ।निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्यो भने पनि नागीडाँडामा बन्ने विमानस्थलको अौचित्य रहन्छ। त्यसपछि पनि निरन्तर रूपमा लुक्ला, फाप्लु, माउन्टेन उडान र हेलिकप्टरका लागि सधैँ चल्नेछ।
निजगढ बन्दा पनि काभ्रेको विमानस्थल कसरी आवश्यक छ? काठमाडौंको विमानस्थलको विकल्प निजगढ होइन। निजगढले काठमाडौंको आन्तरिक ट्राफिक घटाउँदैन। किन भने हामीलाई माउन्टेन उडान र हेलिकप्टरको लागि भए पनि चाहिन्छ। जहाँ हुस्सुले उडान प्रभावित पार्दैन। अर्को कुरा निजगढभन्दा यो छिटो बन्छ।
अहिले प्रत्येक वर्ष बढेको काठमाडौंको ट्राफिक बढीमा १५ वर्षपछि डबल हुन्छ।
विमानस्थलसँगै र निजगढ बनेपछि अन्तर्राष्ट्रिय ट्राफिक काठमाडौंमा बढ्दैन सरकारले आफैं यहाँबाट अन्तर्राष्ट्रिय घटाउन पनि सक्छ यस्तोमा काठमाडौंलाई पुरै आन्तरिकमात्र बनाए हुँदैन र? राजधानी सहरमा कत्ति पनि अन्तर्राष्ट्रिय उडान नगर्ने भन्ने हुँदैन। पछि आउनेहरू पो नयाँमा जाने हुन्। अहिलेका त यही हुन्छन्। त्यस्तै, काभ्रे आफैंमा विमानस्थलको हकदार पनि हो।
माउन्टेन उडान र हेलिकप्टरकै लागिमात्र बन्ने भनेपछि प्रिमियम एयरपोर्ट हो? सरकारको आवश्यक प्रिमियम हो कि प्राइमरी? हामीलाई चाहिने प्राइमेरी नै हो। देशभर जहाज नै नउड्ने ठाउँमा विमानस्थल बनाइरहेका छौं भने यो यसै पनि काभ्रेको लागि एउटा विमानस्थल चाहिन्छ। त्यसमा हामीले अहिले काठमाडौंको एयरपोर्टको ट्राफिक घटाउने कुरा गर्दैछौं।
काभ्रेमा विमानस्थल जसरी पनि बनाउने तपाईंको लक्ष्य हो?जसरी पनि बनाउने भन्ने होइन। अहिलेसम्म प्रत्येक पटक अध्ययन गर्ने छोड्ने क्रम चलिरहेको थियो। म आएपछि यसलाई टुंगोमा पुर्याउने तयारीमा छु। यसको विस्तृत अध्ययनको काम हामी आगामी वर्षबाट बढाउछौं। अध्ययनबाट प्राविधिक, आर्थिक रूपबाट असम्भव देखियो भने त हामीले बनाउने कुरै आउँदैन।