त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षा शास्त्र संकाय पढेका विद्यार्थीले फारम भरेकै दिन लब्धाङ्क पत्र (ट्रान्सक्रिप्ट) पाउन थालेका छन्।
एक्जामिनेसन म्यानेजमेन्ट एण्ट इन्फरमेसन सिष्टम (इआइएमएस) प्रणालीबाट कम्प्युटर मार्फत् फारम भरेको २४ घण्टाभित्रमा ट्रान्सक्रिप्ट वितरणको व्यवस्था मिलाइएको हो।
यसअघि ट्रान्सक्रिप्ट झिक्न १५ दिनभन्दा बढी समय लाग्दा विद्यार्थीले समस्या भोग्दै आएका थिए। ट्रान्सक्रिप्ट छिटो उपलब्ध गराउनुपर्ने विद्यार्थीको मागलाई सम्वोधन गर्दै त्रिविले एकै दिनमा ट्रान्सक्रिप्ट दिने व्यवस्था मिलाएको हो।
त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा अन्तरगत संवाददाता कृष्ण बस्ताकोटीका अनुसार अहिले शिक्षाशास्त्र संकायमा मात्रै इआइएमएस प्रणाली लागू गरिएको छ। अब छिट्टै मानविकी तथा सामाजिक शास्त्र संकायमा पनि इआइएमएस प्रणाली लागू गर्ने तयारीमा त्रिवि रहेको बस्ताकोटीले सेतोपाटीलाई बताए।
देशका सात क्षेत्रीय परीक्षा नियन्त्रक कार्यालयबाट पनि फारम भरेकै दिन ट्रान्सक्रिप्ट वितरणको व्यवस्था मिलाइएको छ। 'इआइएमएस सफ्टवेयर किनेर लन्चसमेत गरियो, अब सातै प्रदेशबाट पनि ट्रान्सक्रिप्ट वितरणको व्यवस्था मिलाउँछौं।' इआइएमएस सफ्टवेयरमा विद्यार्थी पास/फेल भएको प्रष्ट देखिने गरी राखिएको हुन्छ।