सनम हत्याकाण्ड र हराएको ३३ किलो सुन छानविन गर्न गठित समितिको अनुसन्धानबाट चुडामणी उप्रेती ‘गोरे’ ले त्रिभुवन विमानस्थलमा तीन तरिकाबाट सुन तस्करी गराएको पत्ता लागेको छ।
सुन तस्करी अभियोग लागेका गोरेले यस निम्ति जहाजको चर्पी, यात्रु चढ्ने–ओर्लने भर्याङ, यात्रु लिन गएको बस, विमानस्थलका डिआइजी र एसएसपीको कोठा प्रयोग गर्ने गरेको छानविन समितिका सदस्य एसएसपी बसन्त लामाले सेतोपाटीलाई जानकारी दिए।
लामाका अनुसार सुन भित्र्याउने मुख्य तीन तरिकामध्ये पहिलो दुबइ–बैंकक–काठमाडौं उडान हो। सुन भरिया दुबइबाट थाइएयर हुँदै थाइल्याण्डको बैंकक जान्छन्। थाइल्याण्ड र दुबइमा ५० किलोसम्म सुन कर तिरेर ल्याउन पाइने हुनाले यो रूटबाट उनीहरूलाई सहज हुने लामा बताउँछन्।
दुबइबाट बैंकक ट्रान्जिट हुँदा सुन भरियाले विमानस्थलमै आफ्नो लगेजमा भएको सुन लगाएको कपडामा हाल्छन्। सुन हाल्न भनेर विशेष प्रकारको कपडा उनीहरूले लगाएका हुन्छन्। कपडामा एक–एक वटा सुनका बिस्कुट अट्ने गोजी बनाइएको हुन्छ। त्यसलाई छोप्न माथिबाट ज्याकेट लगाउँछन्।
यी भरिया सधैँ जहाजको अन्तिम सिटमा बस्छन्।
‘यहाँ ल्यान्ड हुने बित्तिकै जहाजको चर्पी जान्छन्,’ एसएसपी लामाले भने, ‘चर्पीमा सुन लुकाउने ठाउँ बनाइएको हुन्छ। त्यही ठाउँमा सुन हालेर उनीहरू जहाजबाट बाहिर निस्कन्छन्।’
त्यसपछि केही बेरमै विमानस्थलका सरसफाइ कर्मचारी जहाजमा पुग्छन् र चर्पीबाट सुन निकाल्छन्। जहाजबाट यात्रु ओराल्ने र चढाउने भर्याङमा पहिलेदेखि नै सुन लुकाउने ठाउँ बनाइएका हुन्छन्। त्यसरी लुकाइएको भर्याङलाई थाइ एयरको ग्यारेजमा लगेपछि कर्मचारीले सुन निकाल्छन्। र, भित्र कतै लुकाउँछन्।
पछि त्यहीँका कर्मचारीले स्कुटर र मोटरसाइकल प्रयोग गरी विमानस्थलभित्र संकलन भएको सुन बाहिर निकाल्छन्। मोटरसाइकलको तेल ट्यांकी र स्कुटरको खुट्टा राख्ने स्थानमा सुन राखेर ल्याइने गरेको लामाले बताए।
त्यस्तै भरियाले दुबइबाट झोलामै पनि सुन बोकेर आउँछन्। त्यस्ता भरिया विमानस्थलमा ओर्लेपछि यात्रु बोक्ने बसको अन्तिममा गएर बस्छन्। बसको अन्तिममा लगेज लुकाउन मिल्ने ठाउँ हुन्छ। त्यही ठाउँमा लगेज हालेर भरिया बाहिर निस्कन्छ। विमानस्थलका कर्मचारीले बस ग्यारेजमा पुगेपछि सुन निकाल्छन्।
यो पनि मोटरसाइकल र स्कुटरकै माध्यमबाट विमानस्थल बाहिर निकालिन्छ।
तेस्रो तरिकामा पनि दुबइबाट आएको सुन भरिया जहाजको अन्तिममा नै बस्छन्। चर्पी गएर झोलामा भएको सुन आफूले लगाएको कपडामा हाल्छन्।
विमानस्थलमा ओर्लिएपछि उनीहरू अध्यागमन जाने गरेको एसएसपी लामा बताउँछन्। अध्यागमनले भरियाको शरीर जाँच गर्दैन। अध्यागमनमा पासपोर्टमा छाप लगाइसकेपछि भन्सार र लगेज आउने स्थान नजिकै एउटा ढोका छ।
लामाका अनुसार त्यो ढोकाबाट डिआइजी र एसएसपीको कोठामा जान सकिन्छ।
सुन भरिया पहिचान गर्न डिआइजी र एसएसपीले त्यहाँ आफ्ना चालक खटाएका हुन्छन्। भरियाले विमानस्थलको नक्कली पास भिरेको हुन्छ।
पास विमानस्थलले जारी गर्ने जस्तै हुने भएकाले समस्या पर्दैन। अनुसन्धानबाट त्यो पास दुबइमै बनाइएको खुल्न आएको छ।
ढोकामा उभिएको प्रहरीलाई गलामा भिरेको पास अरुले नदेख्ने गरी देखाएपछि प्रहरीले भरियालाई ‘हाकिम’को कोठामा लगिदिन्छन्।
त्यहाँ पुगेर डिआइजी वा एसएसपी जो छ, उसैलाई सुन जिम्मा लगाएर आफूहरू बाहिर निस्कन्छन्।
डिआइजी र एसएसपीका कोठाबाट कार्गो जाने ढोका छ। त्यो ढोकाबाट निस्कने बेला बाहिर प्रहरीको गाडी स्ट्यान्डबाइ रहन्छ। सुन हालेर त्यो प्रहरीको गाडी आन्तरिक विमानस्थल हुँदै बाहिरिन्छ। प्रहरी हाकिमका गाडी जाँच हुँदैनन्।
यसरी विभिन्न तरिकाबाट सुन ल्याएबापत गोरेले सुन मालिकबाट प्रतिकिलो ८० हजार रुपैयाँ लिने गरेको खुल्न आएको छ।
छानविन समिति सदस्य एसएसपी लामाका अनुसार गोरेले त्यसमा ५० हजार रुपैयाँ भुजुङ गुरुङलाई दिन्थे। गुरुङले नै विमानस्थलको सबै ‘सेटिङ’ मिलाउथे।
विमानस्थलका गोपाल श्रेष्ठ र थाइएयरका सानु वनले अन्य कर्मचारीहरूसँग मिलेमतो गरेर रकम लिन्थे।
गोरे सुरुमा आफैं भरिया थिए। उनले साढे २ वर्षदेखि भरियाको काम छाडेको प्रहरीसमक्ष बताएका छन्।
सुरुसुरुमा कसैसँग पनि सेटिङ नगरी गोरेले जोखिम मोलेरै दर्जनौं पटक सुन भित्र्याएका र उनले ल्याएको सबै सुन कलकत्ता जाने गरेको अनुसन्धानबाट पत्ता लागेको एसएसपीले लामाले बताए।
यो पनि हेर्नुहोस्