खोकनाको सिकाली मन्दिरमा रक्षामन्त्री ईश्वर पोखरेल बन्दुकधारी सैनिकबाट घेरिएर आउनेबित्तिकै बजिरहेको गीत सामसुम भयो। एउटै पहिरनमा नाच्दै गरेका दुई दर्जन ज्यान अचानक थामिए।
मन्त्री पोखरेल त्यो क्षेत्र भएर निकाल्न लागिएको फास्ट ट्रयाक अवलोकन गर्न पुगेका थिए। सुरक्षा निम्ति खटिएका सैनिकहरू अघिसम्म स्वाद लिएर नाचगान हेरिरहेका थिए। अब भने यो नाचगानमा संलग्न दर्जनौं मानिस ‘मन्त्रीज्यूको अवलोकन’ हेर्न थाले।
एकैछिनमा मन्त्रीको टोली फर्कियो। उपत्यकाभित्रको यो सानो रमणीय थुम्कोमा फेरि गीत घन्किन थाल्यो।
एउटी सुन्दर युवती रंगीन छाता ओढेर पल्टनेको भेषमा सजिएका युवकसँग बात मार्दै गरेको दृश्य खिचिँदै थियो। नेपाली चेलीको अवोध अनुहार र टाठो पल्टने बीचको कुराकानीले ठ्याक्कै लीलबहादुर क्षेत्रीको ‘रिकुटे’ सम्झाउन थाल्यो।
मेरो छेवैमा उभिएका तन्नेरी अनायासै नजिकिए। उनी मेरो जिज्ञासा मेटाउन तयार थिए।
‘यी पल्टने बनेका मानिस रामजी खाँड हुन्,’ ती तन्नेरीले मलाई परिचय दिदैं भने, ‘यतिबेला लोकदोहोरी क्षेत्रकै सुपरस्टार।’
तपाईँ चाहिँ?
‘यो गीत मेरो हो। मेरो शब्द, संगीत, स्वर र मेरै लगानीमा बनेको गीत,’ उनले थपे, ‘अहिले लगानी थपेर म्यूजिक भिडियो बनाउन थालेको छु।’
उनले लगानीको बेलिविस्तार पनि पेश गरे।
‘यो भिडियोमा एकैछिनको दृश्य खिच्न रामजी खाँडलाई मात्रै ३५ हजार रुपैयाँ तिरेको छु,’ उनले थपे, ‘सबै गरेर दुई लाख जति लाग्ने अनुमान छ।’
यो गरेर उनलाई के फाइदा?
‘खुद भारतीय पल्टनको मान्छे हुँ,’ ती नपत्याउँदा लगानीकर्ता एवम् गायकले भने, ‘तलबबाट जोगाएको पैसाले ख्वाहिश पूरा गर्न नेपाल आएको हुँ।’
उनको पछिल्लो वाक्य सुन्ने बित्तिकै मेरा शरीरका ‘एन्टेना’ खडा भए। मन्त्रीको भ्रमण रिपोर्टिङका लागि पुगेको मलाई यो सम्भावित ‘बाइप्रोडक्ट’ ले उत्तिकै उत्साहित बनायो।
‘एकछिन बसौं न,’ मैले ती निर्मातालाई भनेँ, ‘तपाईंबारे बुझ्न मनलाग्यो।’
यत्रो लगानी गरिरहेको मान्छे पत्रकारसँग कुरा गर्ने मौका किन गुमाउथे?
हामी एउटा सानो ढिस्कोमा बस्यौं।
उज्ज्वल केसी, उनको नाम। उमेर २५ वर्ष। घर, कास्की रुपा गाउँपालिका–३।
खेती किसानी परिवारमा बा, आमा र १० मा पढ्ने एउटा भाइ।
‘मलाई नेपाली सेनामा भर्ती हुने ठूलो शोख थियो,’ उज्ज्वलले भने, ‘एसएलसी फस्र्ट डिभिजनमा पास भएँ। दमौलीबाट बाह्र कक्षा उत्तिर्ण गरेँ। यीबीचमा पाँच पटक भर्ती हुन भिडेँ।’
उनले चारपटक सिपाही र एकपटक सेकेन्ड लेफ्टिनेन्टका निम्ति ‘फाइट’ गरेका रहेछन्।
‘लेकिन जहिले पनि फाइनलमा पुगेर फालिएँ,’ उनले दुःखेसो गरे, ‘नेपाली सेनामा भनसुन गरिदिने मानिस छैनन् भने जागिर पाइँदैन भन्ने सुनेको थिएँ। आफैंले भोगेपछि हो रहेछ भन्ने लाग्यो।’
सैनिक बन्ने इच्छा नेपाली सेनाको असफलताले मात्र के रोक्न सक्थ्यो?
अंग्रेजकै बेलादेखि भारतीय गोर्खा पल्टनले यस्ता तन्नेरीहरूको बाटो पर्खेरै बसिरहेको हुन्छ। उज्ज्वललाई पनि त्यसैले तान्यो।
‘गाउँकै एकजना दाइ पहिलेदेखि नै उडिसामा द्वितीय गोर्खा बाहिनीमा काम गरिरहनुभएको थियो,’ उनले भने, ‘उहाँलाई भेट्न भनेर स्याङ्जा र कास्कीका एक–एक जना साथी र मसहित तीनजना उडिसा पुग्यौं।’
पाएदेखि गोर्खा पल्टनमा भर्ती हुने नपाए घुमफिर गरेर फर्कने मनसुवा उनीहरूको थियो।
उज्ज्वलको सपना पूरा हुने भयो।
‘अरु दुई जना साथीको नसिब राम्रो थिएन त्यसैले फर्किहाले,’ उनले थपे, ‘मलाई त लिइहाल्यो।’
यसरी चार वर्षदेखि उडिसा बाहिनीमा काम गरिरहेका उज्ज्वल अब छिट्टै सिपाहीबाट लेसनायक बन्नेवाला छन्। उडिसामा माओवादी समस्या रहेको कारण नक्सल क्षेत्रमा गइरहनु पर्ने उनले बताए।
‘त्यसदेखि बाहेकको समय ब्यारेकमै पिटी र परेडबाहेक फुर्सदै हुन्छ,’ उज्ज्वलले भने, ‘लेकिन मेरो त ख्वाहिश गीत संगीत पनि थियो।’
यहीँबाट सुरु भएको रहेछ यी तन्नेरीको अर्को व्यक्तित्व।
‘ब्यारेकमा गीत सुनाउँथे,’ उनले भने, ‘साथीभाइ रमाएको देख्दा मेरो पनि हौसला बुलन्द हुन्थ्यो।’
त्यसपछि नेपाल गएर गीत रेकर्ड गर्ने चस्का बस्यो।
‘मेरो तनखा ३० हजार भारु हुन्छ,’ उनले भने, ‘चार वर्षमा जोगाएको पैसा हातमा थियो।’
यस्तो अवस्थामा गएको फागुनमा उनी विदामा आए।
त्यतिबेलै उनलाई शब्द र लय फुर्यो।
‘त्यसपछि सागर विरही दाइसँग भेट गरेँ,’ उनले थपे, ‘तनहुँकै उहाँ लोकदोहोरी क्षेत्रका नामी संगीत एरेन्जर र गायक हुनुहुन्छ।’
गीत सुनिसकेपछि सागर विरहीले तीजको बेला गीतको ‘डिमाण्ड’ एकदमै बढी हुने जानकारी दिए। नयाँ गायकका निम्ति सुरुवात गर्न त्यो ठीक समय हुने भएकाले यस गीतलाई हल्का तीजको मोडमा ढाल्ने सुझाव पनि उनले दिएछन्।
उज्ज्वलले त्यसै गरे।
‘त्यसपछि सरासर काठमाडौं आएर दरबारमार्गको मारुनी रेकर्ड स्टुडियोमा रेकर्ड गराएँ,’ उनले भने, ‘स्टुडियोको भाडा आठ हजार र बजाउने मानिसलाई थप खर्चबाहेक महिला आवाजको लागि जुना श्रीस दिदीलाई तोकेँ।’
यसरी तयार भएको थियो उनको गीत जसको शब्दले भन्छ–
दुई महिनाको छुट्टि आको यसपालाको तीजमा
तिम्लाई लाउन रहर भए भन कुनै चिजमा
भन के लाउली?
डलर, रियाल केही भन्दिनँ आइसी खेलाउली
उज्ज्वलका अनुसार गीतमा उनले भारतभर छरिएका ९३ हजार गोर्खा पल्टनका फौजी दाजुभाइको ‘दिलको बात’ राखेका छन्। यो विशुद्ध छुट्टिमा आएको एउटा भारतीय लाहुरेको मनको कुरा हो। जसलाई पुरुष स्वरले प्रकट गर्छ।
‘नोकरी गरेको लड्का गाउँ आउँदा केटी वा सँगै हिँडेका दौंतरीलाई यसरी भन्ने हो,’ उनले थपे, ‘लेकिन हिजोआज गाउँमा डलर र रियालको ज्यादा चल्ती भएकोले फौजीहरूलाई मुश्किल छ।’
यस्तो स्थितिमा आफ्नो गीतले डलर र रियालविरुद्ध आइसी (भारतीय रूपैयाँ) को वकालत गर्ने उनले प्रष्ट पारे।
यो गीत गाएर उनले संकेत दिन खोजेका कोही प्रेमीका छन् कि भनेर सोधें।
उमेरमा सबैको भएजस्तो पढ्ने बेलामा आफ्नी पनि एकजना साथी भएको उनले जवाफ दिए। ‘अहिले नोकरीमा हिँडेपछि त्यस्तो कोही छैन,’ उनले भने।
यस गीतमा युवतीले दिने जवाफ पनि उज्ज्वलले नै लेखेका हुन्। जसमा युवती भन्छिन्–
‘यसपालाको तीजमा लेहेंगा लाउँ कि सारी
मलाई पनि नाच्ने रहर फन्का मारी मारी
कुन्नी के लाउने?
आइसी भन्दा रहर थियो डलर खेलाउने’
यसरी गाउँघरमा आइसीको चमक घटेपछि मर्माहत भएको फौजीका भावनाहरू गीतभरि चलिरहन्छ। त्यसैगरी युवती पनि हत्तपत्त मान्दिनन्।
यस्तो भावको गीत फागुनको विदामा तयार पारेपछि उनका भएभरका फोनदेखि पेनड्राइभसम्म यो गीतले बास पाएछ।
‘पल्टनमा पुगेपछि यो गीतले त अच्छा चमत्कार गरिदियो,’ उज्ज्वल भन्छन्, ‘साथीहरूले यो ‘इन्फरमेशन’ हाम्रो बाहिनीकै सबभन्दा ठूलो हाकिम बाहिनीपति एमडी जाहिद सरलाई पनि लगेर सुनाइदिएछन्।’
झण्डै आठ नौ सय जनाका प्रमुख जाहिदले त्यसपछि उज्ज्वललाई बोलाएर गाउन लगाएछन्।
‘त्यसपछि त जहिले पनि रमाइलो गर्ने बेलामा जाहिद सरले मलाई बोलाएर गीत गाउन लाउनु हुन्थ्यो,’ उज्ज्वलले भने, ‘साथीहरूले अर्थ बताइदिएपछि जाहिद सर पनि रमाउन थाल्नुभयो।’
यसै क्रममा जाहिदले एक दिन ‘तिम्रो आगेको ख्वाहिश के छ?’ भनेर सोधे।
‘यस्तो गीतलाई म्यूजिक भिडियो नबनाए धेरै मान्छेसम्म पुग्दैन,’ उनले जवाफ दिए, ‘नेपाल गएर भिडियो बनाउन चाहन्छु।’
‘कति दिन लाग्छ?’ जाहिदले सोधे, ‘२० दिनमा पूरा हुन्छ?’
जवाफमा उज्ज्वल फुरुंग पर्दै ‘हुन्छ’ भने।
‘ल जाऊ त्यसो भए,’ जाहिदले भने, ‘तिमीलाई विदा भयो, अच्छासँग भिडियो बनाएर आऊ।’
त्यसपछि के चाहियो। हुँइकिदैं म्युजिक भिडियो बनाउन नेपाल आएको उनले सुनाए।
काठमाडौंमा गीत रेकर्ड गर्ने कम्पनीले नै यस्ता म्युजिक भिडियो बनाउने सबै तारतम्य मिलाइदिँदो रहेछ।
‘मेरो म्युजिक भिडियोको निर्देशक विक्रम चौहान जी हुनुहुन्छ,’ उज्ज्वलले भने, ‘उहाँले नै डान्सरदेखि सबैथोक बन्दोवस्त गरिदिनुभएको हो।’
यसरी एकै किसिमको लुगा लगाएर नाच्ने समूहलाई कोरस भनिन्छ।
‘यसमा जति धेरै जना राख्यो उति कम खर्च लाग्दो रहेछ,’ उनले अर्थ्याए, ‘दस जना मात्र नचाउँदा बीस हजार पर्छ। तीस हजार खर्च गर्दा बीस जना आइपुग्छन्। चालिस हजारमा त चालिस जना नै आएर नाचिदिँदा रहेछन्।’
त्यसरी चालिस जना कोरस नचाउन ट्रलीले मात्र नभ्याउने भएकाले कतिपयमा ड्रोनसमेत राखिने उनले सुनाए।
उज्ज्वलको टोलीमा भने बीस जना थिए। त्यसबाहेक हिरोका रुपमा रामजी खाँड र हिरोइनमा करिश्मा ढकाललाई आफैंले छानेको उनले बताए।
‘दिनको छ सेटसम्म सुटिङ गर्ने रामजी खाँडको एक दिनमै लाख रुपैयाँ आम्दानी हुन्छ,’ उनले भने, ‘आज मेरो लागि भनेर विशेष रुपमा ३५ हजार रुपैयाँ मात्र लिएर काम गरिरहनु भएको छ।’
सिनेमामा राजेश हमाल भनेजस्तो यस्ता म्युजिक भिडियोमा रामजी खाँडको उपस्थिति मात्र भए पनि चल्ने गरेको उनले जानकारी दिए। खाँड मोडलबाहेक आफैं पनि यतिबेला चलेका लोकदोहोरी गायकका रुपमा चिनिएका रहेछन्।
यो गीत तयार भएपछि युट्युबमा हाल्ने तयारी उज्ज्वलको छ।
टेलिभिजनमा पनि देखाउने योजना छ। एउटै च्यानलमा एक साता ‘प्रोमो’ बजाएवापत १५ हजार रुपैयाँ तिर्नुपर्ने उज्ज्वल बताउँछन्।
‘म्युजिक भिडियो बनाएर मात्र कहाँ धर पाइन्छ,’ उनले भने, ‘एकपछि अर्को खर्चको फेहरिस्त बढ्दै जान्छ।’
यो त शुद्ध रुपमा पैसा सिध्याउने खेला पो रहेछ त?
यो प्रश्नमा उज्ज्वल एकछिन मुसुक्क हाँसे।
‘आफैंले कमाएको पैसा हो,’ उनले भने, ‘जानाजान सिध्याउन लागेको हुँ।’
के फाइदा?
‘भारतीय फौजमा रहेका नेपालीको साझा पीडा यस गीतमा बोलेको छु,’ उनले भने, ‘उहाँहरू सबैले यो गीत सुनेर मनपराइ दिनुभयो भने पनि मेरो मकसद पूरा हुन्छ।’
उनका अनुसार भारतभर छरिएका गोर्खा पल्टनहरूमा वर्षैभरि साँस्कृतिक कार्यक्रम भइरहन्छन्। त्यस्ता कार्यक्रममा उनलाई बोलाउन मात्र थालियो भने पनि उनी लाहुरेमाझमा ‘स्टार’ बन्नेछन्।
‘मुम्बइ, दिल्ली, पंजाबदेखि हरियाणासम्मबाट बोलावट आउन सक्छ,’ उनले थपे, ‘यो संसारमा सबैभन्दा ठूलो कुरा भनेको मनको रहर पूरा हुनु रहेछ। त्योभन्दा ठूलो अर्को कुनै कुरा छ जस्तो लाग्दैन।’
उनको रहर यही गीत हो। फौजी र युवतीबीचको लामो संवादमा युवतीले पल्टन गएको ठिटोलाई डलरको कुरा गरेर गलाउन खोज्छ। यता ठिटो पनि हार खाँदैन।
अन्तिममा त चेतावनी नै दिँदै पल्टनेले भन्छ–
‘भाउ खोज्दा लाहुरेसँग
साहिँली
फसौली दाउरेसँग’
तीजका गीतमा पहिले–पहिले माइत जाने र सासू–नन्द–आमाजूले दिएका दुःख झल्किने शब्द हुन्थे। हिजोआज मायाप्रिती कसरी समेटियो?
‘आजभोलिका तीज गीतमा महिलाका मात्र होइन, सबैका पीडा समेटिन थालेको छ,’ उनले भने, ‘हामी लाहुरेका पनि त दुःख हुन्छन् नि!’