सेवानिवृत्त तीन वरिष्ठ प्रहरी अधिकृतले आइतबार पत्रकार सम्मेलन गरी सुनकाण्ड र सनम शाक्य हत्या प्रकरणमा थुनिएका एसएसपी दिवेश लोहनीको बचाउ गरे।
‘प्रहरीले अनुसन्धान क्रममा तस्करहरू समात्न ग्राहक नै बनेर पैसाको डिल गर्नुपर्ने हुन्छ,’ पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, पूर्वडिआइजी रमेश खरेल र हेमन्त मल्लले भने, ‘गृह मन्त्रालयको छानबिनले प्रहरी अनुसन्धानको यही मर्म बुझेन।’
थुनामा रहेका अभियुक्तविरुद्ध प्रहरी संगठनकै मान्छेबाट बचाउ गरिनु नौलो घटना हो।
यी तीन अधिकृतले आफ्नो प्रतिष्ठा नै दाउमा राखेर लोहनीको सामूहिक बचाउ किन गरे? के यो पूर्व सहकर्मी र साथीप्रतिको नैतिक धर्म निर्वाह मात्र थियो?
पत्रकार सम्मेलनपछि हामीले यो घटना फर्केर हेर्यौं।
लोहनी नेतृत्वको टोली सनम हत्याको सूचना पाउनेबित्तिकै यसमा प्रवेश गरेको हो।
गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनअनुसार ‘गोरे’ भनिने चूडामणि उप्रेतीले फागुन १८ गते प्रहरी अपराध महाशाखाका सई बालकृष्ण सञ्जेललाई सनम हत्याको जानकारी दिएका थिए।
सुन बोक्ने भरियाका मुख्य नाइके गोरेले प्रहरी र विमानस्थल कर्मचारीसँग ‘सेटिङ’ मिलाएर तस्करी गर्दै आएको प्रहरीले जनाएको छ।
मोरङ, उर्लाबारीका उनी काठमाडौं, गौरीघाट बस्थे। साढे दुई वर्षअघिसम्म आफैं सुन बोकेर ल्याउँथे। पछिल्लो समय भरिया खटाउँदै आएका थिए। विमानस्थलबाट एक किलो सुन पास गराएबापत् ८० हजार रुपैयाँ लिने गरेको प्रहरी अनुसन्धानमा भेटिएको छ।
प्रतिवेदनअनुसार फागुन ९ गते नेपाल भित्रिएको भनिएको ३३ किलो सुनका मुख्य भरिया सनम नै थिए। विमानस्थलबाट पास भएपछि सुन गायब पारेको आरोपमा गोरे समूहले सनमलाई नियन्त्रणमा लिएको थियो। सुन पत्ता लगाउन करेन्ट लगाएर यातना दिँदा मृत्यु भएको गोरेले बयानमा भनेका छन्।
सनम मारिएपछि गोरेले शव लुकाउन प्रहरीसँग सहयोग मागेको प्रतिवेदनमा उल्लेख छ। सई सञ्जेलले आफ्ना हाकिम लोहनीलाई यसबारे जानकारी दिए।
त्यतिबेला आइजिपी प्रकाश अर्याल छोराको ब्रतबन्ध निम्ति विदामा थिए। लोहनीले कार्यवाहक आइजिपी बमबहादुर भण्डारीलाई घटना रिपोर्ट गरे। त्यसपछि डिएसपी प्रजित केसी, सई सञ्जेल, प्रहरी जवान मेष राना र एक जना चालकको टोली विराटनगर खटाए।
बाटोमा डिएसपी केसीसँग गोरेको बारम्बार फोन सम्पर्क भइरह्यो।
टोली इटहरी पुगेपछि गोरेले प्रहरीलाई भोलिपल्ट फेरि फोन गरे। प्रहरीले आफूहरू धरानको भानुचोकमा रहेको बताए। गोरेले ‘एकछिनमा आइपुग्छु’ भन्दै फोन काटे।
केही बेरमा एउटा स्कोर्पियो गाडी प्रहरीले भनेको ठाउँमा पुग्यो। गोरेका साथी टेकराज मल्ल ठकुरीले गाडी लिएर गएका थिए। गोरे भने थिएनन्।
ठकुरीले सनमको शव गाडीमै रहेको प्रहरीलाई बताए। त्यसपछि धरानबाट शवसहित प्रहरी टोली इटहरी आई बास बस्यो। विराटनगर पुगेलगत्तै एसएसपी लोहनीलाई रिपोर्ट गर्यो।
यिनै प्रक्रियामा प्रहरी टोलीबाट तीनवटा गल्ती भएको छानबिन समितिको भनाइ छ।
पहिलो, गाडीमा शव छ भन्ने जानकारी हुँदा हुँदै प्रहरीले इटहरीसम्म किन लिएर आयो?
प्रहरीको आफ्नै तर्क छ।
शव व्यवस्थापन गरिदिने बहानामा गोरेलाई समात्न खोजेको लोहनीसहित घटनामा संलग्न प्रहरीहरूले बयान दिएका छन्।
यो बयान काट्दै छानबिन समितिले दोस्रो प्रश्न उठाएको छ– गोरेलाई पक्राउ गर्ने योजनाअनुसारै शव जिम्मा लिएको भए पनि उनी फरार भएपछि मुचुल्का तयार पार्दा प्रतिवादीको नाम किन लुकाइयो?
काठमाडौंबाट गएको टोलीले गोरे फरार भएपछि मोरङ प्रहरीलाई बोलाएर मुचुल्का तयार पारी शव जिम्मा लगाएको थियो। उक्त मुचुल्कामा गोरेको नामसमेत उल्लेख छैन। यसले शंका उत्पन्न गराएको समितिका एक सदस्यले सेतोपाटीलाई बताए।
छानबिन समितिले औंल्याएको तेस्रो गल्ती पैसा लेनदेनसँग सम्बन्धित छ।
लोहनी नेतृत्वको प्रहरी टिमले शव लुकाउन गोरेसँग दुई करोड रुपैयाँ ‘डिल’ गरेको समितिको आरोप छ। ‘उनीहरूले गोरेसँग दुई करोड डिल गरेको अडियो रेकर्ड छानबिन समितिसँग सुरक्षित छ,’ समितिका एक सदस्यले भने, ‘आवश्यक परेको दिन सार्वजनिक गर्छौं।’
सनमको शव बुझाउने टोलीसँग नक्कली ‘इन्काउन्टर’ गर्ने र त्यही बहानामा सनम मारिएको भनी घटना बंग्याएर दुई करोड असुल्ने प्रहरी योजना रहेको समितिका अर्का सदस्यले दाबी गरे।
समितिले आफ्नो दाबी पुष्टि गर्न केही विवरण खुलाएको छ।
सनमको शव भेटेपछि फागुन १९ गते महाशाखाले हतारमा प्रेस विज्ञप्ति निकालेर ‘अपहरणमा परेको भनिएका शाक्यको हत्या भएको’ जानकारी दिएको छ। त्यही विज्ञप्तिमा सनम फागुन १५ देखि अपहरणमा परेको भनिएको छ।
‘फागुन १५ गते नै अपहरणमा परेको सूचना पाउँदा लोहनी नेतृत्वको टोली के हेरेर बस्यो?’ समितिको प्रश्न छ।
सुन गायब पारिनु र सनमको हत्यापछि अनुसन्धानमा खटिएका प्रहरीले तस्करीमा संलग्न कसैलाई पक्राउ गर्न नसक्नुमा लोहनीकै दोष देखाइएको छ।
‘समिति गठनपछि तस्करी र हत्यामा संलग्न दर्जनौंलाई हामीले पक्राउ गरेका छौं। अनुसन्धान निकाय प्रमुखले भने किन कोही पक्रन सकेनन्,’ समितिका ती सदस्यले भने।
सुनसरीको झुम्का कारागारमा पुर्पक्षका लागि थुनिएका लोहनीले आफूहरूलाई फसाइएको र छानबिन समितिको गतिविधि नै शंकास्पद रहेको आरोप लगाएका छन्।
‘मैले गोरे समात्न अनुसन्धानमा ट्रिक लगाएको हुँ,’ उनले भने, ‘त्यसैलाई आधार बनाएर मलाई फसाउने काम भयो।’
समितिले उठाएका तीनैवटा प्रश्नमा लोहनीले आफ्नो प्रस्टीकरण राखेका छन्।
शव भेटेपछि मुचुल्कामा प्रतिवादीको नाम किन नराखेको भन्ने प्रश्नमा लोहनीले भनेका छन्, ‘अनुसन्धान गर्दै जादाँ पछि पनि गोरेको नाम राख्न सकिन्छ। कतिपय मुद्दामा मुख्य अभियुक्तबारे अरूलाई थाहा नदिन प्रतिवादीको नाम पछि हाल्ने चलन छ।’
शव लुकाउन दुई करोड डिल गरेको विषय पनि लोहनीले अनुसन्धान विधिकै हिस्सा भएको जिकिर गरे। अनुसन्धान विधि जसरी पनि बंग्याउन सकिने उनको तर्क छ।
‘८८ किलो सुन बरामद गर्ने प्रहरी अधिकारी मै हुँ, लोभलालच भएको भए सामान बरामद गरेर तस्करी गर्नेलाई समात्ने थिइनँ होला,’ उनले भने।
सेवानिवृत्त तीन वरिष्ठ अधिकृतले छानबिन समितिको तर्कमा असन्तुष्टि जनाएका छन्। अनुसन्धानमा विभिन्न 'ट्रिक' लगाउन सकिने भन्दै यस्तो हर्कतले अनुसन्धान गर्ने प्रहरीको मनोबल गिर्ने उनीहरुको भनाइ छ।
समितिले भने पत्रकार सम्मेलनमा व्यक्त धारणा खण्डन गरेको छ।
‘सरकारबाट अधिकारप्राप्त छानबिन टोली गठन भएर सुन र सनम हत्याबारे अनुसन्धान भइरहँदा पूर्व प्रहरी अधिकृतबाट त्यसलाई प्रभावित पार्ने काम भएको छ,’ समितिले भनेको छ।
यो काण्डमा तस्करी भएको भनिएको सुन अझै भेटिएको छैन।
तेत्तीस किलो सुन तस्करी र सनमको हत्यापछि प्रहरी प्रधान कार्यालयले डिआइजी पुष्करराज रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।
यसबीच सनमको अपहरण गरिएको हुनसक्ने भन्दै परिवारले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर निष्पक्ष छानबिन माग गरे।
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठकबाटै गृह सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरे। यी दुवै अनुसन्धान समितिमा एसएसपी वसन्त लामा र डिएसपी सुदीप पाठक छन्।
उता, फागुन २२ गते थाई एयरवेजका विमानस्थल कर्मचारी सानु बनको ट्यांकरले हानेर मृत्यु भएको खबर आयो। बनले विमानस्थलबाटै सुन तस्करीमा सघाउने गरेको छानबिन समितिले जनाएको छ।
पाँच दिनपछि फागुन २७ गते सुन तस्करी अभियोगमा पक्राउ परेका विमानस्थलका लोडर प्रेमलाल चौधरीले सिंहदरबार प्रहरी वृत्तमा आत्महत्या गरे। लामो समयदेखि विमानस्थलमा कार्यरत उनले वनसँग मिलेर सुन पास गर्ने गरेको अनुसन्धानमा देखिएको थियो।
सुनकाण्डमै जोडिएर सनम शाक्य, सानु बन र प्रेमलाल चौधरीको मृत्युपछि छानबिन समितिले अनुसन्धान तीव्र पारेको हो।
सुन तस्करी गर्ने भुजुङ गुरुङ लगायत विमानस्थल कर्मचारी गरी दुई दर्जनभन्दा बढी पक्राउ परेका छन्।