नेपाल प्रहरीमा साढे ३ महिनाको अवधिमा २५ सय १९ जना कर्मचारीको बढुवा भएको छ। कुल जनशक्ति ७५ हजार ८ सय ४४ मध्ये २५ सय १९ जना कर्मचारीको बढुवा भएको कर्मचारी प्रशासन विभागले जनाएको छ।
डिआइजीमा १६ जना, एसएसपीमा २२ जना, एसपीमा २८ जना, इन्सपेक्टरमा ७३ जना, सईमा २६० जना, असईमा २९८, हवल्दारमा १७ सय ४२ जना जनाको बढुवा भएको प्रहरीले जनाएको छ। त्यस्तै गरी प्राविधिकतर्फ डिआइजीमा २ जना, एसएसपीमा ४ जना, एसपीमा ५ जना डिएसपीमा १७ जना इन्सपेक्टरमा ६ जना पनि बढुवा भएका छन् ।
त्यस्तै सर्वेन्द्र खनाल आइजिपीमा नियुक्त भएपछि २३ हजार ८ सय ८७ जनाको सरुवा तथा पदस्थापन भएको प्रहरी हेडक्वाटरले जनाएको छ। नयाँ नियुक्ती १२ सय ६२ जना भएका छन् ।
जसमध्ये इन्सपेक्टरमा १०९ जना, सइमा ३४ जना, असइमा ३३१ र जवान ७७७ जना नयाँ नियुक्तीमा परेका छन् ।
लामो समयदेखि तल्लो तहका धेरैको बढुवा रोकिएको र त्यसले बृत्तिविकाशमा असर गरेका कारण बढुवालाई प्राथमिकता दिइएको आइजिपी खनालले बताए। बढुवा र सरुवा नहुदाँ लामो समयदेखि प्रहरी कर्मचारीमा नैराश्यता छाएको र त्यो आफूले हटाएको उनले दाबी गरे।
'१० वर्षदेखि प्राविधिकतर्फ सरुवा भएको थिएन, जसका कारण कर्मचारी निराश थिए, त्यसलाई पनि आफूले सम्बोधन गरेँ,' खनालले भने । आइजिपी खनालले हजारौं कर्मचारीको सरुवा र बढुवा गरेपनि प्रहरीमा डिआइजीहरु एआइजीमा बढुवा हुन सकेका छैनन् ।
डेढ महिनाभित्र ३ जनालाई एआइजीमा नियुक्त गर्ने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ। 'पुरानो आर्थिक वर्षको कार्यसम्पादन मुल्याकंन अंक आउन बाँकी छ, त्यसैले डिआइजीहरु एआइजीमा बढुवा हुन रोकिएका हुन,' गृह मन्त्रालय स्रोतले भन्यो।
एआइजीका लागि एक दर्जनभन्दा बढी डिआइजीहरु आकांकी देखिएपनि गृह मन्त्रालयले डिआइजी पुष्कर कार्की, मनोज नेउपाने र ठुले राईलाई एआइजी बनाउने तयारी गरेको छ।