आइतबार साँझ काठमाडौंको काडाँघारीबाट ११ वर्षिय बालक निशान खड्का अपरहणमा परे।
अपहरणमा परेकै राति निमार्णाधीन घरको जगमा उनको शव फेला पर्यो।
निशानलाई अपहरण गर्ने नुवाकोट सामरीका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थलीका २३ वर्षिय अजय तामाङ सोमबार प्रहरी ‘इन्काउन्टर’मा मारिए।
‘इन्काउन्टर’मा अपहरणकारी मारेपछि प्रहरीको एकातिर प्रंशसा भएको छ भने अर्कातिर अपहरित बालकको जीवित उद्धार गर्न किन नसकेको भन्ने प्रश्न उब्जेको छ।
अनुसन्धानको नेतृत्व गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले चिनजानेकाबाट बालक अपरहण भएकाले बचाउन नसकिएको बताए।
‘चिनजान र आफन्तबाट अपहरणमा परेकामध्ये प्रहरीले २५ प्रतिशतको मात्र ज्यान बचाउन सफल भएका छ,’ सिंहले भने, ‘बाँकी ७५ प्रतिशत ज्यान जोखिममा पर्ने गरेको छ।अहिलेसम्मको हाम्रो अनुभवले यही भन्छ।’
निशानका अभिभावकका कारण पनि उनलाई उद्धार गर्न नसकिएको सिंहको तर्क छ।
‘निशान ४ बजेदेखि हराएको अनुसन्धानबाट देखिन्छ,’ सिंहले भने, ‘ऊ ९ बजेसम्म घर आएकै छैन्, ५ घन्टासम्म छोरा नआउँदा के भयो कसो भयो भनेर चासो नलिइ सामान्य रूपमा लिदाँ अपहरणकारीले चलखेल गर्ने मौका पाए।’
बालकलाई कब्जामा लिएपछि अपहरणकारीले निशानको आमालाई फोन गर्दै सुरूमा २ करोड मागे। अन्तिममा उनीहरू ४० लाख दिनुपर्नेमा आइपुगेका थिए। योबारे प्रहरीलाई खबर नगर्नु भन्ने उनीहरूको चेतावनी थिए।
बालक अपरहणमा परेको सूचना प्रहरीले राति ९ बजेर १५ मिनेटमा थाहा पाएको थियो। त्यसपछि बानेश्वर वृतका डिएसपी गोविन्द काफ्ले घटनास्थलमा गएका थिए।
पौने १० बजे एसएसपी सिंह आफैं पनि घटनास्थलमा पुगेका थिए।
त्यतिञ्जेल बालकको परिवारले प्रहरीलाई खबर गरेको कुरा अपहरणकारीले चाल पाइसकेका थिए।
प्रहरीले बालक खोज्न काँडाघारी र भक्तपुर क्षेत्रमा ‘मुभ’ बढाएपछि अपराध लुकाउन अपहरणकारीले बालकको हत्या गरेको सिंहको दाबी छ।
‘फिरौती आउने भएन,अपराध गरेको प्रहरीले थाहा पायो, बच्नका लागि अब के गर्ने त?,’ सिंहले भने, ‘यस्तो अवस्थामा बालक होस् या ठूलो मान्छे अपहरणकारीले उनीहरूलाई तारो बनाउँछन्।’
सिंहका अनुसार राति १२ बजेसम्म निशानको हत्या भइसकेको थियो।
अनुसन्धानका क्रममा काठमाडौं प्रहरी र महाशाखाबीच समन्वय नभएको भन्ने कुराको सिंहले अस्वीकार गरे।
महाशाखाको अनुसन्धानमा काठमाडौं प्रहरी परिसरले पनि सहयोगीको भूमिका निर्वाह गर्दै नाकाहरू ब्लक गरेको उनले बताए।