बेलायती सेनामा भर्ती हुन कसैलाई पनि पैसा नदिन ब्रिटिस क्याम्प पोखराले अनुरोध गरेको छ।
शुक्रबार पत्रकार सम्मेलन आयोजना गरि क्याम्पले आफुहरुले निःशुल्क, निष्पक्ष र पारदर्शीका साथ भर्तीमा छनोट गर्ने भन्दै उनले भर्तिका लागि कुनै पनि व्यक्तिलाई रकम नदिन आग्रह गरेका हुन्।
‘बेला बेलामा भर्ती गराइदिन्छु भन्दै पैसा लिएर ठगी गरिएको समाचार आउने गरेका छन्,’ ब्रिटिस क्याम्प पोखराका प्रमुख एस नाइटिंगलले भने, ‘भर्ती हुँदा शैक्षिक तथा शारीरिक क्षमता र चरित्रको आधारमा छनोट गरिन्छ,’ नाइटिंगलले भने, ‘पैसा र कसैको नजिकको मान्छे भएर होइन, दक्षता र क्षमताका आधारमा छनोट हुन्छ ।’
उनले उपल्लो र तल्लो जात तथा धनी र गरिबको आधारमा भेदभाव नहुने भन्दै उनले भर्ती प्रक्रिया काठमाडौं र युकेका नियामक इकाइमार्फत निर्देशन रहने बताए।
सबै जनालाई आवेदन दिने तरिका र आवश्यक मापदण्डबारे वेभसाइडबाटै जानकारी दिएको उनले बताए। ‘भिडियो प्रशिक्षण कार्यक्रम साथै अन्तर्वार्ता र लिखित जाँचका आवश्यक नमुना वेवसाइटमा राखेका छौं,’ उनले भने, ‘सम्भावित रेक्रुट विफल भएमा उसलाई विफल हुनको कारण बताइन्छ। अन्त्यमा हामी सम्भावित रेक्रुटलाई भविष्यमा कसरी अझै सुधार गर्न सकिन्छ भनेर सुन्छौं।’
नेपालका प्रत्येक जिल्लामा पुगेर त्यहाँका जनतालाई छनोट प्रक्रियाबारे जानकारी दिएको ब्रिटिस क्याम्प पोखराका उपप्रमुख महेन्द्र पुगामीले जानकारी दिए।
यसका लागि पोखरा र धरानमा एकै साथ दर्ता प्रक्रिया सञ्चालन हुने उनले जानकारी दिए। ‘पहिले पोखरा र त्यसपछि धरानमा छनोट प्रक्रिया हन्छ,’ उनले भने, ‘केन्द्रीय छनोटका लागि उपयुक्त परीक्षार्थी छनोट गर्ने मुख्य चरण यही हो।’
सबै चरण पुरा भइसकेपछि केन्द्रीय छनोट पोखरामा हुने उनले सुनाए। ‘छनोट भईसकेपछि कसम खाने परेड खाने गर्छौ,’ उनले भने, ‘जहाँ रेक्रुटहरूले ब्रिटिस आर्मीमा औपचारिक रुपमा सामेल हुनुपूर्व आफ्ना परिवारजनसँग भेट्न सक्छन्।’
लगभग १ वर्ष अवधिको भर्ती प्रक्रियामा उमेद्बारहरुले ४ चरण पार गर्नुपर्ने उनले जानकारी दिए।
‘हाम्रो मुख्य उद्धेश्य नै सम्भावित रेक्रुटको भलाई हो,’ उनले भने, ‘ब्रिटिस आर्मीमा भर्ती हुन चाहनेलाई समान अवसर दिन हामी कटिबद्ध छौं।’
बेलायती सेनामा भर्ती हुन यस वर्ष ८ हजार ८ सय ९१ जनाले फर्म भरेको जानकारी दिए। ती मध्ये ५ सय ८० जना यस छनोट हुनेछन्। ५ सय ८० जनाबाट ३ सय २० जना ब्रिटिस सेनाका लागि छनोट गर्ने पुगामीले जानकारी दिए।
त्यसैगरी सिङ्गापुर पुलिसका लागि १ सय २० जनालाई लैजाने उनले बताए।