'आमा! बुबा खोई?'
'यतै घुम्न जानुभएको होला!'
'उहाँ को त?' नजिकै उभिएका उनका कान्छा छोरालाई देखाउँदै सोधेँ।
'ऊ, भाइ हो। दाजु थापाथली बस्छ,' उनले भनिन्।
९५ वर्षीया चोककुमारी पोख्रेल जसलाई भाइ भनेर चिनाउँदै थिइन्, खासमा ती उनका छोरा थिए।
यो यही साउन २८ को कुरा हो।
गत पुस महिनादेखि चोककुमारीलाई अल्जाइमर्सले गाँजेको छ। उनी हालसालैका कुरा भेउ पाउँदिनन्। एक वर्षअघि उनैबाट सुनेको अनुभव म यहाँ चर्चा गर्दैछु।
मैले चोककुमारीसँग २०७४ असार ९ गते लामो कुराकानी गरेकी थिएँ। उनले जीवनका उकाली-ओरालीबारे अनुभव बाँडेकी थिइन्। सम्झनाका पोका फुकाएकी थिइन्।
उनको जन्म चिसङ्खु गडी गाउँपालिका, दियाले, ओखलढुंगामा भएको हो। बिक्रम सम्बत् १९८० मा। आमा मानकुमारी र बुबा पण्डित तारानाथ खतिवडा।
उनको बिहे ईश्वरीप्रसाद पोख्रेलसँग भयो। उनी दस वर्षकी थिइन्। उनका श्रीमान १६ वर्षका।
बिहेको केही समय नबित्दै आमा मानकुमारीको मृत्यु भयो। उनी केही समय माइत आएर बसिन्।
त्यही बेला उनका बुबा तारानाथले दोस्रो बिहे गरे। चोककुमारीको घरमा आमा भित्रिइन्, जो उनीभन्दा तीन वर्ष सानी थिइन्। बहिनीजस्तै।
'बुबाले त ब्या' गर्दिनँ भनेको नि! मान्दै मान्नुभएको थिएन। तर गाउँको ठूलो पण्डित। पुराण भन्न नदिने भनेपछि के गर्ने?' बुबाको पक्षमा उनी जति पनि तर्क गर्न सक्छिन्।
'सानी त मेरी साथी भैगइन्!' आफ्नी आमा भएर आएकी सानी बच्चीबारे सुनाउँदै उनले भनिन्, 'सबैले हेप्थे उनलाई। मलाई धेरै माया गर्थिन्।'
ती सानी आमाको ६०-६२ वर्षअघि नै निधन भइसकेछ। चोककुमारीको मनमा उनको निम्ति माया नै माया भरिएको छ।
चोककुमारीलाई सबभन्दा पहिले मैले फेसबुकका फोटामा देखेकी थिएँ। उनका फोटा हेरेरै नजिकिएकी थिएँ। उनका छोरा पूर्व निर्वाचन आयुक्त भोजराज पोख्रेलको फेसबुकमा सधैं देखिने जोडी ढुकुरजस्तो फोटोले मलाई धेरै तान्थ्यो। ती फोटा हेर्दाहेर्दै एक खालको सम्बन्ध महशुस हुन्थ्यो।
त्यो महशुस अनुभव गर्ने मौका 'हजुरआमाका कथा' लेखनले दियो।
उनको घर सिनामंगल पुगेँ। लामो कुराकानी रेकर्ड गरेँ।
अन्तिममा, कोठाको अर्को कुनाको पलङमा सुतिरहेका उनका श्रीमान ईश्वरीप्रसादको तस्बिर लिन चाहेँ।
'बुबा, फोटो खिचौं?'
'म पनि मालिकसँगै बसेर फोटो खिच्ने,' बुबाले जवाफ दिन नभ्याउँदै चोककुमारी आफ्नो ओछ्यानबाट उठेर सँगै बस्न आइन्।
मैले दुवै जनाको हँसिलो मुहार मोबाइलमा कैद गरेँ। चोककुमारीको एकल तस्बिर पहिल्यै लिइसकेकी थिएँ।
त्यो दिन मैले उनलाई पहिलो प्रश्न सोधेकी थिएँ, 'आमा, हजुरको नाम के हो?'
'मेरो नाम ... अँ ... मेरो नाम ... मलाई 'सानु' भनेर बोलाउँथे! खै मेरो नामै बिर्सन्छु। कसैले भन्ने गरे पो!'
'कसैले नि नामले बोलाएनन् हजुरलाई?'
'सानु नै भन्थे सबैले। नाम कल्ले खोज्ने।'
'घरको सानी छोरी भएर सानु भन्या?'
'कान्छी छोरी त होइन म। तर प्यारो गरेर सानु भन्न थालेपछि गाउँकै सानु भएँ। माइतदेखि नै हो यो नाम। घरमा-माइत, गाउँका जसले पनि सानु। बरु घर आएपछि, काइँली पनि भन्न थाले। उहाँ काइँलो छोरा भएकाले। अब मेरो नाम त मलाई था'छैन। ऊ 'मालिक'लाई नै सोध्नुपर्छ,' अर्को छेउको पलङमा सुतिरहेका आफ्ना श्रीमानलाई देखाउँदै उनले भनिन्।
उनका श्रीमान सय वर्ष पुग्नै लागेका थिए।
उनी हरेक कुरामा श्रीमान ईश्वरीप्रसादमा निर्भर छिन्। सम्मानसँगै चोककुमारीको माया पनि देखियो।
'उति बेला हामी मान्ने मान्छेको अगाडि बोल्दैनथ्यौं। अप्ठ्यारो हुन्थ्यो। कस्तो समयमा जन्मियौं। कतिको डरमा बाँच्यौं,' उनले श्रीमानसँगका पुराना दिन सम्झिँदै भनिन्।
यी जोडीका धेरै वर्षसम्म छोराछोरी जन्मेनछन्। चोककुमारीको मनमा पीर गढ्यो।
'कतै सासू-ससुराले श्रीमानको अर्को बिहे गर्दिए भने?' यो चिन्ताले उनलाई धेरै सतायो।
तर, श्रीमानले त्यसो गरेनन्।
ती बेलाका मनमा गुम्सिएका पीडा फुकाउँदै खुलिन् उनी, 'मलाई हत्तपत्त केटाकेटी भएनन्। अनि घरका सबैले उहाँलाई अर्को बिहे गर भने। उहाँ फेरि केही नबोल्ने। चुप लागेर बसिदिने। गर्छु नि छैन। गर्दिनँ नि छैन। मलाई भने यता मन पोलेर आत्तिसकेँ। एक दिन एक्लै भएका बेला आफैं सोधेँ।'
'के भन्नुभयो त बुबाले?'
'बिहे त के, तलाईं म कहिल्यै छोड्दिनँ भन्नुभयो,' उनले हँसिलो अनुहार लाउँदै भनिन्, 'बच्चा नभएकोमा पनि कहिल्यै केही भन्नुभएन। गाली पनि सुनिएन उहाँको मुखबाट।'
ईश्वरीप्रसादसँग चोककुमारीका बुबा तारानाथ खुसी थिएनन्। पढेको केटो भन्ठानेर छोरीको बिहे गरिदिएका रहेछन्। पढाइ पूरा नभएको थाहा पाएपछि गाउँका 'ठूला' पण्डित तारानाथलाई छोरीको पीर रहेछ।
त्यति बेलाको अवस्था वर्णन गर्दै उनले सुनाइन्, 'उहाँले पढाइ सक्नुभएको थिएन। पछि पढ्नुभयो। हाम्रो १९/२० जनाको परिवार थियो। धेरै जना सँगै भएपछि छुट्टिने भन्यौं। तर उहाँ त्यही बेला पढ्न भनेर फुत्त हिँड्नुभयो। मटिहानी तिर। मेरा बुबाले 'पढेको केटो भनेर दिएँ तँलाई, मलाई गाली नगर है' भन्नुभा थियो।'
पछि ईश्वरीप्रसाद पढेर पण्डित भएर आए। ईश्वरीप्रसादका बुबाले अर्का पण्डितसँगै बसेर घरमा पुराण लगाऊ भनेछन्। अर्का पण्डितसँग बसेपछि ईश्वरीप्रसादले सिक्छन् भन्ने थियो उनलाई।
'तिनै पण्डितसँग सिक्दै उहाँ जान्ने हुनुभो। पछि, अन्त पनि पुराण भन्दै हिँड्नुभो,' उनले भनिन्।
श्रीमान पढाइ सकेर आएपछि उनीहरु छुट्टिए।
पछि श्रीमानले 'मास्टरी' गर्न थाले। काम गर्न ओखलढुंगा गए।
ती दिन सम्झिँदै उनी भन्छिन्, 'उहाँ ओखलढुंगामा मास्टर भएर बस्नुभयो चार-पाँच वर्ष। यता मैले घरको सबै काम गर्नुपर्थ्यो। गाईवस्तु, घर, छोराछोरी सबै एक्लै हेर्नुपर्ने। छ-सात जना केटाकेटीलाई म जता गयो, त्यतै लैजान्थेँ। काम नगरे खान पाइन्थेन। कामको चटारोले मैले छोरीलाई पढाउन सकिनँ।'
उनले दुःखजिलो गरेरै छोराछोरी हुर्काइन्। अहिले उनलाई सन्तोष छ।
'अघि त्यस्तो गरियो। यी अहिले छोराहरुले मजाले खाटमा राखिरहन्छन्। केही गर्नु पर्या छैन। कहिलेकाहीँ यसो बूढाबूढी ठाकठुक गर्छम्। तपाईंले केही गर्न सक्नु भएन, छोराहरुले यस्ता विच्छ्याउनामा राखिराछन् भन्छु। उहाँ के गर्छेस् त बाबै, समय त्यस्तै थियो भन्नुहुन्छ। ओखलढुंगामा मैले कति दुःख गरेहुँला भन्नुहुन्छ,' उनले ईश्वरीप्रसादलाई हेर्दै भनेकी थिइन्।
पोहोर असारमा उनीसँग यति कुरा गरेकी थिएँ। माघमा उनको घरको खबर पाएँ। चोककुमारीका 'मालिक' ले उनलाई छाडेर गए। फागुनमा उनीहरुको वैवाहिक जीवनले ठ्याक्कै ८५ वर्ष काट्ने थियो।
श्रीमान बित्नु एक महिनाअघि नै उनलाई अल्जाइमर्सले समातेछ।
उनलाई नयाँ दिन सम्झना हुन्नन्। पुराना दिन भने भुल्दिनन्। माइती हुँदाको सम्झना छ। आफ्ना छोराछोरी र परिवारका अरु सदस्यलाई भने कहिले राम्रै चिन्छिन्। कहिले छोराहरूलाई 'भाइ' भनेर परिचय गराउँछिन्।
'म, ऊ त्यो पलङमा सुतेको हुन्छु। आमाले मलाई कहिलेकाहीँ 'बा' भन्ठानेर बोलाउनुहुन्छ,' अर्को भित्तातिर रहेको पलङ देखाउँदै कान्छा छोरा शेखर पोख्रेलले भने।
यो त्यही कोठाको त्यही पलङ हो, जहाँ चोककुमारीका 'मालिक' लाई मैले असारमा भेटेकी थिएँ। चोककुमारी र उनका श्रीमानले आफ्ना जीवनका अन्तिम दिन यहीँ बिताएका थिए।
उनका उति बेलाका दिनचर्या सुन्ने रहर मेटिएकै थिएन।
सोधेँ, 'आमा, तपाईंका दिन पहिले कसरी बित्थे?'
'बिहान अँध्यारैमा उठ्यो। घर बडारकुँडार गर्यो। दैलो-आगँन पोत्यो। अनि एक गाग्रो पानी लिएर आयो। भान्छा पसेपछि १२ बजे पनि निस्कन पाइँदैन थियो। भान्सा छाडे बिटूलो हुन्थ्यो। थुप्रो जहान थिए। कहिलेकाहीँ सबैलाई पकाउन, खुवाउन पुग्दैन थियो। बान (अर्को खेप पकाउने) लगाउनुपर्थ्यो,' पुराना दिन कन्ठै सुनाउँछिन् उनी।
उनका अनुसार त्यो बेला भान्छामा चोलो लगाएर जान पाइँदैन थियो। जस्तै जाडो भए पनि चोलो लगाएर पकाएको भात खाँदैन थिए। बुहारीहरुको भात पकाउने पालो हुन्थ्यो। पालो पर्नेले भान्छामा सबैका लागि पातको घेरा लगाउनुपर्थ्यो। बुहारीहरु आफ्ना पालोका दिन रातभरी नसुतिकन भए पनि दुना-बोता गाँसेर राख्थे।
'हामी चारवटी बुहारी थिम्। चार दिनमा एक दिन पालो आउँथ्यो। हिजो-अस्तिदेखि आफ्नो पालोका लागि पात ठिक्क पारेर आफ्नो कोठामा राख्नुपर्थ्यो। अनि भात पकाउने अघिल्लो रातै दुना-बोता गाँसिन्थ्यो। ठूलो जहान थियौं, कचौरा हुन्नथ्यो। अचार, तरकारी, दाल सबैका लागि त्यतिका जहानलाई पात गाँस्दा रात बित्थ्यो,' उनी हाँसिन् र भनिन्, 'अहिलेका मान्छेलाई कति सजिलो।'
'अनि रमाइलो चाहिँ केही हुन्थेन? सिनेमा हेर्नुभएन कहिल्यै? '
'त्यति बेला बुहारीले त्यसरी हिँड्न हुँदैन थियो। सिनेमा हेर्न जाँदा त हुन्थ्यो तर घरमा थाहा पाए गाली गर्थे। कहिलेकाहीँ यसो लुकीचोरी देउरानी-जेठानी मिल्न सक्यो भने हेर्यो। मिल्न सकिएन भने यसका पोल उसले, उसका पोल यसले लगाउँथ्यो।'
यति भनिसकेर चोककुमारी हाँसिन्।
वर्तमानको साथ छैन, विगतका तीता-मीठा पल सँगालेर उनी मुस्काउँछिन्।
अहिले पनि बिहानै उठेर नुहाइधुवाइ गर्छिन्। राता लुगा, टीका, पोते, सिन्दुर खोज्छिन्। छोराहरुलाई कराउँछिन्, 'तिमीहरू मलाई किन राता लुगा लाउन दिन्नौ?'
कहिलेकाहीँ 'ठाकठुक' गर्ने 'मालिक' ले छाडेर गएको ८ महिना भैसक्यो। उनलाई पत्तो छैन। उनको स्मृतिमा सधैं लगाउने राता पहिरन, आफ्ना 'मालिक' ले ८५ वर्षअघि हालिदिएको एक चिम्टी सिन्दुर र पोतेका डोरा नै पवित्र प्रेमको चिनो भएर मनमा गढेको छ।
उहिले उहिले माया दर्शाउने समाज र चलन दुवै थिएन! सायद यिनै सिन्दुर र पोतेका लुङहरू माध्यम थिए।
चोककुमारीको नाकमा झल्किने फूली, निधारमा मखमली टीका र हातका चुराहरूले उनको सौन्दर्य निखारेको छ।
उनले लगाएका रंगीचंगी चुरा देखाउँदै मैले सोधेँ, 'आमा, चुरा लगाउन मन पर्छ हो?'
'लाइराख्न मनपर्छ,' उनले खुसी व्यक्त गर्दै भनिन्।
छोरा शेखरले थपे, 'लाउन मन गर्नुहुन्छ, त्यसैले हामी केही भन्दैनौं।'
९५ वर्षकी आमा, जसलाई आफ्नो अहिलेको अवस्थाबारे जानकारीसमेत छैन, उनका स-साना रहर नपुर्याइदिएर धार्मिक कट्टरता देखाउनुको औचित्य पनि के नै छ र!
यी हजुरआमाका कथा पनि पढ्नुहोस्