उनी प्रायः बबरमहलस्थित सत्य निरूपण तथा मेलमिलाप आयोगमा भेटिन्छिन्। उनको हातमा सधैं टेक्सास इन्टरनेशनल कलेजको ब्रोसर हुन्छ।
चालीस वर्षीया जमुना रोका दुई वर्षदेखि दिनहुँजसो यहाँ धाइरहेकी छन्। उनी यहाँ कलेजको ब्रोसर बाँड्न आएकी होइनन्। न विज्ञापन माग्न।
यो ब्रोसर उनकी छोरीको सपना हो। त्यही सपना पूरा गर्न धाइरहेकी छन्।
‘छोरी यो कलेजमा आईटी पढ्छु भन्छे। कसैले केही सोधिहाले भने म भन्न जान्दिनँ। त्यसैले यो कागज बोकेरै हिँड्छु’ उनले कलेजको ब्रोसर देखाउँदै भनिन्।
माओवादी सशस्त्र द्वन्द्वमा बाबुआमा गुमाएका छोराछोरीलाई सरकारले पढ्न सहयोग गर्ने भनेको छ। त्यही सहयोगको आशमा उनी आयोग चहारिरहेकी छन्।
अहिलेसम्म पाएकी भने छैनन्।
‘दुई वर्ष अगाडि नै यो आयोगमा उजुरी हालेकी थिएँ। केही सहयोग पाएको छैन। बरु आयोगका कर्मचारीहरूबाट २०/२५ हजार सहयोग आएको छ। सरकारले भने केही सुविधा दिएन,’ उनले भनिन्।
जमुना सत्य निरुपण तथा मेलमिलाप आयोगमा धाउने प्रतिनिधि मात्र हुन्। माओवादी सशस्त्र द्वन्द्वमा श्रीमान, छोराछोरी गुमाएकाले क्षतिपूर्ति पाऊँ भनी उजुरी हाल्ने हजारौं छन्। ६३ हजारभन्दा बढी उजुरी आयोगमा थन्किएर बसेको आयोगकी सदस्य माधवी भट्ट बताउँछिन् ।
भट्टका अनुसार पीडितका उजुरी खात लागेको छ।
‘यसप्रति सरकारले कुनै चासो देखाएको छैन। यो वर्षदेखि त आयोगको दैनिक प्रशासन खर्च र कर्मचारीको तलब–भत्ता नै रोकिएको छ,’ उनले भनिन्, ‘उजुरीहरूबारे आयोगबाट सर्वसम्मत निर्णय गरेर सचेत पत्र पठाएका छौं। कुनै प्रतिक्रिया आएको छैन।’
सरकारले वेवास्ता गर्दै जाँदा द्वन्द्वपीडितका समस्या झनै चुलिँदै छन्। न्याय पाउन ढिलाइ भएकाले आफूहरूको जीवन गति पनि ढिला भएको जमुनाको गुनासो छ।
कलेजले जमुनाकी छोरीलाई बिएससी सिएसआइटी पढ्न ८ लाख ७५ हजार रुपैयाँ लाग्छ भनेको छ। द्वन्द्वपीडित भनेर ५० हजार छुट दिएको छ।
‘बाँकी त्यति धेरै पैसा कसरी जुटाउनु,’ उनले आखाँभरी आँशु पार्दै भनिन्।
जमुनाको घर ओखलढुंगा जिल्ला रमने खिजिदुम्बा गाउँपालिका–१ हो। हाल उनी कोटेश्वर बस्छिन्।
विवाह हुँदा उनी १७ वर्षकी थिइन्। उनका श्रीमान दिलीप कुमार रोका क्षेत्री २३ वर्षका। जमुनाका अनुसार दिलीप नेपाली कांग्रेसका राजनीतिज्ञ थिए। खेतीपाती गर्थे।
२०५७ सालतिरको कुरा हो।
दिलीप घर बाहिर–बाहिर नै बस्थे। उनको परिवारलाई एक दिन मार्ने धम्की आयो।
‘धम्की आएपछि हामी सबै काठमाडौं आयौं। कोटेश्वर बस्यौं,’ जमुनाले विगत सम्झिँदै सुनाइन्।
उनका अनुसार २०५८ साल भदौ ५ गते दिउँसो ३ बजेतिर केही माओवादी कोटेश्वरको कोठैमा आए। दिलीपलाई जबरजस्ती लिएर गए।
‘म रोएँ, कराएँ। तर सोधपुछका लागि मात्र लाने हो, छाडिदिन्छौं भन्दै लगे,’ जमुनाले भनिन्।
श्रीमान आज आउलान्, भोलि आउलान्!
यही आशमा उनले धेरै दिन बिताइन्। छटपटी बढ्दै गयो। ओखलढुंगा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइन्। त्यहाँबाट ‘यहाँको माआवादीले लगेको होइन काठमाडौंको माओवादीले लगेको हो’ भन्ने जवाफ पाइन्।
पाँच महिनापछि, पुस १० गते दिलीप मारिए भन्ने खबर ओखलढुंगा जिल्ला कार्यालयले सार्वजनिक गर्यो।
जमुना श्रीमानको लाश लिन गइन्।
‘मेरा श्रीमानलाई मारेछन्। म उहाँको लाश माग्न गएँ। उनीहरूले अहिलेसम्म फेला परेको छैन भने,’ जमुनाले भनिन्, ‘१७ वर्ष भयो। आजसम्म केही छैन।’
जमुनाले २२ वर्षकै उमेरमा श्रीमान गुमाइन्। दुई वर्षकी छोरी र छ महिनाको छोरा थियो। उनीहरूको सबै जिम्मेवारी उनका काँधमा आयो।
‘श्रीमानले कमाएर ल्याउनु हुन्थ्यो । पकाउने, खुवाउने, बच्चाबच्ची हेर्ने मात्र काम गर्थेँ म,’ उनले भनिन्, ‘उहाँ बेपत्ता भएदेखि आमाबाबु दुवै आफैं भएँ।’
अहिले उनकी छोरी २० वर्ष भइन्। छोरा १८।
छोरीले पोहोर साल नै १२ कक्षा पास गरिन्। डाक्टर पढ्ने रहर गरिन्। खर्च ४०/५० लाख लाग्ने भएपछि आँट भएन।
‘अहिले आइटी पढ्छु भनेकी छ। कलेजलाई सुरुमा १ लाख ५० हजार बुझाउनु पर्छ। त्यही सहयोग माग्दै हिँडेकी हुँ,’ उनले भनिन्।
श्रीमानलाई माओवादीले लगेपछि छोराछोरीको पढाइनिम्ति विभिन्न संघसंस्थाले सहयोग गरेको उनी बताउँछिन्। उनका छोराछोरी पढ्ने दीपिका स्कुलले उनीहरूको पढाइमा मद्दत गरे।
‘धेरै पैसा त स्कुलले नि सहयोग गर्न सक्दैन। छोरीको सपना पूरा गर्ने पैसा जुटाउन गाह्रो भइरहेको छ,’ उनले भनिन्।
उनका छोराको भने ९ कक्षामै पढाइ रोकियो। उनी लामो समयदेखि बिरामी छन्।
छोराको रोग उनलाई थाहा छैन। रोगबारे सोध्दा उनी भन्छिन्, ‘बाउको हंस आएको हो। मेरा श्रीमानलाई के–के गरेर कसरी मारिदिए। लाश पनि छैन। अनि हंसले दुःख दिइरहन्छ।’
यो अन्धविश्वासका बाबजुद उनी छोरालाई ओखतीमूलो गराइरहेकी छन्।
उनी अहिले बगैंचामा काम गर्छिन्। महिनाको १० हजार जति कमाउँछिन्। कुनै दिन नगए तलब काटिन्छ।
‘यति पैसाले के मात्र गर्नु? खाना, कोठा भाडा, छोराको उपचार...,’ उनी एकछिन् रोकिइन्।
‘श्रीमान बेपत्ता भएपछि सुरुसुरुमा त कोठाबाट बाहिर निस्कन पनि सक्दिनँ थिएँ। एक हप्तासम्म भोकै बसेँ। उता ओखलढुंगा घरबाट कोही फर्केर आएका छैनन्। कौशलटारतिर धान रोप्ने, काट्ने गरेर बिहान–बेलुकाको छाक टार्थेँ,’ उनले भनिन्, ‘आज पनि अवस्था उस्तै छ। खान–लाउन मुश्किल भएकाबेला यति धेरै पैसा तिरेर छोरी कसरी पढाउनु?’
‘केही सहयोग पाइन्छ कि भनेर धाएको धायै छु। म मात्र होइन, अरु पनि छन्। आज होला, भोलि होला भन्यो, कहिले—कहिले,’ उनले भनिन्, ‘यस्तै हो भने हामी अगाडि कसरी बढ्ने? छोराछोरीलाई कसरी पढाउने? कति कुर्ने उनीहरूलाई नयाँ जीवन दिन?’