काठमाडौं, किलागलमा आज देवी नाच छ। सात देवदेवी बेलुकी यहाँको डबलीमा आउनेछन्। ती हुन्– भैरव, चण्डी, कुमारी, दैत्य, कवं (कंकाल), बेताः (बेताल) र ख्याः (ख्याक)।
देवी नाचको विशेषता के भने, यसले छोरीहरूको साहसको कथा भन्छ।
पौराणिक कालमा दैत्यहरू बलिया हुन्थे। मान्छे र देवतालाई दुःख दिन्थे। एकचोटि दैत्य र भैरवको घमासान युद्ध भयो। भैरव हारे।
भैरव हारेपछि युद्धमा अघि सर्छिन् कुमारी।
उनी आफ्ना सहयोगी कंकाल र भैरवका बहान बेताल लिएर मैदानमा आउँछिन्। घमासान लडाइँ हुन्छ। दैत्य ढल्छ। तै कुमारीको रिस मर्दैन। उनी दैत्यलाई मार्न खोज्छिन्। कंकाल र बेताल कुमारीको रिस शान्त पार्न आउँछन्।
बल्लतल्ल कुमारीलाई थामथुम पार्छन्।
पराजित दैत्य मैदानबाट कुलेलाम ठोक्छन्।
दैत्यमाथि कुमारीले विजय पाएको यही पौराणिक कथा छ, देवी नाचमा। जसलाई स्थानीय नेवारी भाषामा ‘दी प्याखंः’ भनिन्छ।
यो नाच अर्को साताबाट सुरु हुने काठमाडौंको ठूलो पर्व येँया पुन्ही (इन्द्रजात्रा) को एउटा मुख्य अंग हो।
हनुमानढोका दरबार अगाडि ‘यः सिं’ (लिंगो) ठड्याएपछि बल्ल येँया पुन्ही सुरु भएको मानिन्छ। यसको निम्ति भक्तपुर, नालाबाट रूख काटेर ल्याइँदैछ। काठमाडौं भने अहिल्यै पर्वमय भइसक्यो। देवी नाच त्यसैको संकेत हो।
बिहीबार चर्तुथीको दिन बिहान किलागलमा पूजा थियो। देवी नाचमा देवी बन्नेहरूले नाट्यश्वरको पूजा गरे। आर्शिवाद थापे। भगवान पुकार्दै भजन गाए। यही समूहले बेलुकी किलागलकै बिज्यापु चोकको डबलीमा देवी नाच देखाउने छन्।
‘दी प्याखंः’ मा सात जना पात्र छन्।
कुन पात्र को बन्ने पहिल्यै तय हुन्छ। बेताल, कंकाल र ख्याक साना पात्र हुन्। यिनको नाचमा साना केटाकेटी नै राखिन्छ। त्यही भएर नाच्नेहरू परिवर्तन भइरहन्छ।
यसपालि १३ वर्षीय न्हूज: डंगोल बेताल बनेका छन्। बाह्र वर्षीय रेयाज महर्जन कंकाल। त्यस्तै, १२ वर्षीय रेजल महर्जन ख्याकका रूपमा देखिनेछन्। यी तीनै जनाले पहिलोपटक देवी नाचमा भाग लिन लागेका हुन्।
बाँकी चार पात्र भने ४०–५० वर्ष उमेरका छन्। तीमध्ये भैरव बनेका बद्री डंगोलले यसअघि २६ चोटि यो भूमिका निर्वाह गरिसके।
‘काठमाडौंको ठूलो चाड इन्द्रजात्रामा यसपालि २७ औं पटक दी प्याखंः गर्न पाउनु मेरो भाग्य हो,’ बद्रीले भने।
भैरवपत्नी चण्डी, उनीहरूकी छोरी कुमारी र दैत्यको भूमिकामा पनि पाका व्यक्ति नै रहन्छन्।
येँया पुन्हीमा अरू पनि थुप्रै नाच देखाइन्छ। कुमारी रथयात्रा क्रममा लाखे, पुलुकिसीलगायत विभिन्न नाच हामी देख्छौं। भक्तपुरदेखि ल्याइने महाकाली नाच पनि छ। देवी नाच भने निश्चित स्थानका डबलीमा मात्र देखाइन्छ।
देवी नाच देखाइने सात डबली छन्। दी प्याखंः सञ्चालन समितिका सदस्य नरेन्द्र महर्जनका अनुसार यो नाचमा सातको संयोग हुन्छ। सात देवदेवी, सात डबली, सात नाइके, सात बाजा र सात ताल। नाचको समय पनि सातै घन्टा हुन्छ।
किलागलको बिज्यापु डबलीमा चौथीदेखि सप्तमीसम्म नाच चल्छ। यी दिनमा भने सातै घन्टा देखाउनु पर्दैन। तर, चर्तुथीदेखि सप्तमीसम्मा सात घन्टा पूरा गर्नुपर्छ। यी दिनमा नाच्दा मुकुट र निर्धारित पोसाक लगाउनु पर्दैन। फेटा बाँधी मुकुन्डो मात्रै लगाइन्छ।
त्यसपछि भने तासा (सुनचाँदी जडित) को लुगा र मुकुट लगाउनुपर्छ। मुकुटमा ककचा स्वां (कागियोजस्तो फूल) र पंखा स्वां (बासनादार फूल) राखेर नाचिन्छ।
अष्टमीको दिन देवी नाचलाई सार्वजनिक प्रदर्शनमा लगिन्छ। यो दिन किलागलको मुख्य डबलीमा नाच देखाइन्छ।
द्वादशीको दिन हनुमानढोकामा लिंगो ठड्याएर आधिकारिक रूपमा इन्द्रजात्रा सुरु भएपछि कागेश्वरी नजिकैको डबलीमा देखाइन्छ। हाल यो डबली मासिएकाले सडकमै देखाउनुपर्छ।
त्यसपछि कुमारी रथयात्राको पहिलो दिन जैसीदेवल (न्हूघः) डबलीमा नाच देखाइन्छ। दोस्रो दिन बांगेमुढा र इन्द्रचोक डबलीमा देखाइन्छ। इन्द्रचोक डबली पनि सडक अतिक्रमणले मासिइसक्यो। खुला सडकमा नाच्नुपर्ने बाध्यता रहेको महर्जनले बताए।
उनका अनुसार जात्राको अन्तिम दिन किलागलको डबली नाच देखाएर दी प्याखंः विसर्जन हुन्छ।
यी पाँच डबलीका अतिरिक्त बाँकी दुईवटामा पनि नाच प्रदर्शन गरिन्छ। ती हुन्– वसन्तपुरको महादेव–पार्वती मन्दिर अगाडिको डबली र कालभैरव मन्दिर अगाडिको डबली।
महादेव–पार्वतीको मन्दिरअगाडि डबलीमा कुमारी रथले परिक्रमा गरेको छैन भने मात्र नाचिन्छ। कालभैरवमा भने त्यहाँबाट फर्किंदा नाच्ने गरिन्छ।
‘यी दुई डबलीमा नियमपूर्वक नाच देखाइन्न,’ महर्जनले भने, ‘अरूमा भने विधिपूर्वकै देखाउनुपर्छ।’
डबलीमै देखाउनुपर्ने यस्ता परम्परागत नृत्य डबली विनाशले प्रभावित हुँदै गएको महर्जन बताउँछन्। ‘बाटो हिँड्ने कसैलाई थुनछेक नगरी डबलीमा प्रदर्शन गर्नुपर्ने नाच हो,’ उनले भने, ‘हाम्रा डबलीहरू सडक अतिक्रमणमा पर्दै गएकाले विकल्प रहेन।’
नाचको आफ्नै महत्व भएकाले जहाँ पायो त्यहाँ देखाउन नहुने मान्यता छ। यस्तो परम्परागत नाच जीवित राख्न काठमाडौंका डबली पनि जोगाउनुपर्नेमा उनले जोड दिए।
नाचको अर्को विशेषता हो, सात बाजा। यसमा धा, न्याखी, दःगः, खी, डमरु, म्वाय्लि र पोंगा पर्छन्। यिनमा सातथरी ताल, गीत, राग र चचा (चर्या) हुन्छन्।
‘दी प्याखंः हेर्ने र गीत सुन्ने व्यक्ति निरोगी हुन्छ भन्ने मान्यता छ,’ महर्जनले भने, ‘देशमा शान्ति सुरक्षा कायम गर्न पनि नाचले महत्वपूर्ण भूमिका खेल्छ।’
यति महत्वको नाच कहिले सुरु भयो भन्ने लिखित र आधिकारिक अभिलेख छैन। यसमा गाइने भैरव देवताको चचा (चर्या) गीतले भने गुणकामदेव राजाकै पालामा सुरु भएको जनाउँछ।
गीतमा भनिएको छ–
‘नेपालया भुवन पति
श्री गुणकर राजा
जुगांजुग जिवय् भुक्तिमुक्ति’
यहाँ गुणकर राजाले गुणकामदेव बुझाउने महर्जन बताउँछन्। यिनै राजाले काठमाडौंलाई ‘कान्तिपुर’ नामाकरण गरेका थिए। उनैले काठमाडौंको चारैतिर अष्टमातृका गणलाई उपत्यकाको संरक्षिकाका रुपमा स्थापना गरेका थिए।