असोज ५ गते बिहान ८ बजेर ५ मिनेटको साइत छ। त्यो घडीमा हनुमानढोका दरबारअगाडि ‘यः सिं’ (लिंगो) ठड्याएपछि साताव्यापी काठमाडौं उत्सव येँया पुन्ही (इन्द्रजात्रा) सुरु हुनेछ।
येँया पुन्हीका धेरै विशेषतामध्ये कुमारी रथयात्रा एक हो। बालिकालाई शक्तिस्रोत मान्दै देवीका रूपमा स्थापना गर्नु काठमाडौंको मौलिक परम्परा हो। संसारले कुमारीलाई ‘जीवित देवी’ मान्दै आएको छ।
तीन सय वर्षभन्दा पुरानो इतिहास बोकेको येँया पुन्हीमा चार वर्षकी 'जीवित देवी' तृष्णा शाक्यको यो पहिलो रथयात्रा हो।
कुमारी मतिना शाक्य १२ वर्ष पुगेकाले गत वर्ष महाअष्टमीका दिन तृष्णा नयाँ कुमारी भएकी थिइन्।
यिनै जीवित देवी कुमारी तृष्णाले पहिलो इन्दजात्रामा के के गर्छिन्? हामीले वसन्तपुरस्थित कुमारी घरका प्रतिनिधि गौतम शाक्यसँग यसबारे कुरा गर्यौं।
इन्द्रजात्रामा लाखे नाच, पुलुकिसी नाच र अरू विभिन्न देवी नाच हुन्छ। असोज ८ गते कुमारीसँगै गणेश र भैरवको रथयात्रा गरिन्छ।
भित्री काठमाडौंमा तीनवटा टोल छन्। तल्लो टोल (कोहने), माथिल्लो टोल (ठनेचा) र बीचको टोल (नानिचा) गरी तीन दिन रथ तानिन्छ। पहिलो दिन तल्लो टोल (कोहने) बाट रथयात्रा सुरु हुन्छ। यो भनेको मरु टोलबाट जैसीदेवल, ब्रह्मटोल, लगन टोल, कोहिटी हुँदै मरुबाट वसन्तपुरै ल्याइन्छ।
‘त्यस दिन राष्ट्रपति र संवैधानिक अंगका व्यक्तिहरुले कुमारीको दर्शन गर्नुहुनेछ। राष्ट्रपतिले पूजाआजा गरी भेटी चढाउनुहुन्छ,’ शाक्यले भने।
उनका अनुसार कुमारीलाई मूल ढोकानजिकै रहेको अर्को ढोकाबाट बोकेर निकालिन्छ। र, रथमा राखिन्छ। त्यसपछि रथयात्रा सुरु हुन्छ। यस क्रममा बीचबीचमा रोकेर कुमारीको पूजाआजा गरिन्छ। बाजागाजा बजाइन्छ। हर्षउल्लास हुन्छ। तीनै दिन कुमारीबाट भक्तजनलाई दर्शन दिइन्छ।
करिब पाँच घन्टाजति रथयात्रा भएपछि कुमारीलाई मूल ढोकाबाट भित्र्याइन्छ। लसकुस पूजा गरिन्छ। यो पूजा कुमारी घरबाट बाहिर निस्किएपछि मंगलमय शुभकामना भन्दै गरिने परम्परा हो।
दोस्रो दिन वसन्तपुरबाट प्याफल, नरदेवी, असन, इन्द्रचोक हुँदै वसन्तपुरमै ल्याइन्छ। शाक्यका अनुसार अघिल्लो दिन जुन गतिविधि भएका थिए दोस्रो दिन पनि त्यस्तै हुन्छ। रथयात्राको बाटो मात्र फरक।
त्यसपछि दुई दिन विश्राम हुन्छ। अनि १२ गते अन्तिम रथयात्रा हुन्छ। यो पहिलेभन्दा छोटो हुन्छ। अन्तिम दिन वसन्तपुरबाट सुरु भएर नरदेवी, भेडासिं, इन्द्रचोक, हनुमानढोका भएर वसन्तपुर नै ल्याइन्छ। जात्रा सकिएपछि गणेश, भैरव र कुमारी तीनै जनालाई कुमारी घर ल्याइन्छ।
'त्यस दिन पनि राष्ट्रपति आउनुहुन्छ। तीनै जनाको हातबाट टीका ग्रहण हुन्छ। राति साढे १० बजे लिंगो ढाल्ने काम हुन्छ। अनि इन्द्रजात्रा समापन हुन्छ,' शाक्यले भने।
कुमारीलाई यसरी रथयात्रा गराउनुको कारण के?
‘सक्नेहरू कुमारी घरमै आएर दर्शन गर्छन्। तर जो कुमारी घरसम्म आउन सक्दैनन् उनीहरूलाई दर्शन दिन कुमारी रथयात्रा गरिएको हो। कुमारी माता आफैं रथमा सवारी हुनाले वृद्धा, अशक्त लगायतले पनि उहाँको दर्शन पाउँछन्। यसअघि खटजात्रा गरिन्थ्यो भन्ने किम्बदन्ती छ,’ शाक्यले कारण खुलाउँदै भने।
यो पूजामा पूर्व कुमारीलाई पनि निमन्त्रणा दिइन्छ। इच्छा र फुर्सद भए सबै कुमारी आउँछन्।
‘सबै पूजाआजामा हामी देवीहरूलाई निमन्त्रणा पठाउँछौं,’ उनले भने, ‘उहाँहरूको समय मिले आउनुहुन्छ। अनिवार्य हुँदैन। इन्द्रजात्रामा पनि फुर्सद मिल्ने देवीहरू आउनुहुन्छ।’
तृष्णा ५०औं कुमारी हुन्। तीन सय वर्षको इतिहास बोकेको भए पनि ९० सालबाट मात्र कुमारीको तथ्यांक राख्न थालिएको कुमारी संस्कृतिविद् दुर्गा शाक्य बताउँछिन्।
उनका अनुसार अन्न र जलका देवता रातो मच्छिन्द्रनाथको नेपाल (काठमाडौं) प्रवेशसँगै कुमारी प्रतिस्थापन गर्ने परम्परा बसेको हो। मच्छिन्द्रनाथलाई काठमाडौं ल्याउँदा कोदुवाल दह आइपुगेपछि उनले भनेछन्, ‘कुमारी प्रतिस्थापन नभएसम्म म बुङमती प्रवेश गर्दिनँ।’
त्यसपछि तान्त्रिक बन्धुदत्त बज्राचार्यले आफ्नै छोरीलाई बुङमतीमा कुमारीका रूपमा प्रतिस्थापन गरेको किम्बदन्ती छ।
बुङमतीमा आजभन्दा १४४० वर्षअघि नै कुमारी परम्परा बसेको दुर्गाले आफ्नो पुस्तक ‘हाम्रो संस्कृतिमा देवी तुलजा र कुमारीको स्थान’ मा लेखेकी छन्। उनले कलिगत सम्बत ३६७६ मा रातो मच्छिन्द्रनाथको काठमाडौं प्रवेश भएको किताबमा उल्लेख गरेकी छन्। अहिले कलिगत सम्बत ५११६ हो।
यसैअनुसार लिच्छवि राजा गुणकामदेवले कन्या केटीलाई कुमारी बनाई पूजा गर्ने परम्परा बसाएको दुर्गाको किताबमा छ।
मल्लकालमा काठमाडौं, पाटन र भक्तपुर तीनै राज्यमा दरबारको राजकीय कुमारी र टोलटोलमा स्थानीय कुमारी थापना गरी नित्य पूजा गर्ने परम्परा सुरु भएको पाइन्छ।
काठमाडौं उपत्यकामा तान्त्रिक पद्धतिअनुसार विधिवत थापना गरिनेमध्ये वसन्तपुरको ‘राजकीय’ कुमारी ‘जीवित देवी’ का रूपमा विश्वप्रसिद्ध छ। यसअतिरिक्त नित्य पूजा हुने कुमारीमा मूबहाः, क्वाबहाः, तानाबहाः, किलागः, चाबहिल, टोखा, हःबहाः, सोनिम्ह, एकान्त, वने लाय्कू, टिबुक्छेँ, बुङमती र त्रिशूली कुमारी छन्।
वसन्तपुरको घरमा प्रतिस्थापित कुमारीलाई इष्टदेवी तुलजा भवानीको प्रतीकसमेत मानिँदै आएको छ।
यससँग सम्बन्धित अर्को किम्बदन्ती पनि दुर्गाले उल्लेख गरेकी छन्।
बिक्रम सम्बत् १३८१ मा सिमरावनगढका राजा हरिसिंहदेव तुलजा भवानीसहित नेपाल (हाल काठमाडौं उपत्यका) आएका थिए। त्यसै बेला हरिसिंहदेवकी रानी देवलदेवीले भादगाउँको दरबारमा तुलजा भवानी स्थापना गरेकी थिइन्। त्यसपछि मल्ल राजाहरूले तुलजा भवानीलाई इष्टदेवीका रूपमा मान्न थाले।
मल्ल राजाहरूसँग एक प्रकारको तान्त्रिक यन्त्र थियो। त्यसको शक्तिद्वारा उनीहरू तुलजा भवानीसँग प्रत्यक्ष वार्ता गर्थे रे। राजकाजसम्बन्धी सरसल्लाह लिन्थे रे। र, समयसमयमा पासासमेत खेल्थे रे।
एकदिन राजा त्रैलोक्य मल्लकी छोरी गंगादेवीले तान्त्रिक यन्त्र खोलेर हेरिछन्। त्यो यन्त्र कुनै स्त्रीले हेर्न हुँदैनथ्यो रे। तुलजा भवानीले रिसाएर राजालाई भनिछन्, ‘अबदेखि तिमीहरूले मेरो प्रत्यक्ष दर्शन पाउने छैनौ। बरु म कुमारीका रूपमा आई तिमीहरूलाई आवश्यक सल्लाह दिनेछु।’
तुलजा भवानीले आदेश दिइछन्, ‘शाक्य कूलकी कन्यालाई कुमारी बनाउनू।’
पछि कान्तिपुरका अन्तिम मल्लराजा जयप्रकाशलाई एक रात सपनामा कुमारीबाट आज्ञा भयो रे, ‘तिम्रो राज्यभोग समय समाप्त हुन लाग्यो, आफ्नो राज्य अवधि बढाउने इच्छा भए मेरो लागि स्थायी बासस्थान बनाइदिनू र रथयात्रा चलाउनू। यति गरे तिम्रो राज्यभोग १२ वर्ष बढ्नेछ।’
जयप्रकाश मल्लले सपनामा पाएको त्यही आदेशअनुसार विसं १८१३ फागुनमा कुमारीघरको जग हालेको भनाइ छ। यसको निर्माण ६ महिनापछि १८१४ भदौमा पूरा भएको थियो।
उनले त्यसै वर्षबाट कुमारी, गणेश र भैरव रथयात्रा सुरु गराए। कुमारीघर व्यवस्थापन र कुमारीको रेखदेख निम्ति चिताइदारको व्यवस्थासमेत गरे। यसैको प्रभावले जयप्रकाशको राज्यकाल १२ वर्ष थपियो भन्ने भनाइ छ।
‘बालबालिकाको हृदय पवित्र हुन्छ। छल, कपट, राग, द्वेषको भावना हुँदैन। त्यसैले, तुलजा भवानीले कुमारीको रूप धारण गरेकी हुन्। र, शाक्य कूलकी कन्यालाई कुमारी बनाएर तुलजा भवानीको प्रतीकका रूपमा पूजा गर्ने चलन चल्दै आएको हो,’ दुर्गाको भनाइ छ।
कुमारी देवीसँग काठमाडौंका धेरै जात्रा र पर्व जोडिएका छन्। इन्द्रजात्रा, घोडेजात्रा, मच्छिन्द्रनाथ जात्रा लगायत गरी वसन्तपुरकी कुमारीलाई वर्षमा १३ पटक कुमारीघरबाट बाहिर निकालिन्छ। अन्य नेवारी चाडपर्वमा पनि उनको रथयात्रा हुन्छ।
कुमारीले रथयात्रा तथा अन्य अवसरमा पहिरिने आभूषण पनि विशिष्ट हुन्छन्। यसमा रातो र सक्कली तासको चौबन्दी चौलो र जामा, शिरमा जालीदार रातो धागो, मौलिक र कलात्मक तायो, त्रिकोण आकारको साधारण र नवरत्नजडित मुकुट, तुलसी पत्ता लच्किएको सिंगुली माला (नरमुण्ड मला) प्रमुख छन्। जन्त्रका माला, घुंघुरु, बाला, चुरा, जभि, नागमाला र बेरुवा औंठी पनि लगाइन्छ।