पूर्वको धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाममा पहिलो पटक विद्युत विस्तार भएको छ। संघीय सरकारको उर्जा मन्त्रालयबाट बिनियोजित २७ लाख रुपैयाँको लागतमा विद्युत सेवा विस्तार भएको हो।
आइतबार संघीय सांसद एलपी साँवा लिम्बू, प्रदेश सांसद झलकसिंह दर्लामी मगर, शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले विद्युतको स्वीच थिचेर उद्घाटन गरे।
झिलझिले उत्तरको डाडागाँउबाट करिब पाँच किलोमिटर सडक किनारमा केवल तारमार्फत सताक्षीधाम मा विद्युत पुर्याइएको नेपाल विद्युत प्राधिकरण दमक शाखाले जनाएको छ।
यसअघि सताक्षीधाममा सोलार बत्ती जडान गरिएको थियो। तर, चारैतिर चुरे पहाडका रुखले सताक्षीधामलाई छोपेका कारण सोलार बत्ती बल्न सकेको थिएन। सताक्षीधाममा विस्तार भएको बिजुलीको २५ केभीको छ।
विद्युत प्राविधिकका अनुसार बिजुली विस्तार भए पनि भोल्टेज नहुने समस्या हुन्छ। ट्रान्सफर्मरबाट बढीमा डेढ किलोमिटर दुरीमा मात्र विद्युतमा भोल्टेजको समस्या हुदैन। धाममा चार किलोमिटर टाढाबाट बिजुली विस्तार गरिएको छ।
सताक्षीधाममा विद्युत सेवा विस्तार भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवगमनमा बृद्धि हुने सताक्षीधाम मन्दिर विकास समितिले जनाएको छ।
सन् २०११ मा नेपाल सरकारले झापाको सताक्षीधामलाई पर्यटनस्थलको रुपमा सूचीकृत गरेको थियो। पर्यटन वर्षको उद्घाटन कार्यक्रममा सताक्षीधाममा चाँडै बिजुली बल्ने घोषणा गरिएको थियो। सात वर्षपछि सताक्षीधाममा बिजुली बल्दा शिवसताक्षी नगरका बासिन्दा दंग छन्।