झापा मेचीनगर नगरपालिका नगरपालिका–६ काकडभिट्टाका विकास देवकोटा पत्रिका बेच्थे। २०६३ सालमा उनी जन–संसद् दैनिक पत्रिकाका वितरक थिए। साइकल लिएर उनी ग्राहकको घरमा पत्रिका पुर्याउँथे।
पत्रिकाको मूल्य २ रुपैयाँ थियो। १५० संख्याको पत्रिका वितरण गरेबापत त्यतिनै मूल्य पाउँथे। आधा रकम पत्रिकाको कार्यालयमा बुझाउनुपर्थ्यो।
विकासको लगनशीलता देखेर पत्रिकाका तत्कालीन सम्पादक मोहन काजीले उनलाई वितरकबाट बजार व्यवस्थापकमा नियुक्ति गरे। उनी त्यतिबेला ८ हजार तलबमा काम गर्थे।
८ हजार रुपैयाँले परिवारको व्ययभार थेग्न सक्दैनथ्यो। उनले २०६५ सालमा जागिर छोडे। २०७३ सालबाट मेचीनगर–६ काँकडभिट्टामा पाथीभरा प्रिन्टिङ प्रेस आफ्नै लगानीमा खोले।
जन–संसदमा काम गर्दा उनले प्रेस चलाउन पनि अलिअलि सिकिसकेका थिए। हातमा भएको थोरबहुत सिपका कारण पनि उनी प्रेस सञ्चालन गर्न प्रोत्साहित भएका थिए।
काँकडभिट्टाको सब्जी बजारमा प्रेस सञ्चालन गर्दै आएका देवकोटाले मेचीनगरमै पहिलोपटक २०७३ सालमा १७ लाखको लगानीमा डिजिटल प्रविधिको अत्याधुनिक फ्ल्याक्स अफसेट मेसिन भित्र्याएका छन्।
‘साथीभाइ र आफन्तबाट ऋण खोजेर अफसेट प्रेस ल्याएको थिएँ,’ उनले भने। त्यतिबेला १७ लाख लगानी भएको उनको प्रेसमा अहिले २५ लाख लगानी पुगिसकेको छ। ‘ऋण तिरेर बचेको आम्दानी प्रेसमै लगानी गरिरहेको छु,’ उनले भने।
रोजगार खोज्दै विदेश जाने तथा जान तत्पर युवाहरूलाई स्वदेशमा नै काम गरेर जीविकोपार्जन गर्न सकिन्छ भन्ने उदाहरण उनले दिएका छन्। उनले आफ्नो प्रेसमा छ जना युवालाई रोजगार दिएका छन्।
प्रेसमा डिजाइन, अफसेट प्रिन्ट, डिजिटल प्रिन्ट, मल्टी कलर प्रिन्ट, फ्लेक्स प्रिन्ट, होडिङ बोर्ड, स्ट्याम्प, कप प्रिन्ट, भेष्ट प्रिन्ट, विवाह कार्ड, परिचय पत्र, बिल भर्पाइ छपाई सम्बन्धी विभिन्न काम हुन्छन्। छिमेकी मुलुक भारतको पानीट्यांकी, नक्सलबाडी, बतासी आसपास तथा छिमेकी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, मोरङबाट पनि सेवाग्राही आउने गरेको उनले बताए।
प्रेसबाट वार्षिक करिब १५ लाख आम्दानी हुने गरेको उनले बताए। कर्मचारीको तलब भत्ता र कोठा भाडामा १० लाख बराबर खर्च हुन्छ। ‘वर्षको पाँच लाखजति बच्छ,’ उनले भने।
‘पहिले श्रम अनुसारको आम्दानी नहुँदा विदेश जाने योजना बनाएको थिएँ,’ उनले भने, ‘आफ्नै देशमा सानो लगानीमा काम गर्दा सबैथोक पाएको छु,’ उनले भने।