वीरगञ्ज महानगरपालिकाले बाल उद्यान सञ्चालनमा ल्याएको छ ।
एसियाली विकास बैंकको सहयोगमा महानगरपालिकाले हरिखेतान क्याम्पस नजिकै निर्मित बाल उद्यानलाई वीरगञ्ज उद्यानको नामबाट सञ्चालनमा ल्याएको हो ।
शनिबार महानगर प्रमुख विजय कुमार सरावगीले उद्यानको उद्घाटन गरेका हुन्।
नगरको विभिन्न स्थानमा रहेको सार्वजनिक जग्गा र पोखरीको अतिक्रमण हटाएर हरियाली सहितको उद्यान बनाउने योजना रहेको नगर प्रमुख सरावगीले जानकारी दिए ।
एशियाली विकास बैंकले उद्यान निर्माण गर्न ४ करोड ५० लाख रुपैयाँ सहयोग गरेको हो।
माइराम पोखरीको अतिक्रमण हटाएर महानगरले १९ कठ्ठा क्षेत्रफलमा उद्यान निर्माण गरेको हो ।
यो पोखरी ४ विगाहा क्षेत्रफलमा फैलिएको भए पनि महानगरले लामो समयसम्म चासो नदेखाउँदा १४ कठ्ठामा सीमित हुन पुगेकोमा पार्क निर्माणका क्रममा आंशिकरूपमा अतिक्रमण हटाइएपछि थप ५ कठ्ठा क्षेत्रफल विस्तार हुन पुगेको हो।
उद्यानमा पानीको फोहोरा, खुला मञ्च, वनभोज स्थल, नृत्य स्थल, टेबल टेनिस कोर्ट, योग स्थलको साथै प्रभात फेरी गर्न सकिने सुविधा समेत उपलब्ध गरेको मझौला सहर एकीकृत वातावरणीय सुधार आयोजनाका अधिकृत शैलेन्द्र श्रेष्ठले जानकारी दिए।