पूर्वपश्चिम राजमार्गसँग जोडिने झापाको दूधे-शिवगञ्ज सडक स्थानीयले अनिश्चितकालका लागि बन्द गरेका छन्।
दुई वर्षमा कालोपत्रे हुनुपर्ने गरी सुरू गरिएको सो सडक ५ वर्षमा पनि निर्माण सम्पन्न हुन नसकेको भन्दै स्थानीय दूधे बजारवासीले सो सडक बन्द गरेका हुन्।
दूधे बजार क्षेत्रको सो सडकमा ३ ठाँउ बास तेस्र्याएर स्थानियवासीले बन्द गरेका दूधे बजार विकास समितिका अध्यक्ष गणेश खरेलले जानकारी दिए ।
सो सडक बन्द भएपछि दूधेबाट दक्षिण गाँउतिर जाने सबै यातायात साधनका यात्रु प्रभावित भएका छन्। यातायात बन्दले दसैं मानेर कार्यक्षेत्र फर्किने अधिकांश सर्वसाधारण मारमा परेका छन्। व्यवसायीले दूधे बजारको पूर्व र पश्चिम क्षेत्रको गल्लीबाट यातायात सञ्चालन गरिरहेका छन्।
काठमाडौंको निलगिरी कन्स्ट्रक्सनले दूधे शिवगञ्ज सडकको ११ किलो मिटर खण्ड ५ वर्षमा पनि कालोपत्रे गर्न नसकेको स्थानियवासीले बताए। तत्कालीन र्याप थ्री ले निलगिरी कन्स्ट्रक्सन कम्पनीलाई ०७२ सालको साउनमै निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाएको थियो। सो कन्स्ट्रक्सनले दूधे बजारको ५ सय मिटर, चन्द्रडाँगीको ४ सय मिटर र शिवगञ्ज बजारको ३ सय मिटर सडकमा कालापत्रे नगरी त्यतिकै छोडिदिएको छ।
कालोपत्रे हुनबाँकी रहेको दूधे, शिवगञ्ज र चन्द्रडाँगी बजार क्षेत्र हो। बजार क्षेत्रका घर र पसलमा सो सडकको धूलोले मानव स्वास्थ्यमा गम्भीर असर परेको भन्दै स्थानीयले बिहानैदेखि यातायात ठप्प पारेको स्थानीय व्यवसायी शिव भट्टराईले बताए।
निर्माण कम्पनीले सडक कालोपत्रे कार्य सुरू गरेपछि मात्र सडकमा तेस्र्याइएको बास हटाइदिने बताए।