निमार्ण व्यवसायी शरद गौचनको हत्याका मुख्य योजनाकार 'गुन्डानाइके' समिरमान बस्नेतका मुख्य सहयोगी पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले झापा विर्तामोडका लोप्साङ भन्ने सोम तामाङ, काठमाडौं नागार्जुनका रोशन बुढाथोकी र उदयपुरका अम्बरबहादुर रानालाई पक्राउ गरेको हो। राना नेपाली सेनाका भगौडा हुन् ।
उनले २०७२ मा कालिध्वज गणमा कार्यरत रहदाँ भागेका थिए। पछि समिरमान बस्नेतको समूहमा मिसिएका थिए।
पक्राउ परेका ३ जना बस्नेतका मुख्य सहयोगी रहेको एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। सेनाबाट भागेका र हतियारबारे राम्रोसँग जानकार रहेका राना मुख्य सुटर रहेको प्रहरीले बताएको छ।
बस्नेत भने हाल कारागारमा छन् । उनीहरुले २०७४ साल असोज २३ गते काठमाडौंको शान्तिनगरमा गौचनको हत्या गरेका थिए ।
उनीहरुले नै बुटवलमा २०७३ साल पुस ४ गते दुर्गा तिवारीको पनि गोली हानी हत्या गरेको एसएसपी सिंहले बताए।
गुन्डानाइके दाबा लामामाथि गौरीघाटमा २०७३ साल चैत २९ गते गोली हानी घाइते बनाएको पनि उनीहरुले स्वीकार गरेको उनले बताए।
पछिल्लो समय कारागारमा रहेका बस्नेतसँग उनीहरुको सम्पर्क भइरहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।
चाडबाडका बेला ब्यापारीहरुलाई फोन गरेर फिरौती माग्न थालेको सुचना पाएपछि प्रहरीले उनीहरुमाथि कडा निगरानी गरेको थियो। निगरानीका क्रममा झापाको काँकडभिट्टबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।