भारतीय भूमी किसनगंजको सिङ्गगीमारीमा एक नेपालीको शव फेला परेको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान माईखोला बगरको काँसघारीमा नेपालीको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगंज गाउँपालिका वार्ड नं २ कोरोवारी बस्ने ५५ वर्षीय अलकचन राजवंशीको हत्या भएको अवस्थामा शव फेला परेको हो।
पाँच दिनदेखि परिवारको सम्पर्कमा नरहेका राजवंशीको शव दशगजादेखि ५ सय मिटर दक्षिणमा पर्छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद भट्टराईले भारतीय प्रहरी र नेपाल प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको बताए।
शव फेला परेको स्थानदेखि ५० मिटर दक्षिणमा राजवंशीले लगाउने घडी फेला परेको प्रहरीले जानकारी दिएको छ।
स्थानीय पत्रकार आत्माराम राजवंशीले सेतोपाटीलाई दिएको जानकारी अनुसार मडारिएको काँसघारीमा रगत लत्पतिएको अवस्थामा उनको शव फेला परेको हो। ‘घटनाको प्रकृति हेर्दा राजवंशीको हत्या भएको हुनसक्छ,’ उनले भने।
राजवंशीको शव सडिएको अवस्थामा फेला परेको भएकाले बेपत्ता भएकै दिन राजवंशीको हत्या भएको हुनसक्ने भारतीय प्रहरीलाई उद्धृत गर्दे गौरीगञ्ज गाउँपालिका १ का वडाध्यक्ष क्रान्तिलाल राजवंशीले जानकारी दिए। ‘शव पुरै गन्हाएको र माटोले पुरीएका अवस्थामा फेला परेकाले शवको प्रकृति थाहा पाउन सकिने अवस्थामा छैन,’ उनले सेतोपाटीसँग भने।
भारतको किसनगंजस्थित खरखरिया बस्ने दिना नामका एक व्यक्तिले ५ दिनअघि (सोमबार) धामी झाक्रीको काम गर्ने मृतक राजवंशीलाई झारफुकका लागि बोलाएर लगेको उनका छोरा उदयलाल राजवंशीले जानकारी दिए।
उनका अनुसार त्यसै दिनदेखि राजवंशी परिवार र आफन्तसँग बेखबर थिए। दिना भारतीय नागरिक हुन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ढकालले राजवंशीको हत्या कसले र किन गर्यो भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरू गरेको बताए। ‘भारतीय भूमी भएकाले अनुसन्धानमा केही समस्या छ, यद्धपी भारतीय प्रहरीले यसको गहिरो अनुसन्धान शुरू गरिसकेको छ।’
‘बुबा वेखवर भएपछि हामीले गएको सोमबार साँझदेखि खोजी कार्य शुरु गरेका थियौ,’ उनका छोरा उदयलालले भने, ‘आज बिहान मात्र उहाँको हत्या गरेर माटोमा गाडिएको अवस्थामा शव फेला पर्यो।’