बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न दबाब दिँदै आइतबारदेखि पीडित परिवारले अनिश्चित्कालीन धर्ना दिन सुरू गरेका छन्।
निर्मलाका बुवा यज्ञराज, आमा दुर्गालगायत परिवारका सदस्यहरूले न्यायका लागि सरकारलाई दबाबा दिन महेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालयको मूलगेटमा धर्ना दिन सुरू गरेका हुन्।
सरकारलाई न्याय दिन बाध्य पार्न थप दबाब दिन अनिश्चितकालीन धर्ना दिन सुरू गरिएको निर्मलाका बुवा यज्ञराज पन्तले जानकारी दिए।
धर्ना दिनुअघि निर्मलाको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै अधिकारकर्मीहरूसहितको र्याली निकालिएको थियो। सरकारले न्याय दिन्छ भन्ने विश्वास नरहेपछि नागरिक समाज र संचारकर्मीहरूकै उपस्थितिमा थप दबाब दिन धर्ना अभियान सुरू गरिएको पनि यज्ञराजले बताए।
नागरिक समाज र संचारकर्मीहरूको पहलमा भने निर्मलाले न्याय पाउने पीडित परिवारको विश्वास छ।
पीडित परिवारले निर्मलाले न्याय नपाए आमरण अनसन बस्ने चेतावनी पनि दिएका छन्। यज्ञराजले छोरीलाई बलात्कारपछि हत्या गर्ने अपराधीलाई पक्राउ गरी कारबाही नगरे आफूहरू आमरण अनसन बस्न बाध्य हुने चेतावनी पनि दिए।
उनले सरकारले अपराधीलाई पत्ता लगाउन नसकेको भन्दै आक्रोश पनि व्यक्त गरे।
धर्नामा निर्मलाका बुबाआमासँगै बहिनी सरस्वती, भाइ मोहित रहेका छन्। त्यसैगरी कान्छी आमा लक्ष्मी र आफन्तहरू पनि धर्नामा सहभागी भएका छन्। यस अघि निर्मलाका बुबा यज्ञराजले प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई भेट गरी धर्ना बस्ने कार्यक्रमबारे जानकारी गराएका थिए।
यज्ञराजले छोरीको हत्यारा पत्ता नलागे आफूहरू मर्न तयार हुने चेतावनी पनि दिए।
गत साउन १० गते साथीको घरमा गएकी निर्मलाको दोस्रो दिन बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो। सोही दिनदेखि हत्यारा पत्ता लगाउन माग गर्दै पीडित परिवार, आफन्तको साथमा देशभर आन्दोलन हुँदा पनि सरकारले अझै अपराधी पत्ता लगाउन सकेको छैन। त्यसक्रममा निर्मलाका बुबाआमा न्याय माग्दै काठमाडौं समेत आएका थिए।
प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापालाई भेटेरै आग्रह गर्दा पनि अझै आफूहरूले न्याय पाउन नसकेको निर्मलाका बुबा यज्ञराज र आमा दुर्गाको गुनासो छ। पीडित दुवैले छोरीले न्याय नपाए आफूहरू आत्महत्या गर्न तयार हुनेतर्फ पनि सरकारलाई सचेत गराउँदै आएका छन्।
निर्मलाको बलात्कार र हत्या कसले गर्यो भन्ने कुरा अझै रहस्यमय छ।
यो अवधिमा प्रहरीले स्थानीय दीलिपसिंह विष्टलाई दोषी बनाएर पक्राउ गरे पनि उनको डिएनए र निर्मलाको शवबाट लिइएको भेजाइनल स्वाबको डिएनए नमिलेपछि उनी रिहा भएका छन्।
गृह मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन समितिले घटनाको सुरूदेखि नै प्रहरीले प्रमाण नष्ट गरेको र अनुसन्धानमा लापरबाही गरेको रिपोर्ट दिएको छ। सोही रिपोर्टका आधारमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख रहेका एसपी दिल्लीराज बिष्टलाई सेवाबाट बर्खास्त गरिएको छ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ।