नेपाल प्रहरीमा ४ महिनादेखि १५ एसएसपी पद खाली छ। गएको असार महिनादेखि १५ एसएसपी पद खाली भएको हो।
नयाँ प्रहरी नियमावलीमा बढुवाका लागि ४ वर्ष एउटैपदमा हुनुपर्ने प्रावधान ल्याइएपछि ३१ जना एसपी बढुवाको पर्खाइमा रहेका हुन्।
बढुवाका लागि डाक्टर गणेश रेग्मी, श्यामलाल ज्ञवाली, सन्दीप भण्डारी, बसन्त कुबँर, रामदत्त जोशी, भरत बोहरा, मिरा चौधरी, किरण बज्राचार्य 'लाइन'मा छन् ।
त्यस्तै टेकप्रसाद राइ, रबिन्द्र केसी, पोषराज पोखरेल, नवराज भट्ट, उमेशराज जोशी, बुद्धिराज गुरुङ, नरेन्द्र उप्रेती, कुबेर कठायत, राजेन्द्र विष्ट, विष्णु केसी, विकाशराज खनाल लयायतका एसपी पनि बढुवा कुरेर बसेका छन् ।
'प्रहरी नियमावलीमा ४ वर्षे प्रावधान ठूलो कुरा होइन, 'बढुवा पर्खाइमा बसेका एक एसपीले भने, 'गृहले मन्त्रिपरिषदमा सो प्रस्ताव लगेर संशोधन गर्न सक्छ।'
'यस विषयमा तालुकदार मन्त्रालय गृह पनि जानकार रहेको छ,' बढुवाको पर्खाइमा रहेका अर्का एसपीले भने, 'यसरी पद रिक्त भएर पनि बढुवा हुन नपाउँदा बृत्तिविकासमा निकै असर पर्ने रहेछ।'
एसएसपी पद रिक्त भए पनि प्रहरी नियमावली अनुसार अहिले बढुवाको पर्खाइमा रहेका एसपीहरुको ४ वर्ष एउटै पदमा काम गरिरहेको पुग्ने समय आगामी फागुन १० गते हो ।
प्रहरी प्रधान कार्यालयले एसपी बढुवा लागि ४ वर्षे प्रावधान हटाउन नियमावली संशोधन गर्न गृहलाई जानकारी गराइसकेको छ। गृहबाट जवाफ आइनसकेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।