शुक्रबारदेखि सुरू हुने एसिया प्यासेफिक समिटमा आउने पाहुनालाई गाडीको व्यवस्था गर्न सरकारलाई हम्मेहम्मे भएको छ।
समिटमा आउने भिभिआइपी र भिआइपीका लागि गृह मन्त्रालयले सरकारका सचिव र विभाग प्रमुखको गाडी तानेको छ।
समिटमा आउने पाहुनाका लागि ४८ वटा गाडी मगाइएको गृह मन्त्रालयले जनाएको छ।
‘हामीसँग गाडी छैन’, गृह मन्त्रालयका सहसचिव महादेव पन्थले भने, ‘राष्ट्राध्यक्ष र मन्त्रीहरूका लागि गाडी मगाएको हो।’ गृहले मन्त्रीहरूलाई उपलब्ध गराएको १३ वटा सोनाटा कारसमेत भिआइपीलाई दिने भएको छ।
परराष्ट्र मन्त्रालयबाट ७, भूमि व्यवस्थाबाट ५ र अर्थ मन्त्रालयबाट ४ वटा गाडी गृहले तानेको हो।
पन्थले भिआइपीका लागि पुरानो गाडी दिन नमिल्ने भएका कारण सचिवहरूले प्रयोग गरेका कार समिटसम्मका लागि तानिएको बताए।
‘हामीले राष्ट्र प्रमुख, सरकार प्रमुख र मन्त्रीहरूलाई गाडी दिन्छौँ’, पन्थले भने, ‘व्यवस्थापन गरिरहेका छौं।’
सचिवहरू आफ्ना गाडी गृहलाई दिएर पुराना गाडीमा चढिरहेका छन्।
‘हामीले चढिरहेको गाडी गृह पठाइदिएका छौँ’, एक सचिवले सेतोपाटीसँग भने, ‘हामी पुराना गाडी चढ्छौँ।’
नेपाल प्रहरीले पनि उपत्यकामा भएका गाडी अपुग भएपछि अगुवापछुवाका लागि प्रदेशहरूबाट गाडी मगाएको छ।
‘यति धेरै भिआइपी आउँदा सुरक्षा दिन हामीसँग गाडी छैनन्, बाहिर जिल्लाबाट मगाउँछौं,’ प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने,‘ यसपालि पनि तीन दर्जनजति गाडी मगाएका छौं।’
गृहले गाडीहरू नेपाली सेनाको नारायणहिटीस्थित गणमा पठाएको छ। एसिया प्यासिफिक समिटमा ३ मुलुकका राष्ट्रपतिसहित ५ सय ६७ विदेशी पाहुना आउँदैछन्।
फिलिपिन्सकी उपराष्ट्रपति, म्यानमारकी विदेश मन्त्री पनि नेपाल आउँदैछिन्।
कम्बोडियाबाट प्रधानमन्त्री नेपाल आउनेछन्।
त्यस्तै रिपब्लिक अफ नाउरू, रिपब्लिक टुभालु र इन्डिपेन्डेन्टस् स्टेट अफ सामवाका राष्ट्रपतिहरू समिटमा सहभागी हुनेछन्।
विभिन्न मुलुकका पूर्वप्रधानमन्त्री र राष्ट्रपतिसमेत सम्मेलनमा सहभागी हुदैँछन्।