‘आइ जनकपुर नगरिया बजै चारु दिस बधैया, हँसी खुसीसँ भरिगेलै राजा जनकक दुअरिया, भेलै मिथिलाके भाग उदित बहिना, सुनैना हर्षे लुटबैत छथि अन धन गहना।’
रामजानकी विवाहपञ्चमी आउन तीन साता बाँकी छ। तै जनकपुरधाम वरपर भगवान रामजानकीका गीतहरू घन्किन थालिसकेको छ।
हरेक वर्ष मंसिर शुक्लपञ्चमी तिथिका दिन मनाइने विवाहपञ्चमीको तयारी एक महिनाअघिदेखि नै सुरू हुन्छ। नेपालका मात्र होइन, भारतदेखि पनि लाखौं पर्यटकको ओइरो लाग्छ।
प्रदेश दुईकै गौरव भएकाले रामजानकी महोत्सवको तयारीमा प्रदेश सरकार र स्थानीयका जोडतोडका साथ लागिपरेका छन्।
जानकी मन्दिरदेखि ऐतिहासिक रंगभूमि मैदानसम्म सरसफाइ र साजसज्जा काम सुरु भएको मन्दिरका छोटे महन्त रामरोशन वैष्णवले जानकारी दिए।
‘हाम्रो गौरव हो यो पर्व, भारतदेखि लाखौं पर्यटक आउँछन्,’ वैष्णवले भने, ‘पाहुना व्यवस्थापनमा कुनै कमी नहोस् भनेर काम थालेका छौं।’
विवापञ्चमीमा भारतको अयोध्याबाट साधुसन्तसहितको जन्ती जनकपुरधाम आउने चलन छ। जन्तीको लस्करमा यो वर्ष उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि हुनेछन्। साधुसन्तको नेतृत्व गर्दै उनी जन्तीमा सहभागी हुने भएपछि स्थानीयवासी थप उत्साहित छन्।
‘भारतको एक ठूलो राज्यको मुख्यमन्त्री यहाँ जन्तीको नेतृत्व गर्दै आउनु हाम्रो लागि गौरवको कुरा हो,’ वैष्णवले भने, ‘यसको अर्थ नेपाल–भारतको बेटीरोटी सम्बन्धलाई अझै सार्थकता प्रदान गर्नु हो।’
विगतका वर्षमा पर्यटकका लागि उचित आवास र भोजनको राम्रो व्यवस्था हुन नसक्दा जनकपुरधामले धेरैपटक आलोचना खेपेको छ। यस्ता सबै समस्या सल्टाएर महोत्सवलाई भव्य र व्यवस्थित बनाउन प्रदेश सरकार लागि परेको मुख्यमन्त्री लालबाबु राउतले कयौंपटक दाबी गरिसकेका छन्।
त्यसअनुसार नै सरकारले महोत्सवका लागि ५० लाख रुपैयाँ छुट्ट्याएको छ।
‘हामी महोत्सवको तयारीमा खटिरहेका छौं,’ प्रदेश दुईका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुश्वाहाले भने, ‘अझ मुख्यमन्त्री योगी आदित्यनाथ पनि आउने भए पछि सुरक्षा तयारी पनि जोडतोड भइरहेको छ।’
‘जसरी मिथिलाञ्चलमा छोरीको बिहेमा जन्तीलाई आदरसत्कार गर्ने परम्परा छ, त्यसरी नै अयोध्याबाट आउने जन्तीलाई पनि भव्य स्वागत–सत्कार गर्ने तयारी भइरहेको छ,’ मन्त्री कुश्वाहाले भने।
मुख्यमन्त्री योगीले जानकी मन्दिरमा पूजाआराधना गर्ने र रामजानकीको स्वयंभर कार्यक्रममा सहभागी हुने तय भएको छोटे महन्त वष्णैवले जानकारी दिए। स्वयंभर कार्यक्रममा योगीले छोटो मन्तव्य राख्ने कार्यक्रम पनि छ।
मुख्यमन्त्री योगी केन्द्र सरकारकै पहलमा विवाहपञ्चमीको अवसर पारेर नेपाल आउन लागेका हुन्। उनले जनकपुर–जयनगर रेलसेवा उद्घाटन गर्ने पनि बताइएको छ। तर हाल अनौपचारिक रुपमा मात्र तय भएको मन्त्री कुश्वाहाले जानकारी दिए।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आफैं गोरखनाथ मन्दिरका मुख्य महन्त हुन्। उनी आफैंले जनकपुर आउने इच्छा राखेको बताइँदै आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत वैशाखमा यहाँ आएपछि योगीलाई पनि इच्छा भएको हुनसक्ने मन्दिरका पूजारी बताउँछन्।
मोदी आएकाबेला जनकपुरधाम–अयोध्या बस सेवा सुरूआत भएको थियो। यसको नेतृत्व गर्दै आन्तरिक मामिला तथा कानून राज्यमन्त्री कुश्वाहा पनि अयोध्या पुगेका थिए। त्यहीबेला मुख्यमन्त्री योगीले आफ्नो जनकपुरधाम भ्रमणबारे कुराकानी गरेका मन्त्री कुश्वाहाले बताए। उनका अनुसार योगीले आफूलाई भव्य रामजानकी विवाहपञ्चमी हेर्ने कौतुहलता भएको बताएका थिए।
मुख्यमन्त्री योगीलाई कट्टर हिन्दुवादी नेताको रुपमा चिनिन्छ। त्यसैले उनी इस्लामिक चरमपन्थी संगठनहरूको निशानामा रहेको दावी भारतीय सञ्चारमाध्यमहरूले गर्दै आएका छन्।
यस्तो अवस्थामा उनको सुरक्षामा एकदमै गम्भीर भएका दावी प्रदेश सरकारको छ। उनको भ्रमणअवधिभर कति सुरक्षाकर्मी परिचालन हुने भन्नेबारे टुंगो लागिसकेको छैन। औपचारिक पत्र आएपछि सुरक्षा निकायको बैठक गरेर निर्णय लिइने राज्यमन्त्री कुश्वाहाले बताए।
विवाहपञ्चमीको एक सातासम्म विभिन्न कार्यक्रम हुन्छ।
यसका लागि मार्गशुक्ल द्वितीया तिथिको दिन भारतको अयोध्याबाट जन्ती आउँछन्। उनीहरू आएदेखि नै वैवाहिक विधि सुरु भएको मानिन्छ।
त्यसैगरी तृतियाका दिन तिलकोत्सव हुन्छ। यसमा जानकी मन्दिरको नेतृत्व गर्ने महन्थ रामतपेश्वर दास वैष्णव राजा जनकको भूमिकामा हुनेछन्। उनी साधुसन्त र नगर प्रमुखको उपस्थितिमा तिलकोत्सव विधि गर्न राम मन्दिर पुग्छन्।
उता राम मन्दिरमा महन्थ रामगिरि दशरथको भूमिकामा हुन्छन्। राजा जनकहरूलाई स्वागत गर्छन्। यति भएपछि तिलकोत्सव कार्यक्रम सकिन्छ।
भोलिपल्ट चतुर्थीमा मिथिला परम्पराअनुसार कन्यापक्षबाट ‘मटकोर’ विधि गरिन्छ।
पञ्चमी तिथिका दिन सीता र रामका डोला बाजागाजासहित निस्कन्छन्। जानकी मन्दिरबाट निस्किएकी सीता र राम मन्दिरबाट आएका रामको डोलाको नगरपरिक्रमा हुँदै रंगभूमिमा पुग्छ।
कन्यापक्षबाट मन्दिरका महन्त, साधुसन्त, स्थानीयले भगवान रामको डोलासहित आएका जन्ती स्वागत गर्छन्।
त्यहाँ सीतारामको स्वयंवर विधि गरिन्छ। त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछिपछि लाग्छन्। जानकी मन्दिर पुर्याएर आरती पूजन गरिन्छ।
त्यसपछि राम मन्दिरको डोला लावालस्कर साथ राम मन्दिर फर्किन्छ। यही रात मिथिला परम्पराअनुसार भगवान राम र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ।