जनकपुर-जयनगर रेल सेवाको निर्माण कार्य लगभग सकिएर उद्घाटनको तयारीमा छ।
नेपाल रेल्वेको उद्घाटन विवाह पञ्चमीकै अवसरमा गरिने लगभग निश्चित भइसकेको थियो। तर, रेल्वे उद्घाटनका लागि प्रमुख अतिथि भारत सरकारबाट को हुने भन्ने विषयमा अन्यौलता भएकाले अझै केही दिन लाग्ने भएको छ।
यद्यपी भारत उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले विवाह पञ्चमीकै अवसरमा जनकपुर आएर रेल्वेको उद्घाटन गर्नसक्ने सम्भावना रहेको छ।
रेल सेवा सञ्चालनको पर्खाइमा सरकारमात्र नभइ धनुषाको पूर्वी क्षेत्रका स्थानीयसमेत ब्यग्र प्रतिक्षामा छन्।
लगभग पाँच वर्षअघि बन्द भएको रेल्वे सेवाका कारण भन्सार कार्यालय जनकपुरधाममा कर उठ्न कमी भयो भने धनुषाको पूर्वी क्षेत्रमा बसोबास गर्दै आएकासमेत यातायात र मंहगीको मार खेप्न बाध्य भए।
रेल सेवा भारतको जयनगरसम्म पुग्ने गरेकाले सीमा नजिक घर भएका नेपालीहरू थोक तथा खुद्रा सामानसमेत भारतको जयनगरबाटै किनमेल गर्न पुग्थे। तर, विगत करिब ५ वर्षदेखि रेल सेवा बन्द हुँदा उनीहरू जनकपुरधाम आवत जावत गर्न साईकल वा मोटरसाईकल चढेर आउन बाध्य भएका थिए।
रेल चल्दा सामान्य पसलमा समेत भीड रहने गरे पनि अहिले तुल्नात्मक रुपमा बिक्री कम हुने गरेको औरही गाउँपालिका वडा नम्बर दुई बस्ने व्यापारी दीपक कुमार साह बताउँछन्। ‘पहिला रेल्वेमा यात्रा गर्ने गरेका भारतीय तथा नेपाली यात्रीहरू आवतजावत गर्दा पसल चलाउन भ्याई नभ्याई हुन्थ्यो, तर अहिले त्यस्तो अवस्था छैन्, गाउँ घरकै छरछिमेकका व्यक्तिहरु किनमेल गर्न आउने गर्छन् पहिलाको तुलनामा आम्दानी समेत न्यून छ,’ उनले सेतोपाटीसँग भने।
रेल सेवा बन्दले जनकपुरधाम आउनुपर्ने हुँदा यातायात र मंहगीको दोब्बर मार ब्यहोर्नुपरेको व्यापारी साहको भनाई छ।
तर, विगत ५ वर्षदेखि व्यापार घाटा ब्यहोर्दै आएका व्यापारीहरु भने रेल्वे सेवा सुरू हुँदा फेरि पनि व्यापार व्यवसाय सुखद रूपमा चल्नेमा विश्वस्त छन्।
रेल सञ्चालनमा नहुँदा व्यापारी मात्रै होइन किसान समेतलाई खेतीपातीका लागि आवश्यक बिउबिजन, किटनाशक औषधिलगायतका सामग्री ल्याउन समस्या हुँदै आएको छ।
रेल नचलेका कारण उनीहरू नेपाल-भारतको अर्को सीमानाको रुपमा रहेको हरिणेबाट सामान ल्याउन बाध्य छन् ।
भारतको जयनगर दुरीको हिसाबले पूर्वी भेगका स्थानीयका लागि पायक पर्ने भए पनि यातायातको सुविधा राम्रो नभएका कारण लामो दुरी तय गर्नुपर्ने बाध्यता छ।
‘जनकपुर-जयनगर रेल चल्दा हामीलाई यातायात खर्च समेत थोरै तिर्नुपथ्र्यो र कृषिजन्य सामाग्रीहरु ल्याउन समेत सहज हुने गर्दथ्यो, तर रेल बन्द भएदेखि कि त साईकलले ल्याउनुपर्छ कि महंगो पेट्रोल खर्चेर हरिणे या जनकपुर जानुपर्छ,’ परवाहाका कृषक जगत यादवले दुखेसो पोखे।
‘हाम्रो आशा छ चाँडै नै रेलसेवा सञ्चालनमा आउनेछ र हामीलाई राहत मिल्नेछ,’ उनले भने।
नेपाल रेल्वे सञ्चालनमा आउने भएपछि पूर्वी भेगका दर्जनौ गाउँ यातायातबाट सहजै जोडिनेछन्।
भारत सरकारको करिब १० अर्बको लगानीमा तीन चरणमा निर्माण भईरहेको नेपाल रेल्वे कम्पनीका इन्जिनियर विनोद ओझाले जानकारी दिए।
प्रथम चरणमा जयनगर–कुर्था, दोस्रो चरणमा कुर्था–भंगहा (१७ किलोमिटर) तथा तेस्रो चरणमा भंगहा–बर्दिवास (१७ किलोमिटर) गरी ६९ किलोमिटर लामो रेल विस्तार तथा स्तरोन्नति परियोजना सञ्चालनमा छ।
रेल्वे सञ्चालनका लागि जयनगरबाट जनकपुरसम्म गत साउन महिनादेखि नै परीक्षण कार्य सुरु भईसकेको छ। ब्लास्ट र बोगीसहितको ईन्जिन लिएर रेल पटक पटक जनकपुर पुगिसकेको छ।
विक्रम सम्वत् १९९४ सालमा तत्कालीन ब्रिटिस शासकले महोत्तरी जंगलबाट सखुवाको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटर सञ्चालनमा थियो।
तर, २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएयता रेल सेवा जनकपुरदेखि जयनगर २९ किलोमिटरमा सीमित हुन पुगेको थियो। जनकपुर–जयनगरका लागि दैनिक ३ सेवा सञ्चालन हुने गरेका थिए। शुरूमा इन्धनको रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेल विक्रम सम्वत् २०१८ सालदेखि यात्रु ओसारपसार कार्यको थालनी गरेको थियो।
जनकपुर रेल्वे २०२१ सालसम्म नेपाल यातायात संस्थानको एउटा शाखाको रुपमा थियो। २०५१ सालदेखि भारत सरकारको सहयोगमा १८ बोगीसहित ४ वटा डिजेल पावर इन्जिन प्राप्त भएपछि आधुनिक रेल सेवा सञ्चालनमा आएको थियो।
रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा नेपाल यातायात संस्थान अन्तर्गत राखियो।
२०२५ सालमा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्ने निर्णय गर्यो। रेल्वेको पहिलो प्रबन्धकको रूपमा टेकजंग थापा नियुक्त भएका थिए। २०५८ मंसिर मसान्तमा यातायात संस्थान विघटन भयो र २०६१ जेठ १८ गते रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएपछि हाल जनकपुर–जयनगर रेल्वे नेपाल रेल्वेको रूपमा चिनिन्छ।
श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत रहेको रेल्वे सेवालाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत रेल विभाग गठन भएपछि त्यसले हेर्दै आएको छ ।
जनकपुर रेल्वे व्यवस्थापनले २०६० भदौमा जनकपुर रेल्वे वर्तमान अवस्था र सुधार हुनुपर्ने कुराहरू समेटेर सरकारलाई रिपोर्ट बुझाएको थियो । जसमा ७५ प्रतिशत रेल्वे ‘स्लीपर’ जीर्ण भइसकेको, सिग्नल र टेलिकम्यूनिकेसनको व्यवस्था नभएकाले सूचना आदानप्रदान गर्न कठिनाइ हुने गरेको, इन्जिन र यात्रुवाहक कोचको मर्मत गर्नुपर्नेलगायत विषयप्रति ध्यानाकर्षण गराइएको थियो ।
समयमै मर्मत सम्भार नगरिए यात्रु तथा मालसामान ढुवानी निषेध गर्नुपर्ने राय पनि प्रतिवेदनमा थियो । सबैभन्दा कम २ फिट ६ इन्च चौडाइ भएको लीकलाई ‘न्यारोगेज’, १ मिटर चौडाइलाई ‘मिटरगेज’ र ५ फिट ६ इन्च चौडा भएको लीकलाई ‘ब्रोडगेज’ भनिन्छ ।
लीकको चौडाइ जति बढी भयो, त्यति नै गति र सन्तुलनमा राम्रो हुने जनाइएको छ । ब्रिटिस सरकारले स्थापना गरेदेखि नै जनकपुर रेल्वे ‘न्यारोगेज’ ट्रयाकमा चल्दै आएको थियो।
जयनगर–जनकपुर–बिजुलपुरा–बर्दिवास रेलसेवा सञ्चालनमा आएपछि कलकत्ता बन्दरगाहबाट काठमाडौंको दूरी १ सय ३० किलोमिटर घट्ने छ।
जयनगर–बर्दिवास रेल सेवा सञ्चालन भएपछि स्थानीय स्तरमा आर्थिक गतिविधि तीव्र हुनेछ भन्नेमा यहाँका स्थानीयबासीहरु आशान्वित छन्।
जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने क्रममा सरकारले तत्कालीन दरभंगा महाराज (भारत स्वतन्त्र हुनु पूर्वका राजा) सँग सन् १९४० मा भारतीय भूमि लिजमा लिएको थियो। दरभंगा महाराज र नेपाल सरकारबीच भएको भूमि सम्झौतामा रेल सेवा सञ्चालित रहेसम्म भारतीय भूमि नेपालले प्रयोग गर्न पाउने उल्लेख छ।
पूर्वी तथा मध्य धनुषासँगै सीमावर्ती भारतीयका लागि विगत ८१ वर्षदेखि यातायातको प्रमुख मार्गको रूपमा रहेको जनकपुर–जयनगर रेल सेवा झण्डै ५ वर्षदेखि बन्द छ ।
सामान्य वर्षामा पनि हुलाकी सडक हिलाम्मै भई सडक यातायात अवरूद्ध हुने भएकाले सेवाग्राहीलाई भारतको घुमाउरो बाटो भएर जिल्ला सदरमुकाम जनकपुर आउनुपर्ने बाध्यता छ ।
ब्रोडगेज रेलसेवा सञ्चालनमा आउने लगभग तय भएपछि स्थानीय वासिन्दा हर्षित भएका छन्।