संस्कृत विश्वविद्यालय अन्तर्गतको हजारी जनक विद्यापीठको अर्बौं मूल्यको जग्गा कीर्ते गरी विक्री गरेका महन्थ बैकुण्ठ दासलाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई काठमाडौंस्थित बागबजार होटल तिरुपतीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिएका छन् ।
पक्राउ परेका महन्थ बैकुण्ठ दासलाई आजै काठमाडौंबाट जनकपुरधाम ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले एक पत्रकार सम्मेलनको आयोजना गरी उनलाई सार्वजनिक गरेको हो।
कीर्ते गरी मन्दिरको जग्गा विक्री गरेको आरोपमा अदालतले पक्राउ पूर्जी जारी भएपछि उनी फरार भएका थिए।
किन पक्राउ गरियो महन्थ बैकुण्ठलाई
जनक हजारी विद्यापीठको जग्गाको नक्कली लालपूर्जा बनाएर एक जनालाई सो जग्गाको धनी बनाएर विक्री गरेको आरोप महन्थ बैकुण्ठ दासमाथि लागेको छ।
महन्थले आफ्नै सहयोगी अशोक कुमार शर्मालाई जग्गा धनी बनाएर जग्गा विक्री गरेको मन्दिरकै अन्य पूजारीहरू नाम नबताउने शर्तमा बताउँछन्।
शर्माले सो जग्गा आफ्नो रहेको दाबी गर्दै मुद्दा दिएपछि जग्गा कीर्ते प्रकरणको पर्दाफास भएको थियो। जबकि गुठी संस्थान जनकपुरधाम र जिल्ला मालपोत कार्यालयको तथ्यांक अनुसार जग्गा धनीमा गुठी संस्थान धनुषामात्रै उल्लेख रहेको छ ।
शर्माले जग्गामाथि दाबी गर्दै मुद्दा दिएपछि प्रहरीले उनलाई दुई साता अगाडि पक्राउ गरेको थियो। शर्मासँगको सोधपुछपछि रतनसागर मठका महन्थ बैकुण्ठ दासको नाममा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
अदालतबाट प्रहरीले पक्राउ पुर्जी पाए पनि महन्थ बैकुण्ठ दास एक सातादेखि फरार थिए। उनलाई खोज्न प्रहरी टोलीसमेत परिचालन गरिएको छ।
कीर्ते गरी जग्गा विक्री गर्ने पुरानै कारोबार
महन्थ बैकुण्ठ दास जग्गा कीर्ते गरेको आरोप पहिलो पटक भने लागेको होइन। यस अघि पनि महन्थ बैकुण्ठलाई कैयौं बिघा जग्गा कीर्ते गरी विक्री गरेको आरोप लाग्दै आएको थियो ।
विद्यापीठका पदाधिकारीहरूका अनुसार वि.सं. २०५० देखि क्याम्पसले भोगचलन गर्दै आएको जनकपुरधाम ८ स्थित सिट नम्बर १३५४/१४ को कित्ता नम्बर ६२ को २ कठा ११ धुर, सिट नम्बर १३५४/१५ को कित्ता नम्बर १,२,२८ र ४९ को २ बिघा १४ धुर जग्गा कीर्ते गरी महन्थ बैकुण्ठले विक्री गरेका छन् ।
साबिक नापीमा गुठी संस्थान अधिनस्त वराही कुटीका नाममा रहेको जमिनसँगै सडक पश्चिमको समेत ६ बिघा ५ धुर जग्गा २०५० जेठ १३ को मन्त्रिपरिषदको निर्णयअनुसार केन्द्रीय गुठी संस्थानले विद्यापीठलाई भोगचलन गर्नलाई दिने निर्णय गरेको थियो।
कीर्ते गरिएको जग्गा विक्री गर्नका लागि जनकपुरधामका दुई जना व्यवसायी श्याम डोकानिया र नवल मुरारकासँग बैना समेत लिइसकेको पूजारीहरू बताउँछन्।
प्रहरीले कीर्ते जालसाजीको थप अनुसन्धान भइरहेको हुँदा दोषी देखिएका सबैमाथि मुद्दा चलाइने जनाएको छ ।