जनता सडकको निर्माण पछि पर्सा जिल्लाको उत्तरी भेगको आवागमन सहज भएको छ। सडक निर्माणले जिल्लाको उत्तरी भेगमा रहेको थारू बस्तीको जनजीवन सहज भएको हो। ४ महिना अघिसम्म खाल्डाखुल्डी कच्चीबाटोको धुलाम्य यात्रा कालोपत्रे गरेपछि अहिले सहज भएको हो।
जिल्लाको ग्रामीण भेगलाई त्रिभुवन राजपथसँग जोड्ने जनता सडक सञ्चालनमा आएपछि स्थानीयको दैनिकी फेरिएको छ।
बाराको जितपुरदेखि पर्साको रङ्पुरटाँडीसम्म पौने ६ मीटर फराकिलो १७ किमी सडक गत असारको अन्तिम सातादेखि सञ्चालनमा आएको हो।
अहिले जिल्ला पूर्वाधार विकास कार्यालयअन्तर्गत सो सडक योजनाका प्रमुख दीपक मिश्रले बाटो कच्ची हुँदा एउटा पनि तीन पाङ्ग्रे टेम्पु नदेखिने सडकमा अहिले दिनहुँ ३ सयभन्दा बढी यस्ता साधन गुडिरहेको बताए।
सडकमा ठूला सवारी र ढुवानीका साधनको आउजाउ पनि उत्तिकै बढेको उनले बताए।
जनता सडकले स्थानीय बासिन्दाको दिनचर्यालाई सहज बनाइदिएको छ। ‘यो सडकले स्थानीय बासिन्दाको समय बचत भएको छ,’ प्रुमख मिश्रले भने, ‘आवतजावतमा सवारीको असुविधाको समस्यालाई समाधान गरिदिएको छ।’
त्यस रूटमा बिहान बेलुका मात्र चल्ने बसको लागि घण्टौंसम्म कुरेर बस्नुपर्ने बाध्यता अब हटेको पर्साका थरूवान क्षेत्रका बासिन्दाले बताएका छन्।
सडक बनेपछि अहिले आफ्नो दैलोसम्म तीन पाङ्ग्रे टेम्पु लिएर सजिलै आउन र जान सकिने भएको उनीहरूले बताएका छन्।
जनता सडकबाट बाराको जितपुरसिमरा उपमहानगर, वीरगञ्ज महानगर, पर्सागढी, सखुवाप्रसौनी, पटेर्वासुगौलीलगायका क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।
बडनिहारका स्थानीय हरिनारायण चौधरीका अनुसार ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको अन्न, तरकारी र दुध बजारसम्म पुर्याउन सहज भएको छ।
राजधानी काठमाडौं जानको लागि जिल्ला सदरमुकाम पुगेर बस समात्ने बाध्यताको अन्तसमेत भएको उनले जानकारी दिए।
‘यसअघिसम्म परम्परागत खेतीमा अल्झिएका किसान सडकले ढुवानी सहज भएपछि तरकारी खेतीतर्फ अकर्षित भएका छन्,’ उनले भने। पर्सा राष्ट्रिय निकुन्जसँग जोडिएको यस भेगको यातायात सजिलो भएपछि जंगलसँगैको झबराहा गाउँमा निर्माण भएको सुविधासम्पन्न रिर्सोटमा पर्यटक आउने आशा पनि बढेको छ।
पर्साका ग्रामीण क्षेत्रलाई सडक सञ्जालमा जोड्ने योजना अन्तर्गत १५ करोड रूपैयाँको लागतमा पप्पु कन्स्ट्रक्सनले सडक निर्माण गरेको हो।
गत असारमै निर्माणको अधिकांश काम सकिएको निर्माण कम्पनीका योजना प्रबन्धक इनरदेव साहले जानकारी दिए। सडक किनारमा मार्किङको काम समेत पूरा भइसकेको भन्दै साहले अब सडक पूर्ण रूपमा तयार भएको बताए ।
योजना प्रमुख दीपक मिश्रले १७ किलोमिटरमध्ये केही सडक मर्मत गरिनुपर्ने बताए। ‘जितपुरदेखि टेडासम्मको २ किलोमीटर जति सडक मर्मत गर्नुपर्ने देखिएको छ । मर्मत पूरा भएपछि हस्तान्तरण हुन्छ,’ उनले भने।
मर्मत सुधार अवधिभित्र मर्मत गरी हस्तान्तरण गरिने निर्माण कम्पनीले बताएको छ ।
सरकारले साविक जिल्ला विकास समिति मातहतमा रहेको जिल्ला प्राविधिक कार्यालय खारेज गरेकाले पनि विगतमा केही अलमल भएको बताइएको छ।
प्राविधिक कार्यालयको सट्टा जिल्ला पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ।