आइतबार मात्रै मनाइने रवि पर्व मिथिलानी महिलाहरूले सूर्योपासना गर्दै मनाएका छन्।
मंसिर महिनाको शुक्लपक्षबाट आरम्भ हुने यो पर्वको समापन भने वैशाख महिनाको शुक्लपक्षमा पर्ने आइतबार नै गर्ने गरिन्छ।
मिथिलानी महिलाहरूले मंसिर महिनाको शुक्लपक्षमा पर्ने अन्तिम आइतबारदेखि सन्तानको दिर्घायुका लागि यो पर्वको सुरूआत गर्ने गर्छन्। प्रत्येक वर्ष मंसिर महिनाको इजोरिया अर्थात् शुक्लपक्षमा सुरू गरिने रवि पर्व खासगरी सन्तानको दिर्घायु, आरोग्यताका लागि गर्ने गरिएको व्रतालु जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ की मधु झा बताउँछिन्।
व्रतालुहरू जलाशयमा उभिएर भगवान सूर्यलाई अर्घ अर्पण गर्दै पूजा गरेका छन्। छठ पर्वजस्तै यो पर्वमा समेत मिथिलानी महिलाहरूले भगवान सूर्यलाई विभिन्न प्रकारको मिष्ठान्न एवं फलफूलको अर्घ अर्पण गर्छन्। यो पर्व भएपछि ‘६ महिनो भार उठल’ समेत भन्ने गरिन्छ।
पूजा विधान
व्रतालुहरूले एकाबिहानै स्नान गरी घर आँगन लिपपोत गर्छन्। गाईको गोबरबाट लिपपोत गरेपछि पिठार(चामल पिँधेर बनाइएको लेदो)ले अष्टदल बनाइन्छ।
पर्वमा पाँच वटा पानको पात, पाँच वटा सुपारी, केरा, ठेकुवा, वताशा, नारिवल, रातो रंगको धागो लिएर पोखरीमा अर्घ अर्पण गरिन्छ।
व्रतमा बसेका व्रतालुहरू त्यहीँ बसेर कथा समेत सुन्छन्। पूजापछि घरको प्रत्येक सदस्यले रातो धागोबाट बनाइएको माला लगाउँछन्। व्रतमा बसेकी महिलाले एक समय मात्रै खाने गर्छिन्। त्यो पनि नुन नहालिएको खाना खान्छिन्। रवि पर्वमा नयाँ चामलको खीर खाने परम्परा समेत रहेको छ।