भरुवा बन्दुक बनाउने सामग्रीसहित प्रहरीले पाँचथरमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं. ५, सुभाङका बुद्धिमान विश्वकर्मा रहेका छन्। उनलाई पाँचथरको याङवरक गाँउपालिका वडा नं. ३, ओयामबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी फलैंचाबाट खटिएको टोलीले विश्वकर्मालाई ओयामका शान्तबहादुर विश्कर्माको आरनमा बन्दुक बनाउँदै गरेको अवस्थामा बुधवार पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको हो। उनको साथबाट ५ नाल भरुवा बन्दुकको पाटपुर्जा समेत फेला पारेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय पाँचथरले थप अनुसन्धान प्रकृया अघि बढाएको प्रहरीले जनाएको छ ।
यसैवीच ताप्लेजुङको पाथीभरा याङवरक गाँउपालिका वडा नं. २ का सन्देश लिम्बू शिकार खेल्न गएका साथी सुमित लिम्बूले अचानक भरुवा बन्दुक पड्काउँदा पेटमा गोली लागेर गम्भीर घाइते भएका छन् । दुवै जना मंगलबार दिउँसो शिकार खेल्न जंगलमा गएका थिए।
सुमितले चलाएको गोली सन्देशको पेटको दाँया भागमा लागेको थियो। उनलाई आफन्तले फेला पारेर थप उपचारमा लागि झापाको विएण्डसी अस्पताल पुर्याएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
सुमितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।