खीरके अनादर नहि करियौ यौ दुलहा
खीरके अनादर नहि करियौ
खीरके उपरमे बरफी राखल अछि
कोहवरमे मिलत असर्फी यौ दुलहा
खीरके अनादर नहि करियौ यौ दुलहा ......
मिथिलाञ्चलमा यो गीत बिहेपछि बेहुलालाई खीर खुवाउने समयमा गाइने गीत हो यो । जसलाई मिथिलाञ्चलमा मौहक भन्ने गरिन्छ भने विवाहपञ्चमी महोत्सवमा यो विधिलाई रामकलेवा भन्ने गरिन्छ । जानकी मन्दिरमा समेत यी गीतहरूका बीच बेहुलाहरू राम, भरत, लक्ष्मण तथा शत्रुध्नलाई खीर खुवाइयो।
जानकी मन्दिरमा विवाह सम्पन्न भएपछि प्रत्येक वर्षझैं फेरि जानकी रामको भइन्। मौहक विधि चलिरहेकै समयमा मिथिलानी नारीहरूले गीतकै माध्यमले राम,भरत,लक्ष्मण, शत्रुध्न तथा अयोध्यावासीलाई मैथिली लोक गीत डहकन गाएर गाली गरे। मिथिलाञ्चलमा मौहकका लागि लगाइएको खीर बेहुलाले सहजै नखाने परम्परा रहेको छ। रामले खीर खान नमानेपछि मिथिलाका नारीहरूले गीतकै माध्यमले खीर खान आग्रह गरिन् ।
संगी पुछियौ ग दुलहा रुसल छथि किए
जनकपुरसन बजार घडी मिलए हजार
बिना अर्थक मनोरथ पुरबै कोना
संगी पुछियौ ग दुलहा रुसल छथि किए
जनकपुरसन बजार सुट मिलए हजार
संगी पुछियौ ग .......
गीतकै माध्यमले बेहुलालाई कोशेलीका लागि मन दुखेको छ भन्ने कुरा दर्शाइन्छ । राजा जनकको भूमिकामा रहेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले भगवान रामलाई कोशेली दिएपछि खीर खान सुरू गरे। फेरि मिथिलानी नारीहरू गाउँछन्।
खीर खाउ यौ दुलहा, खुब मटाउ यौ दुलहा
अपन चोटकल चोटकलसन गालके फुलाउ यौ दुलहा
मैया पुछत बौवा दुबर छी किए
अहाँ अपन साउसके नाम नहि हँसाउ यौ दुलहा
खीर खाउ यौ दुलहा.....
रघुवर चारै भाइका साथै अयोध्याबाट आएका जन्तीहरूलाई समेत आदरका साथ भोजन ग्रहण गराइयो। जन्ती तथा राजा दशरथलाई समेत गीत गाउने महिलाहरूले मैथिली परम्परा अनुसार लोकगीत डहकन गाएर गाली गरे। चारै भाइ तथा जन्ती भोजन ग्रहण गरेपछि रामकलेवा विधि समेत सम्पन्न भएको छ।
रामकलेवा विधिसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव पनि सम्पन्न भएको छ। जानकी मन्दिरको प्रांगणमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले लत्ता–कपडा, प्रसाद दिएर जन्तीको बिदाइ गरेका थिए।