पिंकीलाई प्रत्येक साँझ ८ बज्नुभन्दा पहिले नै खाना पकाईहाल्नुपर्नेमा हतार हुन्छ। उनी घरमा पाहुना आएको दिन होस् या फेरि अन्य दिन साँझको खाना बनाउन सधैँ हतारमै हुन्छिन्। यो पर्खाई फेरि उनलाई साताको ५ दिन मात्रै हुने गर्छ।
जनकपुरधाम उपमहागरपालिका वडा नम्बर २३ बस्ने ४३ वर्षीय पिंकी पाण्डेलाई बेलुकी सवा ८ बज्नुभन्दा पहिले नै घरका सबै सदस्यहरुले खानासमेत खाईसकोस् भन्ने चाहना हुन्छ। तर, उनी त्यसमा अलिक बाध्य हुन्छिन्,
किनकि, घरका प्रायः सबैले जाडो होस् वा गर्मी मौसम खाना भने १० बजे राति नै खाने गर्छन्।
प्रत्येक सोमबारदेखि शुक्रबारसम्म भारतीय टिभी सिरियल हेर्नका लागि पिंकी सधैँ समयमै काम भ्याउन पाउँ र आफूले मन पराएको सिरियलको सिन अलिकति पनि छुट्न नपाओस् भन्ने योजनाका साथ काम लागेकी हुन्छिन्।
खाना खुवाउनुबाहेक उनी राति गृहणीले गर्नुपर्ने कामहरु पूरा समेत गर्ने गर्छिन् र आरामले सिरियल हेर्न समेत पाउँछिन्।
उनी भन्छिन्, ‘राति छुटेका केही सिरियलहरु दिनमा हेर्ने गर्छु र समय यतिकैमा बितिहाल्छ।’
बाहिर बसेर अरुको कुरा काट्नुभन्दा सिरियलमा देखाईएका ज्ञानहरु लिएर आफूमा भएको कमिकमजोरी सुधार गर्नु बेस भएको उनले भनिन्।
जनकपुरधाम वडा नम्बर ४ की ३८ वर्षीय गुरिया झा पनि सिरियल हेर्न माहिर छिन्। उनी गृहणीका साथ साथै आफ्नै टेलर्स पनि चलाउँछिन्।
१० देखि ४ बजेसम्म कपडा सिउनमा व्यस्त रहने गुरियाको लागि हिन्दी सिरियलहरु थकाई मार्ने औषधिको रुपमा काम गरेको छ। ‘बिहान ५ बजे उठेदेखि घरका काम गर्नुपर्छ त्यसपछि एकपछि पनि आराम नगरि दिनको परिवारका लागि खाना पकाउने हतार र त्यसपछि आफ्नो पसल खोल्नुपर्ने कामहरुले गर्दा भ्यानभ्याई हुन्छ, बेलुकी खाना पकाएर सिरियल हेरेपछि दिनभरिको शारीरिक र मानसिक तनाव कम हुन्छ,’ उनले सेतोपाटीसँग भनिन्।
जनकपुरधाम उपमहानगरपालिका २३ की श्यामा झाको सिरियलबारे तर्क अलि फरक छ।
५५ वर्षीय श्यामा झा कुशल गृहणीका साथसाथै गाईपालनसमेत गर्छिन्। गाई दुहुनेदेखि गाईगोठ सोरसार गर्नेसम्मको काम आफैं गर्ने उनी पनि हिन्दी सिरिल्यसको कायल नै छिन्।
श्यामालाई ऐतिहासिकदेखि काल्पनिक आधारमा तयार पारिएको सिरियल्स मनपर्छ। ‘यो सिरियल मन पर्नुको एउटै कारण हो त्यहाँ महिलालाई प्रमुख भूमिका दिईएको हुन्छ एक महिला कसरी घरका ठुलठुला समस्याहरु सजिलैसँग समाधान गर्नसक्छिन् भन्ने कुराहरु देखाईएको हुन्छ,’ उनले भनिन्, ‘जसले गर्दा म कहिलेकाही असमन्जसमा पर्दा यसले मलाई सिरियलका ती दृश्यहरुको झ–झल्कोले उर्जा थप्ने काम गरेको छ, यसले म अझ पनि राम्रो गृहणी बन्न सक्छु भन्ने प्रेरणा प्रदान गरेको छ।’
आमजीवनमा त घरमा महिलालाई दोस्रो दर्जा नै दिईएको हुन्छ, तर सिरियलहरुमा प्रायः कुनै ठूलो समस्याबाट महिलाले नै अन्तिममा आएर निकाल्ने गर्छिन् भन्ने देखाईंन्छ, हो हामी महिला सहीमा भन्ने हो भने सिरियलकै महिला जतिको शक्तिशाली हुन सक्छौ र चाहे भने जस्तो सुकै परिस्थितिलाई सहज बनाउन सक्छौ भन्ने सिख दिदै आएको उनले बताइन्।
सिरियलहरु हेर्न सुरु गरेदेखि महिला महिलामा हुने झैँ–झगडादेखि लिएर कुरा काट्ने सम्मको प्रवित्ति कम हुँदै गएको वडा नम्बर ४ की ४५ वर्षीय रेणु साहले मुसुक्क हाँस्दै भनिन्।
‘पहिला पहिला टिभी सिरियल्स नहुँदा हामी चौबटियामा बसेर एक अर्काको सासु बुहारीको भनाभन र घर घरको राम कहानी सुन्थ्यौँ र झगडा भएको बेला सबथोक गालीको रुपमा प्रयोग गथ्र्यौ जसले गर्दा महिनौसम्म छिमेक–छिमेकबीच बोलचाल हुँदैनथ्यो तर अहिले ती समस्याहरु छैनन् अहिले हामी भेट्नासाथ सिरियलमा के भयो र के हुने बाला छ भन्नेमै कुरा सकाउँछौँ,’ उनले भनिन्।
भारतीय टिभी च्यानलहरुले खास गरि गृहणीलाई केन्द्रित गरेर तयार पारेको हिन्दी सिरियलहरुले महिलामा सकारात्मक उर्जा भर्ने काम गरेको सहजै अनुमान लगाउन सकिन्छ।
घरका काम र बालबच्चाकै लागि सारा जीवन गुजारेका गृहणीहरुका लागि सिरियलहरुले हिनताबोध हुन नदिन समेत भूमिका खेलेको सजिलैसँग देख्न सकिन्छ।