राजपा निकट राष्ट्रिय विद्यार्थी संघका विद्यार्थीहरुले जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख विजयलाल दासलाई कालोमोसो दलेका छन्।
आईतबार राराब क्याम्पसका प्रमुख दासमाथि कार्यकक्षमै रहेको बेला राष्ट्रिय विद्यार्थी संघको अगुवाईमा कालोमोसो दलिएको हो।
संघले लामो समयदेखि नियमित पढाईको मागसहित १९ सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले क्याम्पस प्रमुख दासले वास्ता नगरेको भन्दै कार्यकक्षमै पसेर कालोमोसो दलेका हुन्।
यसैबीच विगत केही महिनादेखि जनकपुरधामको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा लागेको ताला प्रहरीले खोलेको छ ।
नियमित पढाईको माग गर्दै विद्यार्थीहरुले केही महिना अगाडि क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरेको थिए। महिनौसम्म विद्यार्थीले ताला खोल्न नमानेपछि प्रहरीले ताला खोल्न लगाएको हो।
यता आफूहरु ताला खोल्न नमाने पनि प्रहरीले बल प्रयोग गरेर ताला खोलेको विद्यार्थी कुलदीप साहले आरोप लगाए। ताला खोल्ने क्रममा विद्यार्थीमाथि प्रहरीले बलसमेत गरेको उनको आरोप छ।
क्याम्पसमा पढ्न आए पनि पढाई नभएर सधैं त्यत्तिकै फर्कँदा आफूहरुको भविष्य नै धरापमा परेको भन्दै विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नु परेको बिएड प्रथम वर्षमा अध्ययनरत छात्रा प्रियंका झाले बताइन्।
सार्वजनिक बिदाबाहेकको दिनमा पनि क्याम्पसमा प्राध्यापक नआउने गरेकाले आफूहरूलाई त्यत्तिकै फर्किनुपर्ने समस्या ६ महिनादेखि रहेको विद्यार्थीहरुको गुनासो छ।
विद्यार्थीले क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने अथवा नभए लिएको पैसा फिर्ता गरेर अन्यन्त्रै पढ्न पाउनुपर्ने वातावरण मिलाइदिन राष्ट्रिय विद्यार्थी संघ राराव ईकाई कमिटीको अध्यक्ष दिनेश यादवले माग गरे ।
यता क्याम्पसका सहायक प्रमुख रामनरेश ठाकुरले सम्बन्धित विषयको शिक्षक नभएकाले कक्षा सञ्चालन गर्न समस्या भएको स्वीकारे।
समस्या समाधान गर्न सोमबार प्रहरीको रोहबरमा वार्ता हुने भएको छ। वार्तामा क्याम्पस प्रमुख विजयलाल दास, सहायक क्याम्पस प्रमुख रामनरेश ठाकुर लगायतको पदाधिकारी तथा विद्यार्थीहरुको सहभागिता रहने राष्ट्रिय विद्यार्थी संघ राराव ईकाई कमिटीको अध्यक्ष दिनेश यादवले सेतोपाटीलाई बताए।