गत शनिबार राती ९ बजेर १५ मिनेट जादाँ एक युवकले 'आइ विल डाइ टुनाइट' भन्दै सामाजिक संजाल फेसबुकमा पोष्ट गरे।
फेसबुकमा उनले ब्लेडले हात काटेर रगताम्य भएको फोटोसमेत सेयर गरेका थिए। उनले स्टाटस लेखेको केही मिनेटमा नै नेपाल प्रहरीको सिआइबीमा रहेको साइबर क्राइम इन्टेलिजेन्स युनिटले त्यो थाहा पायो।
तत्काललै सिआइबी प्रमुख निरज शाहीले आइजिपी सर्वेन्द्र खनाललाई फोन गरी फेसबुक स्टाटसबारे जानकारी गराए।
आइजिपी खनालले, तत्काल पहिचान गर्न र उसलाई बचाउनका लागि पहल थाल्न निर्देशन दिए। सिआइबीका डिएसपी पशुपति रायले इन्टरनेन्ट मार्फत स्टाट्स लेख्ने युवाको आइपीहरु जुटाउन थाले।
खोजतलासका क्रममा ती युवाको लोकेसन ललितपुरको बाडेगाँउ देखायो। डिएसपी रायले ललितपुरका एसपी शेखर खनालसँग सहयोग मागे।
एसपी खनाल र डिएसपी रायको टोली राती १० बजेतिर बाँडेगाउँ पुगेर युवकको घर खोज्न थाले। युवकको फेसबुकबाट प्रोफाइल फोटो निकालेको प्रहरीले भेटेजतिको सबैलाई त्यो देखाउँदै चिन्नुहुन्छ भन्दै सोधखोज गरेका थिए।
११ बजेतिर प्रहरीले ती युवकको घर पत्ता लगायो। ती युवकको जिवितै उद्धार गर्न नसकिने हो कि भन्ने तनाव प्रहरीलाई थियो।
घर पत्ता लगाएर भित्र जादाँ ती युवक निन्द्रामा थिए। प्रहरीले फेसबुकमा किन यस्तो स्टाटस लेखेको भन्दै सोधखोज गर्न थाल्यो।
जवाफमा युवकले साथीले स्टाट्स लेखिदियो होला भनेर पन्छिन खोजे। फेसबुकमा पोष्ट भएको तस्बिर र प्रहरीले उनको हात हेर्यो । हातमा ब्लेडको काटिएको अवस्थामा थियो।
ती युवा डिप्रेसनमा गएको हुन सक्ने भन्दै प्रहरीले उनलाई सम्झाइ बुझाइ आफूसँगै ल्यायो।
भोलिपल्ट परामर्श गरेर अभिभावकको जिम्मा लगाइदियो।
१८ वर्षे ती युवकको घर काभ्रे हो। बाडेगाउमा भाडामा बस्दै आएका उनी एक क्याटरिङ कम्पनीमा काम गर्छन्। प्रहरी अनुसन्धानबाट के खुलेको छ भने, प्रेमिकासँग झगडा परेपछि ती युवकले आफू मर्ने भन्दै उनलाई तर्साउन स्टाट्स लेखेका रहेछन् ।
'प्रेमिकासँग सम्बन्ध बिग्रेपछि तनावमा रहेका उनले आत्महत्याको घुर्की दिएका रहेछन्,' डिएसपी रायले सेतोपाटीसँग भने, 'उचित परामर्श दिएर पठाएका छौं।'
साढे ३ वर्ष अघि प्रहरीमा एउटा यस्तै केश आएको थियो। झापामा एक युवक आत्महत्या गर्छु भन्दै फेसबुकमा स्टाटस लेखेर घर छाडेर हिँडेका थिए। घर छाडेर हिँडेका उनलाई प्रहरीले नेपाल भारतको सिमाक्षेत्रबाट उद्धार गरेको थियो।