मगंलबारदेखि बढेकोे चिसो र शीतलहरको कारण मध्य तराईको जनजीवन प्रभावित भएको छ।
बिहानैदेखि पर्ने शीतलहरले गर्दा तापक्रम झरेर ७ डिग्रीमा पुगेपछि सर्वसाधारणको दैनिकी समेत प्रभावित भएको छ।
कुहिरो र चिसो हावा बतासले हात खुट्टा नै कठ्यांग्रिन थालेपछि दैनिक काम गर्न सर्वसाधारणलाई समस्या भएको छ। चिसोलाई छल्न चोक चोकमा सर्वसाधारणले आगो बालेका छन्।
एक्कासी बढेको चिसोका कारण स्वासप्रस्वासको समस्या भएका बिरामीको संख्या अस्पतालहरूमा बढेको छ।
चिसोले स्वास लिन समस्या भएपछि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा दमका रोगी आउने संख्या बढेको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक मजोज गुप्ताले बताए। उनले अस्पतालमा कोल्ड डाइरिया, जरो समेतका बच्चा र वृद्ध रोगीहरूको संख्या बढेको बताए।
बिहान ७ बजेदेखि सञ्चालनमा रहेको विद्यालय जाने बालबालिका चिसोको चपेटामा पर्ने सम्भावना बढी रहेकाले न्यानो कपडा र तातो झोल पदार्थ बालबालिकालाई खुवाउन चिकित्सक गुप्ताले सुझाव दिए्।
कुहिरोले गर्दा सवारी दुर्घटना हुने सम्भावना रहेको बताइएको छ। कुहिरोका कारण ५० मिटरभन्दा बढी सडक देख्न नसकिने अवस्था सिर्जना भएकाले विपरित दिशाबाट आउने सवारी साधान र पैदलयात्रु दुर्घटनाको जोखिममा रहेको जिल्ला ट्राफिक कार्यालय पर्साले जनाएको छ।
कुहिरोका बेला सवारी साधनको गतिलाई सक्दो कम राख्न सवारी चालकलाई ड्यूटीमा खटिएका ट्राफिक प्रहरीले जानकारी गराउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।