गत वर्ष साउनमा राजधानीको नेपालटारमा ढलले बगाएर एक बालिकाले ज्यान गुमाइन्। सोही साउनमा कक्षा ९ पढ्ने सामाखुसीकी सत्या सापकोटा पनि स्कुलबाट फर्कंदै गर्दा नालामा झरेर बगिन्। धन्न कसैले उनको उद्धार गर्यो।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पन्ध्र दिनभित्र सडकका खाल्डा पुर्न सम्बन्धित विभागलाई निर्देशन दिए। देउवा सरकारपछि फागुनमा केपी शर्मा ओली प्रधानमन्त्री भए। प्रधानमन्त्री फेरिए तर सडकका खाल्डा पुरिएनन्।
यस वर्ष कात्तिकमा बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको गेट नजिकै खाल्डोमा खसेर काठमाडौं चागलका ३८ वर्षीय श्याम श्रेष्ठले ज्यान गुमाए। सडक निर्माण क्रममा लापरबाही गर्दै यहाँ खुला खाल्डो छाडिएको थियो।
यी त उदाहरण मात्र हुन्।
यस्ता दुर्घटना उपत्यकामा भइरहने ट्राफिक प्रहरी प्रमुख वसन्त पन्त बताउँछन्।
उपत्यकामा खानेपानी, ढल तथा सडक विभागले गरेको कामले ट्राफिक व्यवस्थापनमा समेत गाह्रो भएको प्रमुख पन्तको भनाइ छ।
‘राति काम गर्छन्, खाल्डाखुल्डी सबै पुरिसकेका हुँदैनन्। दिउँसो फेरि उनीहरूलाई बोलाउन पर्छ। यसले ट्राफिक व्यवस्थापनमा समेत गाह्रो भएको छ,’ उनले भने।
प्रधानमन्त्री केपी ओलीले पनि पटक/पटक खाल्डाखुल्डी पुर्न निर्देशन दिइसकेका छन्। सडक निर्माण क्रममा यात्रुको सुरक्षालाई बेवास्ता गर्दा पटक/पटक दुर्घटना भएका छन्। सडकलाई धराप बनाएर गरिने ढल, खानेपानी, नालीका काममा कसैलाई पनि दण्डित गरेको पाइँदैन।
सोमबार राजधानीको गोंगबु चोकमा बा १४ च ९६३७ नम्बरको गाडी 'यु टर्न' गरेर पुनः सामाखुसीतर्फ मोडिन खोज्दा सडक विभागले बनाएको नालामा खसेर दुर्घटना भयो।
सहायक बाटोबाट बायाँतर्फ मोडिन खोज्दा उक्त दुर्घटना भएको थियो।
त्यसपछि हामीले डिभिजन सडक कार्यालय काठमाडौं १ का प्रमुख कैलाश कुमार श्रेष्ठलाई भेट्यौं।
रिङरोडमा आउने यस्ता थुप्रै सहायक (एक्सिस) बाटो छन्। कतिले सडक विभागको अनुमति लिएर बनाएका छन् त कति अनुमति नलिई बनाइएको उनी बताउँछन्।
यस्ता सहायकरूपमा खोलिएका बाटोले पनि थुप्रै दुर्घटना निम्त्याउने गरेको उनको भनाइ छ।
श्रेष्ठले यो काम सडक विभागले गरेको नभई, चीनले बनाएको भन्दै पन्छिन खोजे।
२०३० सालमा चिनियाँ सरकारले सहरी सडकको दुई छेउमा यस्ता खुला नाला राखेको थियो। विकसित राष्ट्रमा यसरी खुला नाला बनाउँदा पनि दुर्घटना नहोस् भनेर नालामाथि कंक्रिटका फल्याक (स्ल्याब) राख्ने गरिन्छ।
श्रेष्ठले भनेझैं चीनले बनाएको भए यी नालामाथि स्ल्याब किन राखिएन? यसको व्यवस्थापन गर्ने काम कसको हो? हामीले प्रश्न गर्यौं।
‘व्यवस्थापन गर्ने त सडक विभागले नै हो। तर यसलाई तत्कालै केही गर्न सक्दैनौं,’ उनले भने।
उनका अनुसार अहिले चिनियाँ कम्पनीले कलंकी-कोटेश्वर सडक विस्तार गर्दैछ। त्यसैगरी कलंकी-महाराजगञ्ज सडक पनि विस्तार गर्न लागेकोले सडक विभागको त्यसप्रति केही योजना छैन।
वर्षातको पानी व्यवस्थापन गर्न सडकको दुवै छेउमा नाला बनाइन्छ। यसरी बनाइएको नाला व्यवस्थापन गर्ने काम सडक विभाग अन्तर्गत पर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव शिवहरि सापकोटाले जानकारी दिए।
उनका अनुसार कलंकी-महाराजगञ्ज सडक विस्तार गर्न कम्तीमा पनि २ देखि ३ वर्ष लाग्छ।
अहिले तत्कालै राम्रो सडक बनाउन नसकिने भएकाले त्यस्ता आपतकालीन ठाउँमा कम्तीमा संकेत बोर्ड राख्ने मन्त्रालयको योजना भएको सहसचिव सापकोटाले जानकारी दिए।
सडकका खाल्डा व्यवस्थापन गर्न सम्बन्धित निकाय विभिन्न बहानामा पन्छिरहेका छन्। उता यस्तै खाल्डामा परेर धेरै दुर्घटना हुने संख्या बढ्दै गएको गोंगबुका स्थानीय विकास आचार्य बताउँछन्।
‘गतवर्ष सामाखुसीमा बाढी आउँदा यस्तै खाल्डोमा परेर बच्चा बगाएको थियो। त्यसरी बच्चा बगाएपछि रेलिङ राखिएको छ,’ उनले भने, 'यसरी दुर्घटना भएपछि मात्र समाधानतर्फ लाग्ने हो भने दुर्घटना अझ बढ्छ। यस्ता नाला र खाल्डा जोखिम हुन् भन्ने बुझेपछि त बेलैमा समाधान गरिनुपर्छ। के हरेक खाल्डा व्यवस्थित गर्न दुर्घटनै हुन पर्ने हो?'