माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको सरूवाको विरोधमा विद्यार्थीहरूले लाठी लिएर प्रदर्शन गरेका छन्।
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको विरोधमा विद्याथीहरूले सोमबार बिहान लाठी लिएर नै प्रदर्शन गरेका हुन् ।
वीरगञ्ज महानगरपालिकाले आठ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको सरुवा गरेपछि विद्यार्थीहरूले आन्दोलन चर्काएका हुन्।
महानगरपालिकाले पूर्वाग्रही भएर आफूहरूको सरुवा गरेको भन्दै माइस्थान विद्यापिठ माध्यमिक विद्यालयका प्रअ विनोद मेहता र त्रिजुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक नवीन मिश्राले विरोध जनाएका छन्।
वीरगञ्ज महानगरपालिकाले सरुवाको निर्णय कुनै पनि हालतमा फिर्ता लिनपर्ने माग गर्दै सोमबार बिहानदेखि वीरगञ्जको घण्टाघरमा माइस्थान विद्यापीठ माविका विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै मुख्य सडक जाम गरेका थिए।
शिक्षा समितिको निर्णय अनुसार वीरगञ्ज महानगरपालिकाले प्रअहरूको सरुवा गरेको नगर प्रमुख विजय सरावगीले बताए।
उनले भने ‘अध्यन अध्यापनलाई सुदृढ बनाउन शिक्षा समितिले निर्णय अनुसार प्रअहरूको सरुवा भएको हो, सबैलाई मान्य हुने उहाँ दुई जनालाई किन विरोध हो, बुझ्न सकिएको छैन।’
सरुवाको विरोधमा विद्यार्थी प्रयोग गरी शैक्षिक वातावरणलाई ध्वस्त पार्दै शान्तिसुरक्षा बिगार्नेलाई हदैसम्मको कारबाही गर्न महानगरपालिका बाध्य हुने नगर प्रमुख सरावगीले चेतावनी दिइसकेका छन्।
वीरगञ्ज महानगरमा ९५ वटा सामुदायिक विद्यालयमध्ये १९ वटा मावि छन्।
महानगरभित्र २० हजार १ सय ८५ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत रहेको त्यसका लागि ७ सय ५२ जना शिक्षकहरू रहेका छन्। तर महानगरको शिक्षा क्षेत्र सुधार गर्ने अभियान अन्तर्गत पहिलो चरणकै निर्णय गर्दै वीरगञ्जको शैक्षिक क्षेत्रमात्र नभई आमजनजीवन अस्तव्यस्त बनेको छ ।