प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा समाउन समय लाग्नुको कारण बताएका छन्।
प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आइजिपी खनालले पन्तको हत्यारा समाउन समय लाग्नुको कारण यसअघि हत्यारा समाउने नाममा गलत अभ्यास भएको भन्दै त्यो दोहोरिन नदिन समय लागेको प्रष्ट पारेका हुन्।
उच्च प्रहरी अधिकारीहरुलाई साथै राखेर पत्रकार सम्मेलनमा उपस्थित भएका खनालले निर्मला पन्त प्रकरण टुंगोमा पुर्याउन प्रहरीले इमान्दार प्रयास गरिरहेको बताए। खनालले भने, ‘अहिले प्रहरी संगठनले भन्ने यत्ति मात्र हो, परिणाममुखी नतिजा निकाल्न लागिरहेका छौं।’
जटिल घटनाका अनुसन्धानमा पत्रकारलाई के भन्न हुन्छ, के भन्न हुन्न, भन्न हुन्न भने के कारणले हुन्न सबै अपराध क्षेत्रमा कलम चलाउने पत्रकारलाई जानकारी रहेको खनालले बताए।
‘अपराधी समाउन समय लागेकै हो,’ खनालले भने, ‘चाँडो गर्ने नाममा फेरि गलत अभ्यास नहोस् भनेर समय लागेको हो।’
सञ्चारमाध्यममले निर्मला पन्तका अनुसन्धानलाई लिएर समाचार प्रकाशित गरेकोप्रति खनालले दु:ख प्रकट गरेका छन्।
कतिपय सञ्चारमाध्यमले शून्य प्रतिशत उपलब्धी, कतिपयले हात लाग्यो शून्य समेत भनेर समाचार लेख्ने गरेको बताउँदै अनुसन्धानमा प्रतिशत निर्धारण नहुने खनालले बताए।
‘अनुसन्धानमा कि शून्य हुन्छ, कि शतप्रतिशत हुन्छ,’ खनालले भने।
खनालले पन्त बलात्कार हत्याको अनुसन्धान लापरबाहीमा गठित प्रहरीको समितिले धेरै प्रहरी अधिकृतलाई कारबाही सिफारिस गरेको बताए। उनले कारबाही सिफारिसमा परेकालाई कसुर हेरेर फौजदारी तथा प्रशासनिक कारबाही हुने पनि बताए।
‘गल्ती गर्ने जस्तोसुकै व्यक्ति किन नहोस् कारबाही हुन्छ, गल्ती गर्ने हिजो छुटेको भए आइन्दा छुट्दैन,’ खनालले भने। गल्ती गर्नेलाई कुनै पनि शक्तिकेन्द्रको दबाब र प्रभावमा उन्मुक्ति नदिइने खनालले स्पष्ट पारे।
खनालले कानुनले जसलाई पनि समात्ने बताउँदै पन्तको हत्या अनुसन्धानमा सहयोग गर्न आग्रह गरे। ‘समाचारको लिड लेख्ने बेलामा तपाईंहरु विभिन्न एंगल खोज्नुहुन्छ, त्यस्नै गरेर हामीले पनि अनुसन्धानका एगंलहरु खोजिरहेका छौं,’ उनले भने, ‘अनुसन्धान भइरहेका विषयमा धेरै कुरा प्रष्टसँग भन्न सकिँदैन, त्यो तपाईंहरुले बुझिदिनुस्।’
एक अर्को प्रशंगमा आइजिपी खनालले व्यक्तिगत कुरा सञ्चारमाध्यममा ल्याएर विवादित बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन्।
संगठनले आइजिपी चढ्नका लागि सवा २ करोडमा गाडी किनेको विषयलाई लिएर खनालले भने, ‘अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएपछि गाडी किनेका हौं, मेरो गाडी चढ्ने शौख होइन।’
सवा २ करोडको गाडी घर जाने बेलामा लैजाने नभएको भन्दै खनालले थपे, ‘१२ वर्षसम्म आइजिपीले चढ्दै आएको गाडी बिग्रिएपछि नयाँ किनेका हौं।’
आफू चढ्ने गाडी बिग्रिएपछि प्रदेश नम्बर ५ बाट गाडी ल्याएर समेत चढेको खनालले बताए।
‘मैले गाडीको दुरुपयोग गरेको छैन,’ खनालले भने, ‘संगठनलाई सुविधायुक्त बनाउनुपर्छ भन्ने मेरो मान्यता हो। सचिवालयमा रहेका गाडी अनुमति लिएरै निजी नम्बर प्लेट हालिएको हो।’
काठमाडौंको महाराजगञ्जबाट पनौतीबाट प्रहरीको तालिम केन्द्र सार्ने विषयमा खनालले महाराजगञ्जमा पनि विदेशी तालिमहरु गर्न सकिने गरी पूर्वाधार बनाइने बताए।
‘विदेशी तालिम, क्याप्टेन कोर्षहरु महाराजगञ्जमा गर्न सकिन्छ,’ खनालले भने, ‘सरकारले प्रहरीलाई साधनमुक्त, प्रविधिमुक्त बनाउने कुरा दुइमत छैन।’
संगठनमा वृत्ति विकासदेखि असल र खराब प्रहरीको काम कारबाहीबारे आफू जानकार रहेको खनालले बताए। उनले खराब प्रवृत्तिका प्रहरीलाई नछोडेको बताए। ‘म आइजी भइसकेपछि धेरै जिल्लाका इञ्चार्ज फेरिएका छन्, फेरिइरहन्छन् पनि,’ उनले भने।
खनालले संगठनमा राम्रो काम गर्ने र आगामी नेतृत्वमा पुग्नसक्ने क्षमताका सबै प्रहरी अधिकारीको उपयुक्त व्यवस्थापन गर्न आफू सक्षम भएको पनि बताए। ‘भोलि नेतृत्वमा पुग्न सक्ने उम्मेदवारलाई महानगर र प्रदेशको जिम्मा लगाइएको छ, उनीहरुले राम्रो काम गर्न सकेनन् भने एक वर्ष टिक्दैनन्,’ खनालले दाबी गरे।