मंगलबार साँझ भृकुटीमण्डपमा यात्रुले करिब आधा घण्टा चक्काजाम गरे। धेरै सरकारी क्याम्पस भएकोले त्यो ठाउँमा चक्काजाम हुनु नौलो नभए पनि मंगलाबारको चक्काजाम कुनै राजनीतिक दलको विद्यार्थी थिएनन्। समयमै घर पुग्न नपाएका विद्यार्थी, अभिभावक, जागिरे तथा सार्वजनिक गाडी कुरेर बसेका सर्वसाधारण थिए।
ट्राफिक प्रहरीले त्यो भीड नियन्त्रण गर्न नसके पछि नेपाल प्रहरीको ‘दङ्गा नियन्त्रण टोली’ नै खटाउनु परेको थियो।
अहिले भृकुटीमण्डप वरपर फेरि यात्रुको आन्दोलन हुनसक्ने भन्दै दङ्गा नियन्त्रण टोली तैनाथ गरिएको छ।
काठमाडौं महानगरपालिकाले पुस १ गते देखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने व्यवस्था गर्यो।
सवारी साधन रोकेर राख्दा जाम बढेको र वातावरण प्रदूषणमा पनि वृद्धि भएको भन्दै महानगरपालिकाले नयाँ नियम लागू गरेको हो। केही समय पछि यो नियम काठमाडौं उपत्यका भरी लागू गर्ने महानगरले तयारी गरेको छ।
पुस १ गते देखि सुरू भएको ‘पिक एण्ड ड्रप’ कार्यक्रम प्रभावकारी भएको महानगरले भोलिपल्टै निष्कर्ष निकालिसकेको छ।
महानगरले ‘पिक एण्ड ड्रप’ कार्यक्रम प्रभावकारी भएको भनेर प्रचारवाजी गरे पनि दैनिक सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरु भने आक्रोशित छन्।
विरोध प्रदर्शनमा सहभागी एक यात्रुले महानगरको यो नयाँ नियमले सुविधा होइन द्विविधा र समस्या थोपरेको बताएका छन्। ‘आफूहरूलाई गाडी चढ्न धेरै घुम्नुपर्ने भएको छ, जसले गर्दा समयकोसमेत बर्बादी हुने गरेकोले महानगरविरूद्ध सडकमा उत्रनुपरेको यात्रु भीमबहादुर विष्टले बताए।
यात्रु मात्र होइन यो नियमले ट्रफिक प्रहरीलाई समेत निकै सकस दिएको छ।
‘पिक एण्ड ड्रप’ लागु भएपछि ट्राफिक व्यवस्थापन गर्न मुस्किल भएको वायु सेवा निगम अगाडि ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी निरीक्षक धर्मेन्द्र रावलले जानकारी दिए।
‘एकैपटक यो नियम आउँदा धेरै यात्रु अन्यौलमा पर्नुभएको छ, हामीलाई ट्राफिक व्यवस्थापन गर्ने कि यात्रुलाई ठाँउ चिनाउनु भइरहेको छ,’ रावलले सेतोपाटीसँग भने ‘यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सडक विभाग, महानगरपालिका, यातायात व्यवसायीलगायत सवै सरोकारवाला निकाय मिलेर भौतिक संरचना तयार पारेर यो कार्यक्रम सुरु गरेको भए यो अन्यौल हुँदैन थियो।’
महामनगरले ‘पिक एण्ड ड्रप’ कार्यक्रम वैज्ञानिक ढंगले नगरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंका महासचिव सरोज सिटौलाको आरोप छ।
‘यो कार्यक्रम राम्रो हो। तर, सुरू गुर्नभन्दा पहिले जति गृहकार्य गर्नुपर्थ्यो त्यती भएन,’ सिटौलाले सेतोपाटीसँग भने, ‘यात्रुले बुझेका छन् कि छैनन्, भौतिक संरचना छ कि छैनलगाएतको रिसर्च नगरी महानगरले यो निणर्य गरेका कारण यात्रुहरु विरोधमा उत्रिएका हुन्।’
सम्बन्धित निकायले यात्रुकै लागि यो कार्यक्रम सुरू गरे पनि अचानक नयाँ नियम ल्याएकोले यो समस्या उत्पन्न भएको सिटौलाले बताए।
‘फुटपाथ हटाउने, गाडी पार्किङको व्यवस्था गर्ने, गाडी कहाँ पाइन्छ भनेर यात्रुले बुझ्ने गरी होडिङबोर्ड राख्ने आदि काम गरेको भए महानगरको यो कामको यात्रुले विरोध होइन प्रसंशा गर्थे,’ उनले सेतोपाटीसँग भने।
सुरूवाती समयमा यात्रुहरू अन्यौलमा परेर आन्दोलन गरे पनि यो समस्या छिट्टै हल हुने काठमाडौं महानगरपालिका, शहरी सुव्यवस्था विभागका प्रमुख हरिबहादुर कुँवरको दावी छ।
‘मान्छेको चाहाना त घर–घरमा गाडी जाओस् भन्ने होला नि, त्यो सकिन्छ र? नयाँ नियम भएकोले यात्रुलाई केही कठिनाई भने अवस्य भएको हो, त्यो केही दिनमै हल हुन्छ,’ कुँवरले सेतोपाटीसँग भने।
महानगरले मान्छे चढाउन र झार्न ठाँउ दिएकोले यात्रुले सोचेजस्तो कठिनाई नहुने उनले दाबी छ।
‘हामीले एनएसी, रत्नपार्क, विश्वज्योती, सभागृह लगायतको ठाउँमा गाडी रोक्ने व्यवस्था मिलाएका छौ, यात्रुहरु नझुक्किउन भन्ने उद्धेश्यले बुधबार नयाँ होडिङ बोर्ड पनि राखेका छौं,’ कुँवरले सेतोपाटीसँग भने, ‘टुँडिखेल वरपर करिब १ हजार २ सय गाडी गुड्छन्, यो नियमले जामको समस्या त हट्छ नै र नियम सवै गाडीलाई लागू हुने भएकोले कसैलाई घाटा हुँदैन।’
यस्तै २९ वर्षसम्म ट्राफिक प्रहरीमा काम गरेका ट्राफिक निरीक्षक सिताराम हाछेथुले महानगरपालिकाले हचुवाको भरमा गरेको यो निर्णय सस्तो प्रचारबाजीबाहेक केही नभएको तर्क गर्छन्।
‘महानगरपालिकाले बिना कुनै अध्ययन, छलफल र बिकल्प नदिएर गरेको पिक एण्ड ड्रप सस्तो प्रचारबाजी मात्र हो,’ हाछेथुले भने, ‘पिक एण्ड ड्रप गर्नु नराम्रो होइन तर बिकल्प दिएर र अध्ययन गरेर मात्र लागू गराउनुपर्थ्यो, यो त सस्तो प्रचारबाजी मात्र भयो।’
काठमाडौं उपत्यकाकाको मुटु जहाँ दैनिक कम्तिमा ५ लाख जति मानिस ओहोरदोहोर गर्छन्। यही क्षेत्रमा वीर अस्पताल, ठूला ठूला सपिङ मल, क्याम्पस, अफिसलगायतका ठाउँ भएकाले बढी भीड छ। तर यहाँ अध्ययनै नगरी पिक एण्ड ड्रप गर्नाले यात्रुले बढी सास्ती खेप्नु परेको हो।
गाडी हटाएर, यात्रुलाई समस्यामा पारेर जाम कम हुने होइन अनुसन्धान नगरी नाम कमाउने तिर हतारमा काम गर्दा यस्तै हुने उनले तर्क छ।
‘विदेशमा भएका नियम ल्याएर जस्ताको तस्तै पञ्चायती शैलीमा लाद्न खोजेर हुन्छ?, के हाम्रो देशमा बिदेशको जस्तै सडक र सवारी छन् त, होइन भने उचित अनुसन्धान, छलफल र अध्ययन नगरी किन यस्ता नियम राखिन्छ?, उनले प्रश्न गरे।
ठूला सवारी भए एक तिरबाट चढ्न र अर्कोतिरबाट ओर्लन मिल्छ, तर, हाम्रोमा हुने माइक्रोको ढोका एउटै छ। त्यो पनि यात्रुले झरिसकेपछि पैसा तिर्छन्। चढ्ने बेलामा लछार पछार गरी चढ्नुपर्छ बल भएकाले मात्र भित्र छिर्न पाउँछन् यस्तो अवस्थामा यो व्यवस्था लागू हुन नसक्ने उनको भनाई छ।
सबैभन्दा पहिला यत्रौ लाखौ यात्रु चढ्ने र ओर्लने ठाउँमा बस बिसौनी नै छैन। त्यसका लागि अध्ययन गर्नुपर्यो। वीर अस्पतालभन्दा अगाडि भोटाहिटीको बिचमा रहेको खाली ठाउँको ५-७ फिट बाटो बढाए बिसौनी बनाउन सकिन्छ।
यस्तै नेपाल पर्यटन बोर्ड अगाडिको ५-७ फिट उठाएर बिसौनी बनाउन सकिन्छ। अनि कान्तिपथमा निर्वाचन आयोगको ५-७ फिट जग्गा लिएर बिसौनी बनाउन सकिन्छ। यति मात्र गरे पनि हाम्रो जाम धेरै कम हुन्छ। अनि यी ठाउँमा पिक एण्ड ड्रप राख्दा केही हदसम्म राम्रो हुन्छ। तर बलिया बाङ्गा गाडी चढ्न सक्छन् तर अरू बाल बच्चा भएका बुढा बुढी कसरी चढ्ने र झर्न?
जमलमा भएको बस बिसौनी हटाएर खानी बिभाग पुर्याएको छ, के अब मान्छेले पोको बोकेर ५०० मिटर हिँडेर जानू? बस स्टेसनसम्म पुग्न ट्याक्सीनै चढ्नुपर्छ। यसको बिकल्प निर्वाचन आयोगको चउरलाई प्रयोग गरौं।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हरेक ५०० मिटर र मानिसको बाक्लो उपस्थिति हुने ठाउँमा बस बिसौनी बनाउनुपर्छ। तर, हामीकहाँ उल्टो छ। गाडी लखेट्ने मान्छेलाई जे सुकै होस्। अनि कसरी हुन्छ।
‘पिक एण्ड ड्रपले जाम हटेको छैन र हट्दैन पनि गाडी चढ्ने ठाउँ नै छैन। गाडी रोकेर जाम भएको होइन। गाडी बढी भएर बाटो नपुगेको मात्र हो।
हामी कहाँ ७ बजेपछि गाडी पाइँदैन। यतिबेला जाडोले गर्दा स्कुल, कलेज, अफिस सबै एकै पटक छुट्छन्। मान्छेहरू गाडी चढ्न हतारिन्छन्। ढिलो पुगे गाडी पाइँदैन। त्यसैले छिटो गएर गाडी चढ्न लडाइ गर्नुपरिरहेको छ। ठूला बसहरू ९ बजेसम्म चलाए यो केही हदसम्म नियन्त्रण हुन्छ।
जहाँ २-४ जना चढेर २-४ जना झर्ने हुन्छ त्यस्ता ठाउँमामात्र पिक एण्ड ड्रप सम्भाव हुन्छ। यस्तो ठाउँमा हुन्न। यसले जाम खोल्ने होइन झन जाम पार्न खोजेको देखियो।
बस चढ्नलाई बलियो हुनुपर्दो रहेछ। जो बलियो छ ऊ चढ्न सक्यो निर्बलियो सकेन। बुढाबुढी बालबच्चा र सामान बोकेको मान्छे कसरी चढ्छन्। वीर अस्पतालमा उपचार गर्न आउने बिरामी र बिरामीका आफन्त कसरी यस्तो भीडमा तछाड मछाड गर्दै चढ्न र झर्न सक्छन्।
कसैको घर भत्काएर बाटो फराकिलो बनाउन सकिन्छ भने यो त सार्वजनिक ठाउँ हो यसलाई अलिकति फराकिलो बनाएर बिसौनी बनाए राम्रो हुन्छ। पिक एण्ड ड्रप आवश्यक नै पर्दैछ।