राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी कार्यक्रममा झापाको शिवसताक्षीमा बुधबार विद्यार्थीको दुरुपयोग भएको छ। पढ्न पाउने अधिकारलाई बन्देज गर्दै स्थानीय दुधे स्रोत केन्द्रले तीन विद्यालयका विद्यार्थीलाई राष्ट्रपति सहभागी कार्यक्रममा अनिवार्य उपस्थित गरायो।
दुधे श्रोत केन्द्रका श्रोत व्यक्ति कृष्ण भण्डारीले स्थानीय भानु मावि, शुक्र मावि र जन आदर्श माविका विद्यार्थीसहित शिक्षकलाई अनिवार्य कार्यक्रममा आउन फोनबाट उर्दी गरेका थिए। भानु माविमा १ घण्टी पढाइ भयो। त्यसपछि ठूला विद्यार्थी लिएर केही शिक्षक कार्यक्रममा सहभागी हुन आए।
विद्यालयले राष्ट्रपति भण्डारीको स्वागतका लागि नृत्य देखाउने कार्यक्रम राखेको थियो। राष्ट्रपति भण्डारीलाई स्वागतका लागि पन्चकन्या पनि भानु माविकै विद्यार्थी थिए। विद्यालयका प्रधानाध्यापक डामकुमार कुवँरले पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो विद्यालय भएको वडामा आउने भएपछि विद्यालय छुट्टी गरेको बताए।
यता शुक्र मावि र जनआदर्श माविले कार्यक्रममा कुनै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेनन्। श्रोत व्यक्ति भण्डारीले दिउँसो १२ बजेपछि विद्यालय बन्द गरेर चन्द्रडाँगी कृषी फार्ममा आउन फोनबाटै निम्ता गरेको बताए। विद्यालयका शिक्षक दुर्गाप्रसाद दाहालले भने श्रोत व्यक्तिले विद्यालय १२ बजेपछि बन्द गर्नु भनेपछि बन्द गरिएको हो।
कार्यक्रममा विद्यार्थी र अन्य सहभागी बराबरी थिए। राष्ट्रपति, प्रदेशका मुख्यमन्त्री, संघीय सांसद, प्रदेशका कानुनमन्त्री, प्रदेश सांसद सहभागी कायक्रममा विद्यार्थीको प्रयोगले उनीहरुको मौलिक अधिकार हनन् भएको स्थानीय अभिभावकले बताएका छन्। जनआदर्श माविका अभिभावक श्रीलाल राजवंशीले भने, ‘स्कुल पढ्न पठाएको छोरा कार्यक्रममा देख्दा अचम्ममा परे। कुनै पनि कार्यक्रममा विद्यार्थी प्रयोग हुन्छ भने अभिभावकलाई समेत जानकारी हुनुपर्छ।’
राष्ट्रपति भण्डारीले बुधबार झापाका दुई नमूना कृषि फार्मको स्थलगत अध्ययन अवलोकन गरेकी थिइन्।
गौरादह नगरपालिकास्थित महारानीझोडाको साना किसान सहकारी संस्थाको आधुनिक कृषि फार्म र शिवसताक्षी नगरपालिकास्थित चन्द्रडाँगी कृषि फार्मको स्थलगत अध्ययन भ्रमण गरेकी हुन्।
राष्ट्रपति भण्डारीले हाल तीनवटै तहमा सरकार रहेकाले यस्ता कृषि फार्मको माध्यमबाट मुलुकलाई कृषिमा आत्मनिर्भर बन्नका लागि खटेर काम गर्न जनप्रतिनिधिलाई सुझाइन्। उनले भनिन्, ‘झापाका कृषि फार्मबाट उत्पादन भएका बीऊ बिजन अन्य प्रदेशका किसानलाई पनि सहज रुपमा बिक्री वितरण होस्।’
स्थानीय सरकाले कृषि फार्म सञ्चालनको अधिकार मागि रहँदा राष्ट्रपति भण्डारीले संविधानमा उल्लेख भएका अधिकारबाहेक अन्य अधिकार हतारमा निर्णय गर्नु नहुने पनि बताइन्। स्थानीय जनताले प्रत्यक्ष उपभोग गर्ने यस्ता बहुआयामिक सरकारी संस्था शक्ति संघर्षको रुपमा लिन नहुने पनि भण्डारीको तर्क थियो।
शिवसताक्षी नगरपालिकाले आयोजना गरेको राष्ट्रपति विद्यादेवी भण्डारीको कृषि फार्मको अवलोकन भ्रमणका क्रममा नगर प्रमुख चन्द्रकुमार शेर्माले चन्द्रडाँगी कृषि फर्मलाई स्थानीय सरकारले सञ्चालन गर्न सक्ने अधिकार प्रत्यायोजनका लागि अपील गरेका थिए। तर, एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशमा रहेका जति पनि कृषि फार्महरू छन् ती सबै प्रदेश सरकारले सञ्चालन गर्ने बताए।
मुख्यमन्त्री राईले शिवसताक्षी नगरपालिकाले चन्द्रडाँगी कृषि फार्मको स्तरोन्नतिका लागि तयार गरेको कार्ययोजना अपुरो रहेको बताए। उनले भने, ‘केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर नमूना योग्य कृषि फार्मको कार्ययोजना बनाउनुपर्छ यसमा कसैले हतार गर्नुहुँदैन।’
केन्द्र सरकारको स्वामित्वमा रहेको झापाको शिवसताक्षी नगरमा पर्ने चन्द्रडाँगी कृषि फार्म ८४ बिगाहा क्षेत्रमा छ। कृषकहरूलाई कृषिी उपजका बीऊ बिजन र कृषि सम्बन्धी प्राविधिक परामर्श दिने उदेश्यबाट सरकारले स्थापना गरेको सो कृषि फार्म अहिले प्रयोजन शून्य सरह बनेको छ।
०३२ सालमा कन्काई सिँचाइ आयोजना निर्माण हुँदा कोरियाली सरकारले कर्मचारी आवासका लागि चन्द्रडाँगीमा १४ वटा भवन निर्माण गरेको थियो। आयोजना सकिएपछि कोरियाली सरकारले ती भवन सरकारलाई हस्तान्तरण गरेको थियो।
२०७५ साल भदौ ३१ गतेको मन्त्रिपरिषद बैठकबाट स्थातीय समितिले सञ्चालन गर्दै आएको चन्द्रडाँगी बीऊ बिजन तथा दुग्ध विकास समिति खारेज गरी केन्द्र सरकारले कृषि फार्मको रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो। केन्द्रमा हाल सोना मन्सुली, बासमती, राधा १२ लगायतका कृषि अनुसन्धान पार्कबाट सिफारिस गरिएका विभिन्न १० जातका धानको खेती गरिँदै आएको छ।
चैते धानसमेत न्यून क्षेत्रफलमा गर्ने गरिएको छ। आधुनिकीकरण हुन नसक्दा सो कृषि फारम क्षेत्रमा लगाइएको बालीको समेत उत्पादन राम्रो हुन नसकेको स्थानीय किसानको भनाइ छ।