जाडोको समयमा भुइँमा बस्ने कल्पनासम्म कसैले गर्दैनन्। यदि त्यस्तो स्थिति देखियो भने त्यो बाध्यताले मात्रै होला।
यही अवस्था धनुषा जिल्लाको एक विद्यालयमा देखिएको छ। पुसको कठ्याङ्ग्रिदो जाडोमा उक्त विद्यालयका विद्यार्थी भुइँमै बसेर पढ्छन्।
जनकपुरधामदेखि लगभग ८ किलोमिटर टाढा पर्ने श्री बहुमुखी राप्रा विद्यालयमा भवन भए पनि विद्यार्थीका लागि डेस्कबेञ्चका व्यवस्था छैन्।
पाँच कक्षा सम्म पढाइ हुने विद्यालयमा छात्रछात्राले ५ वर्षदेखि गर्मीको टन्टलापुर घाम होस् वा हिउँदको कठ्याङ्ग्रिदो जाडो, विद्यार्थीले चउरमै पढ्नुपर्छ।
‘गर्मीयाममा डेस्कबेञ्च नभए पनि जसोतसो कक्षाकोठाभित्रै बसेर पढ्छौं, तर जाडोमा चिसो धेरै हुने भएकोले भुइँमा बस्ने अवस्था छैन,’ कक्षा पाँचमा अध्ययनरत छात्रा निशाकुमारी मण्डलले सेतोपाटीसँग भनिन्।
उनले डेस्कबेञ्चका लागि विद्यालयमा पटक पटक भन्दा पनि केही सुनुवाइ नभएको बताइन्।
‘हामीले पटक–पटक सरहरूलाई आग्रह गर्दै आएकाछौँ। सरले डेस्कबेञ्च बनाउन दिएका छौं, छिट्टै आउँछ भन्दै कुरा टार्नुहुन्छ।’
डेस्कबेञ्च नभए पछि सबै विद्यार्थीले आ–आफ्नो घरबाटै बोरा ल्याएर पढ्न आउने गरेका उनले जानकारी दिइन्।
प्रधानाध्यापक सहदेव यादवले विद्यालयमा डेस्कबेञ्चको अभाव भए पनि सबै कक्षाका विद्यार्थीका लागि दरी (बस्ने चटाई) को व्यवस्था गरेको दाबी गरे।
उनले विद्यालयमा अध्ययनरत छात्रछात्रालाई ड्रेससमेत उपलब्ध गराएको दाबी गर्दै भने, ‘विद्यालयले उपलब्ध गराएको रकममा थप गरेर विद्यार्थीलाई ड्रेस किन्न भनेको छौं।’
उनले स्थानीय सरकार नहुँदा जनकपुरधाम जाने बाध्यताले डेस्कबेञ्चको व्यवस्था हुन नसकेको उल्लेख गर्दै अहिले गाउँपालिकासँग बजेट उपलब्ध गराउन निवेदन दिएको बताए। ‘गाउँपालिकाले छिट्टै नै डेस्क बेञ्चको व्यवस्था गर्ने हामीले आश्वासन पाएका छौं,’ उनले भने।
कक्षाकोठामा डेस्कबेञ्च नभए पनि बस्नका लागि विद्यालयलाई विभिन्न एनजिओ आइएनजिओले सहयोग गरेको दरी विद्यार्थीका लागि व्यवस्था गरेको विद्यालयमा गणित विषय अध्यापन गराउँदै आएका शिक्षक लियाकत मनसुरीले बताए।
विद्यालयमा लगभग २ सय विद्यार्थी छन्। छात्रभन्दा छात्राको संख्या अधिक छ।
जाडोको समयमा ती कलिला बालबालिकालाई भुइँमै बस्नुपर्ने बाध्यताले ज्वरो, रूघाखोकी लाग्ने डरसमेत रहेको छ।
बिरामी परिएला भनेर कयौं विद्यार्थी नियमित विद्यालय आउँदैनन्।
विद्यार्थीहरूनै गर्छन् शौचालयको सफाई
विद्यालयमा पिउने पानीका लागि धारा लगाइएका छन् तर त्यसमा पानी आउँदैन। एउटा चापाकल मात्रै रहेका कारण विद्यालयमा पानी पिउन पनि विद्यार्थीबीच होडबाजी हुन्छ ।
यता विद्यालयमा छात्रछात्रा दुबैका लागि शौचालय अलग अलग बनाइएको छ। बाहिरबाट शौचालय चिटिक्क देखिए पनि शौचालय भित्र भने नाक मुख छोपेर पस्नुपर्ने विद्यार्थीहरूले बताए।
एक छात्राले भनिन्, ‘विद्यालयमा छात्रछात्राका लागि अलग अलग शौचालय बनाइए पनि शौचालयमा कोही जान मान्दैनन्।’
उनले शौचालय र विद्यालय प्राङ्गण विद्यार्थीलेनै सफा पार्नु पर्ने बताइन्। विद्यालयमा एक जना पियन पनि छन्।
अभिभावकहरू प्रधानाध्यापक यादवलाई विद्यार्थीसँग विद्यालय सरसफाइ किन गराउन लगाएको सोध्दा उल्टै हप्काउँदै आएको विद्यार्थीहरूको गुनासो छ ।