मुलुकका विभिन्न भागमा हिमपात, बाक्लो हुस्सु र पानी परिरहेकाबेला पूर्वमा विस्कुन सुक्ने घाम लागेको छ।
अघिल्ला वर्ष आजैका दिन झापामा बाक्लो हुस्सुसहित शितलहर थियो। मौसम विज्ञान विभाग अन्तर्गत कन्काई हावापानी मापन केन्द्र नम्बर १४२१ का अनुसार गत वर्ष अर्थात पुस २३ गते झापाको तापक्रम ४ दशमलव ५६ डिग्री सेल्सियस थियो। त्यसको एक वर्ष पछि आज (सोमबार) झापाको तापक्रम २९ डिग्री सेल्सियस रहेको सो केन्द्रले जनाएको छ।
झापामा यो वर्ष पुस १२ गते चिसो हावा, पानीसँगै हुस्सु लागेको थियो। त्यसदिन पनि अधिकतम तापक्रम २५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको मौसम मापन केन्द्र गैडे माइधारले जनाएको छ। त्यसपछि झापामा घाम नलागेको दिनै छैन।
‘पुसका दिनमा घाम लागेको देखेकै थिइनँ,’ शिवसताक्षी नगरका स्थानीय विष्णु प्रसाईंले भने, ‘पुस र माघको पहिलो साता विस्कुन सुक्नेगरी घाम लाग्दैन थियो, यो वर्ष अचम्मै हुनेगरी घाम लागेको छ।’
झापाका बजारमा न्यानो कपडाको विक्री नभएको पनि व्यापारीले बताएका छन्।
‘दिउँसो टन्टलापुर घाम लाग्छ, विक्रीका लागि काठमाडौंबाट ल्याइएको लाखौं रूपैयाँका ज्याकेट विक्री भएको छैन’, शिवगञ्जका कपडा व्यापारी कृष्ण सुवदीले बताए।
कपडा पसलमा मात्र होइन इलेक्ट्रोनिक्स पसलबाट पनि गत वर्षको जस्तो हिटर बिकेका छैनन्।
‘सयौं विक्थे, यो वर्ष मौसममा आएको परिवर्तनका कारण हिटर बिकेको छैन’, चौधरी इलेक्ट्रोनिक्स पसल दूधेका व्यवसायी शम्सेर चौधरीले भने।
वातावरणविद् रामचन्द्र अधिकारीका अनुसार जलवायु परिवर्तन भएका कारण पुसमा घाम लागेको हो।
उनका अनुसार असारमा पानी नपर्नु, फागुन चैतमा पश्चिमा हावा नचल्नु, पुस माघमा घाम लाग्नु जलवायु परिवर्तनमा आएको समस्याका कारण हो।