प्रदेश दुई सरकारले ‘बेटी पढाउँ बेटी बचाउँ’ भन्ने महत्वाकांक्षी अभियानको सुरू गरेपछि गरेपछि यसले देशैभरी चर्चा पायो ।
प्रदेश दुईको सरकारको प्रशंसा समेत सबै पक्षले गरे। तर, प्रदेश सरकारको यो अभियान भने नारामै सिमित देखिएको छ।
मुख्यमन्त्री लालबाबु राउतले यस प्रदेशमा छोरीहरू पठनपाठनबाट वञ्चित हुँदै आएको भन्दै प्रदेश सरकारले प्रारम्भिक चरणमा ल्याएको नीति तथा कार्यक्रममै छोरीहरुलाई पढाउनुपर्छ भन्दै आकर्षक योजना सामेल गर्न समेत लगाए ।
गत भदौ १५ गते प्रदेश सरकारले औपचारिक कार्यक्रमको आयोजना गर्दै बडो तामझामका साथ अभियानको शुरुवात गर्यो।
त्यसको केही दिनसम्म मुख्यमन्त्रीदेखि मन्त्रीसम्मलाई भ्याईनभ्याई समेत भयो तर अभियान शुरु भएको ४ महिना बिते पनि कार्यान्वयन पक्ष एकदमै फितलो देखिएको छ।
प्रदेश सरकारले ल्याएको अभियान नगर क्षेत्रभित्र प्रभावकारी ढंगले नै लागू भएको जनकपुरधामस्थित संकट मोचन देवशरण उच्च माविका प्रधानाध्यपाक बलराम साहले बताए।
प्रधानाध्यापक साहले भने, ‘हाम्रो विद्यालयमा छात्रभन्दा छात्राकै संख्या अत्याधिक छ जसले छोरीलाई शिक्षा दिन यहाँका नागरिकहरु कतिको सजग छन् भन्ने कुराको स्पष्ट उदाहरण प्रस्तुत गरेको छ।’
प्रधानाध्यापक साहले प्रदेश सरकारले लागू गरेको यो अभियानमा आफ्नो विद्यालय पहिलेदेखि नै सक्रिय रहेको जानकारी दिए।
तर सरस्वती नमूना उच्च माविकी शिक्षिका गायत्री मल्लिकको प्रधानाध्यापक साहभन्दा फरक मत छ।
उनी भन्छिन्, ‘प्रदेश सरकारले ल्याएको बेटी पढाउ बेटी बचाउ अभियान प्रसंशनीय रहे पनि अभियान भने नारामै सिमित हुन पुगेको छ, प्रदेश सरकारले दलित छात्रछात्रको विद्यालयमा पहुँचका लागि विशेष प्याकेज ल्याउने प्रतिवद्धता पटक पटक जनाईसके पनि नगरभित्रकै दलित छात्राहरु अझै पनि विद्यालयको पहुँचभन्दा बाहिर नै रहेका छन्।’
प्रदेश सरकारले छोरीहरुलाई विशेष केन्द्रीकृत गरेर ल्याएको बेटी पढाउ बेटी बचाउ अभियान स्वागतयोग्य रहेको शकल भवन कन्या माविकी अंग्रेजी विषय पढाउने शिक्षिका पूजा यादव बताउँछिन्।
उनी भन्छिन्, ‘तर प्रदेश सरकारले यस अभियानमा जति सक्रियता देखाउनुपर्ने हो त्यति देखाउन सकिरहेको छैन् जसकारण यो अभियान शुरू भएको ४ महिना बिते पनि छोरीहरुलाई स्कुल ल्याउन फलदायी साबित भईरहेको छैन्।’
यस अभियानलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समय समयमा अनुगमन र निरीक्षण गर्नुपर्ने शिक्षिका पूजाको सुझाव रहेको छ।
तर कन्या माविकै विज्ञान विषय पढाउने शिक्षक धवेन्द्र झाको भनाई भने फरक छ।
उनी भन्छन्, ‘शिक्षाको दृष्टिकोणले अन्त्यत पछाडि परेको प्रदेश दुईमा बेटी पढाउ बेटी बचाउ अभियान प्रदेश सरकारले लागू गर्नु सराहनीय हो र यो अभियान कतिको प्रभावकारी रुपमा चल्दै छ भन्ने कुरा अहिले नै निष्कर्षमा पुग्नु उचित नहुन सक्छ।’
उनले सुरुवाती चरणमा कुनै योजना कार्यान्वयनमा जोसुकैलाई कठिनाई हुने गरेको बताउँदै यसले विस्तारै सार्थकता पाउने दाबी समेत गरे ।
तर प्रदेश सरकारले यस अभियानलाई प्रभावकारी तुल्याउन निगरानी अवश्य नै बढाउनुपर्ने हुन्छ उनले सेतोपाटीसँग भने।
उनले छात्राहरु मात्र अध्ययन गर्ने गरेको कन्या माध्यमिक विकासको दृष्टीकोणले पछाडि रहेको भन्दै ध्यान दिन अनुरोध समेत गरे।
बेटी पढाउ बेटी बचाउ अभियान राम्रो भए पनि ठोस योजना नभएर प्रभावकारी ढंगले अगाडि बढ्न नसकेको शिक्षाविद् राधा कोईरालाले बताईन्। उनले हल्ला नयाँ भए पनि ढर्रा भने पुरानै रहेको आरोप लगाईन्।
उनी भन्छिन्, ‘प्रदेश सरकारले यो अभियानको सुरुवात गर्नु राम्रो हो तर यसलाई निरन्तर रुपले अगाडि बढाउन कसले पहल गर्ने त्यसबारे सरकार स्वयंम अनभिज्ञ छ।’
बेटी पढाउ बेटी बचाउ अभियान मुख्यमन्त्रीको कार्यालय स्वयंमले हेर्ने हो की सामाजिक विकास कार्यालयले हेर्ने हो मैले अहिलेसम्म बुझ्न सकेको छैन उनले भनिन्।