रतुवामाई वृक्षारोपण आयोजनाको जंगलहातामा शुक्रबार राति टिक जातका हरिया रूख काटिएका छन्।
जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्वर ९ स्थित संगम चोक उत्तरको जंगलमा मेलैमारी रूखको कटान भएको आयोजनाले जनाएको छ।
रातको मौका छोपी रूख काटिएको हो। आरा प्रयोग गरेर रूख ढालिए पनि गोलिया कसैले लगेको छैन। स्थानीयले बिहान आयोजनाको रूख काटिएको थाहा पाएपछि रेञ्जरलाई खबर गरेका थिए। आयोजना प्रमुख खेम विकका अनुसार करिब ८ लाख बराबरको रूख काटिएको छ।
‘रूखको तस्करी गर्ने उद्देश्यले काटिएको होइन’ आयोजना प्रमुख विकले भने, ‘एकै ठाउँ मेलैमारी रूख काटिदा नजिकैका युवाले फुटबल मैदान बनाउने उद्देश्य देखिन्छ।’
रूख काटिएको स्थानदेखि १०० मिटर उत्तर भालुखोलाको वगरमा पनि खेल मैदान छ।
दुई फिट गोलाइका रूख फेदको ३ फिट भाग छाडेर ढालिएको छ।
स्थानीयवासीले भने, ‘तस्करी गर्नेले रूख काटेका भए गोलिया लैजान्थे, तर गोलिया छाडिएको छ।’
३ वर्ष अघि पनि आयोजनाको मिलन चौक उत्तरको जंगलमा ३ सय कदमका रूख काटिएको थियो। सो क्षेत्रमा अहिले खेल मैदान छ। उक्त मैदानले वैधता पाएको छैन।
एक पछि अर्को गर्दै खेल मैदान बनाउने उद्देश्यले रूख फडानी हुँदा आयोजनाले अब कडा कदम चाल्ने आयोजना प्रमुख विकले बताए।
उनले भने, ‘रूख कटान गर्ने व्यक्ति वा समूहको खोजी गरी कानुनी दायरामा ल्याइने छ।’
आयोजनाको जंगलहातामा डेढ दर्जन खेल मैदान छन्। अधिकांश खेल मैदान स्थानीयले रूख फाडेर बनाएका हुन्। सरकारले पाडाजुगीको आदीवासी जनजाति रंगशालाबाहेक खेल मैदानका लागि कुनैलाई पनि अख्तियारी दिएको छैन। आयोजनाले जंगल फाडेर बनाइएका सबै खेल मैदानमा वृक्षारोपणको तयारी गरेको छ।