दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित मावि प्रतापकोट अम्वासमा कक्षा ७ मा अध्यनरत १३ बर्षीया दिपा बुढाको गत असोज महिनामा विहे भयो।
त्यसपछि बुढा विद्यालय आउन छोडिन्। बल्ले निवासी कक्षा ९ मा अध्यनरत १७ बर्षीया अमृता पुनको गत भदौमा विहे भयो। विहेपछि उनी पनि विद्यालय आउन छोडिन्।
यसअघिका बर्षमा पनि विद्यालयमा यस्तै घटना हुँदै आएका छन्। त्यसैले त्यो विषय विद्यालयका लागि नौंलो थिएन। विहेपछि कुनै पनि छात्रा फर्केर विद्यालय आएनन्।
अब २०७४ सालमा भएका अरू यस्तै केही उदाहरण पनि छन्। अघिल्लो वर्षको वैशाख महिनामा तुलसीपुर ३ बल्ले निवासी र मावि प्रतापकोटमा कक्षा ८ मा अध्यनरत १५ बर्षीया लक्ष्मी पुन, कक्षा ८ मै अध्यनरत तुलसीपुर ३ अम्वास निवासी १५ वर्षकै विर्माकुमारी विकको पनि विहे भयो।
त्यसपछि उनीहरु दुबै जनाको पढाईमा पूर्णविराम लाग्यो। त्यसको एक महिनापछि २०७४ जेठ महिनामा तुलसीपुर ३ बल्ले निवासी १३ बर्षीय सीता केसीको पनि कक्षा ७ मा पढ्दा पढ्दै विहे भयो। त्यसपछि केसीको पढाई पनि रोकियो।
विद्यालयका प्रधानाध्यापक फस्टबहादुर रानाले त्यसअघिका वर्षमा भएका यस्ता धेरै घटनाहरुको बेलिबिस्तार लगाए।
मावि प्रतापकोट अम्वासमा अध्यनरत कलिलै उमेरका बालबालिकाले विवाह गर्ने गरेको र त्यसपछि बीचमै पढाई छोड्ने गरेका थुप्रै यस्ता उदाहरणहरु छन्।
प्रधानाध्यापक रानाका अनुसार उनीहरु मध्ये अधिकांशले आफैं भागेर विवाह गर्ने गरेका छन्। उनको कुराले कानुनी रूपमै बर्जित बालविवाहले यहाँको समाजमा बर्षौदेखि सहजै मान्यता पाउँदै आएको स्पष्ट हुन्थ्यो।
जो सरकार र विभिन्न संघ संस्थाले बालविवाह रोकथामको लागि गर्दै आएका विभिन्न क्रियाकलाप यहाँ नपुगेको प्रमाण थियो।
माथिका उदाहरण सहर बजारमा मात्रै बालविवाह विरुद्ध चेतना अभिबृद्धि कार्यक्रम केन्द्रित रहेछन् भन्ने आभास हुन्थ्यो।
१६ वर्षमै डिभोर्स
गत साउन महिनामा मावि प्रतापकोट अम्वासमा कक्षा ८ मा अध्यनरत तुलसीपुर ३ बल्ले निवासी १६ वर्षीय प्रकाश घर्तीले पनि विहे गरे। किशोरी जस्तै विहेपछि उनी पनि विद्यालय आउन छोडे। घर्तीले गाउँकै केटी भगाएरै विहे गरेका थिए। तर, विडम्वना घर्तीको विहे दुई महिना पनि टिकेन। एक डेढ महिना भित्रै डिभोर्स भयो।
त्यो घटनापछि घर्तीका बुवा मनविर विद्यालयमा आए। कलिलै उमेरमा विहे गरेका छोराको मनोभावना बुझेर मनविर विद्यालय पुगेका थिए। उक्त दिन छोराको अवस्था बारे उनले विद्यालय प्रशासनलाई जानकारी मात्रै गराएका थिएनन् कुनै पनि शिक्षकलाई कक्षा कोठामा छोरा प्रकाशको विहेको प्रसंग नकोट्याउन आग्रह गरे।
प्रधानाध्यापक फस्टबहादुर रानाले मनविरका सामुन्ने सबै शिक्षकलाई त्यही वाचा गराइदिए। मनविरकै आग्रहमा प्रधानाध्यापक रानाले कक्षा ८ मा अध्यनरत सबै विद्यार्थीलाई पनि प्रकाशलाई विहेको कुरा गरेर वा झिकेर कहिलै नखिज्याउन आग्रह गरे।
घर गएर बाबु मनविरले छोरा प्रकाशलाई त्यो विश्वास दिलाए। दोस्रो दिन उनी विद्यलय पुगे। तर, उनका साथीहरुले त्यो कुरा प्रशंगबस झिकेछन्। त्यसपछि उनी नियमित विद्यालय आउन छोडे।
हाल घर्ती परीक्षा दिन मात्रै विद्यालय आउने गरेको विद्यालय प्रशासनले जानकारी दिएको छ ।
लाजले विहेपछि पढाई छोड्छन् – शिक्षकहरु
फस्टबहादुर राना मावि प्रतापकोट अम्वासको प्रधानाध्यापक भएको ४ बर्ष भयो। पढाउन थालेको २५ वर्ष। यो बिचमा आफूले पढाउँदा पढाउँदै विहे गरेका विद्यार्थीलाई बाटोमा उनले धेरै भेटे। तर, उनीहरु विहेपछि कहिलै बोलेनन्।
कतै बाटोमा भेट्दा पनि मुन्टो निहुँराएर हिँडेको उनले देखे।
यर्थाथमा विहे गर्नु कुनै अपराध होइन। मन चित्त लागेपछि उमेर पुगेका महिला पुरुष जसलाई पनि विहे गर्ने स्वतन्त्रता छ। नेपालको कानुनले भने २० वर्षभन्दा कम उमेरको विहेलाई मान्यता दिँदैन।
यद्यपी समाजिक रुपमा अझैं पनि यस्ता विहेले मान्यता पाउँदै आएको छ। परम्परा र समझदारीले यसमा भूमिका खेलेको हुन्छ। विहेपछि पनि धेरैले आफ्नो पढाई पुरा गरेका थुप्रै उदाहरणहरु छन्।
तर तुलसीपुरको कल्ले बल्लेको अवस्था भने फरक छ। पढ्दा पढ्दै कलिलै उमेरमा गृहस्थी जीवनमा फसेकाहरु हिनबोध र लाजले गर्दा नै विद्यालय नआउने गरेको शिक्षकहरुको बुझाई छ।
त्यही कारण बाटोमा भेट हुँदा समेत बोल्न धक मान्ने गरेको प्रधानाध्यापक रानाको तर्क छ। जसलाई उनले समाजको चेतनास्तरलाई प्रमुख कारक मान्नुपर्ने बताए।
सानै उमेरमा बिहे गरेका पछुताउँछन् – शिक्षिका घर्ती
मावि प्रतापकोट अम्वासमा यही वर्षदेखि मात्रै कक्षा ९ को पढाई सुरु भएको हो। असअघि कक्षा ८ सम्म मात्रै थियो।
कक्षा ९ सम्म पढाउने एक्ली शिक्षिका गीता घर्ती मात्रै हुन्। छात्राहरूले पुरुष शिक्षक भन्दा महिला शिक्षकसँग खुलस्त भन्न सक्छन्। शिक्षिका घर्तीका अनुसार आज आएर कलिलै उमेरमा विवाह गरेकाहरु उनीसँगको भेटमा पछुताउने गर्छन्।
कति जना भेटमा दुःख र बेदना पोख्दै धुरू धुरू रुँदा रहेछन्। सानैमा विहे गर्नु ठूलो गल्ती थियो भन्ने कुरा आज आएर मात्रै उनीहरुले महसुस गर्ने गरेको शिक्षिका घर्तीले बताइन्।
‘मान्छेले आफैं भोगेपछि धेरै कुरा बुझ्दिोरहेछ। ठक्कर खाएपछि चेत खुल्ने रहेछ। १५/१६ वर्षको उमेरमा आमा बनेकाले आज भेटमा मलाई यही भन्छन्,’ शिक्षिका घर्तीले भनिन्।
अशिक्षा र गरिवीले गर्दा सानैमा विहे
शिक्षिका घर्तीले कलिलै उमेरका विद्यार्थीको विहे हुनु प्रमुख कारण अशिक्षा, चेतनास्तर, पारिवारिक गरिबी र भौगोलिक जटिलतालाई औंल्याइन्।
उनका अनुसार यसको प्रमुख दोषि अभिभावक पनि हुन्। जसले छोरीलाई सानैदेखि अर्काको घरमा जाने जातको संज्ञा दिन्छन् र जति हुन्छ छिटो विहे भएपछि झंझटबाट मुक्ति मिल्छ र पुण्य आर्जन हुन्छ भन्ने मानसिकता भरिदिएका हुन्छन्।
त्यही कारण विहेपछि पतिले कमाएर देला र सुखसयलको जीवन व्यथित गरौंला भन्ने गलत मनस्थितिले छोरी चेलीमा डेरा जमाउँछ।
पितृसतात्मक मुलुकमा अशिक्षित र विकट भूमिमा अझै पनि छोरा र छोरीलाई गरिने व्यवहार विभेदपूर्ण रहेको शिक्षिका घर्तीले बताइन्।
त्यस्तै घन्टौं पैदल हिँडेर विद्यालय आउनुपर्ने बाध्यताले पनि पढाईप्रति वितृष्णा पैदा भएको शिक्षिका घर्तीको तर्क छ। ‘महिनावारी हुँदा लामो दुरी पैदल हिँडेर पार गर्नु दिकदार लाग्दो कुरा हो,’ शिक्षिका घर्तीले भनिन्, ‘ किनकि यहाँ अझैं पनि महिनावारी हुँदा टालाटुली कै प्रयोग हुनेगर्छ।’
संवाददाता पुगेकै दिन कक्षा ९ का दुई छात्रा महिनावारी हुँदा बिचमै पढाई छोडेर घर गएको उनले जानकारी दिइन्।
राज्यको विभेदकारी नीति
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको विवरण अनुसार दाङका १० स्थानीय तहमध्ये तुलसीपुर र घोराही उपमहानगरपालिकालाई सुगम क्षेत्रको रुपमा अर्थ्याइएको छ। तर, शिक्षक चक्रबहादुर डिसी भने तुलसीपुर ३ को कल्लेबल्लेलगायतको विकट भूमिलाई हेर्दा त्यो सबै झुट सावित हुने तर्क गर्छन्।
तुलसीपुर ३ कल्ले बल्ले स्थापनाकाल २०४९ सालकै नगरपालिका घोषित भए पनि विकासका कुनै पनि पूर्वाधार नभएकाले समाज विकासमा समेत प्रभावित भएको शिक्षक डिसीको तर्क छ।
नजिकमा विद्यालय नहुनु, भौगोलिक कठिनाई, गरिबी र अभिभावकले बालवालिकालाई पढाउने लेखाउने भन्दा पनि आय आर्जनको माध्यमका रूपमा बुझ्दा चेतनास्तरको विकास हुन नसकेको उनले बताए।
बजार र सुगम क्षेत्रमा मात्रै विकास बजेट खन्याउँदा विकट भूमिमा विद्यालय र कलेजहरु स्थापना नभएकाले समाजमा चेतनाको विकास हुन नसकेको उनको कथन छ। ‘न बाटो छ, न विजुली बत्ति, न अस्पताल, न सुरक्षा यो ठाउँ नाम मात्रैको उपमहानगरपालिका हो,’ शिक्षक डिसीले भने, ‘राज्यकै विभेदकारी नीतिका कारण यहाँको सामाजिक विकास हुन नसकेको सत्य हो।’
उनले विजुली बत्तीसमेत नभएकाले देश विदेशका खबर स्थानीयबासीले हेर्न पाउँदैनन्। बालविवाह गर्दा हुने नकारात्मक कुराहरुको बारेमा मसेत जान्न नपाएको उनले बताए। ‘यहाँ न पत्रपत्रिका आउँछन् न रेडियो नै सुनिन्छन्,’ डिसीले भने, ‘बत्ति नभएपछि टिभी हेर्न पाउने त झनै कुरै भएन।’
शिक्षक डिसीले जबसम्म राज्यले समान विकासको अवधारणा अनुसार काम गर्दैन तवसम्म त्यहाँको अवस्थामा सुधार नआउने दाबी गरे।
विद्यालय कमजोर हुँदा समाजमा असर
हालसम्म दमारगाउँ मावि वडाको एकमात्रै मावि हो। यो वर्षदेखि मावि प्रतापकोट अम्वासमा पहिलो पटक कक्षा ९ सम्म पढाई सुरु भएको छ।
मावि बनाउन भन्दै पहिलो पटक कक्षा ९ मा पढाई सुरु गरिएको भए पनि मावि प्रतापकोटमा विद्यार्थी संख्या झन्डै २ सय ६० को हाराहारीमा मात्रै छ।
त्यसैले आगामी वर्षदेखि कक्षा १० सम्मको पढाई हुन्छ हुँदैन? भन्ने अन्यौंलता कायमै रहेको उनले बताए।
‘यो विद्यालय मावि भयो भने यसले शिक्षाको उज्यालोले समाजमा पक्कै पनि सकारात्मक सोचको विकास हुनेछ। अन्यथा यो ठाउँमा परिवर्तन ल्याउन गाह्रो छ,’ डिसीले भने।
मावि दमार गाउँ र मावि प्रतापकोट बीचको दुरी जम्मा ५/६ किलोमिटर जति मात्रै छ। तर, भौगोलिक जटिलताले गर्दा विद्यार्थीलाई पैदल हिँड्दा कम्तिमा पनि अढाई घन्टा लाग्नेगर्छ।
त्यसैले पनि स्कुल जाने र पढ्ने भन्ने बालबालिकामा रूची नआएको उनले दाबी गरे।
बाल विवाह बढ्नुको कारण उनले माविसम्मको पढाई हुने गतिलो विद्यालय नहुनुलाई पनि मान्नु पर्ने बताए।
‘नजिकमा कक्षा १० सम्म पढ्न विद्यालय नहुँदा कि तुलसीपुर बजारमा डेरा गरेर पढ्न जानुपर्छ कि, पढाई छोड्नुपर्ने बाध्यता हुन्छ,’ डिसीले थपे, ‘आगामी वर्ष कक्षा १० सम्म यही पढाई भए यसले धेरै बाल विवाह रोक्नेछ।’
तुलसीपुर उपमहानगरपालिकाकै विकट भूमि कल्ले बल्लेमा प्राविधिक र कृषि कलेज स्थापना गर्न सके बजारका विद्यार्थी पनि अध्ययनका लागि जान सक्ने उनले बताए। त्यसो भएमा स्थानीयस्तरमा चेतनाको स्तर विकास हुनुका साथै रोजगारी पनि सृजना हुने र त्यसले बालविवाह रोकिन सक्ने उनको भनाई छ।