बाराको पथलैया नजिकै पिकनिक खाएर फर्किदै गरेको गाडी दुर्घटनामा पर्दा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको मृत्यु भएको छ।
बाराको निजगढस्थित हिरालाल पार्कको पिकनिकसहितको कार्यक्रम सकाएर फर्किरहेको अवस्थामा शनिबार साँझ ट्याक्टरको ट्रलीसँग ठोक्किएर दुर्घटना हुँदा सशस्त्र प्रहरीका उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको २ नम्वर प्रदेश प्रहरी प्रमुख डीआइजी हरि पालले जानकारी दिए।
शनिबार साँझ बाराको कलैयाबाट निजगढ जाने क्रममा ना १ झ १६३३ नम्बरको स्कारर्पियो गाडी दुर्घटना हुँदा बाराका प्रजिअ गणेशप्रसाद भट्टराई गम्भीर घाइते भएका छन्।
उनको टाउँकोमा चोट लागेको र रगत जमेको चिकित्सकहरूले जनाएको छ। वीरगन्जमा रहेका न्यूरो सर्जनको टोलीले तत्कालै उनको अपरेशन गरेर टाउकोमा जमेको रगतलाई निकालिसकेका छन्।
दुर्घटनामा परेको सबैको उपचार वीरगंजस्थित वीरगंज हेल्थ केयरमा भइरहेको छ।
थप उपचारका लागि प्रजिअलाई काठमाडौं ल्याइँदै
शनिबार सडक दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएकामा उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको बाराका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए। उनको टाउकोमा गम्भीर चोट लागेपछि हिजै शल्यक्रिया गरिएको थियो।
उनी सवार स्कार्पियो ट्याक्टरसँग ठक्कर खाँदा सशस्त्र प्रहरी बलका उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै निधन भएको थियो।
उनको शवलाई काठमाडौं पठाइसकिएको बारा प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा जिप चालक र दुई सुरक्षाकर्मी पनि घाइते भएको प्रहरीले जनाएको छ ।